काठमाडौं । अहिले बाटोमा बालबालिका, किशोर–किशोरी, युवा–युवती, महिला–पुरुष र वृद्धाहरू प्रशस्तै मागेर गुजारा गरिरहेको भेटिन्छ । उनीहरू फोहोरको डंगुर भएको ठाउँमा बसिरहेका हुन्छन् । उनीहरू शिक्षा, स्वास्थ्य, रोजगारलगायत राज्यबाट उपलब्ध हुने सम्पूर्ण सेवासुविधाबाट वञ्चित भएका छन् । तर, सरकारले यस्ता व्यक्तिहरूका लागि शिक्षा, स्वास्थ्य, रोजगारलगायतको व्यवस्था गर्दैन ।
सडकमा मागेर खाने गरिब जनताको नाम बेचेर धेरै कलाकारहरूले गीत गाए, फिल्म बनाए । तर त्यस्ता व्यक्तिहरूका लागि केही गरेनन् । उनीहरू आफू चर्चामा आए र कमाउनु कमाए । एनजीओलगायत गैरसरकारी संघसंस्थाले सडकमा बसेर माग्नेहरूको फोटो खिचेर वा भिडियो बनाएर कमाउनु कमाए । त्यस्तै, बेसहारा बालबालिका, बुढाबूढीको हेरचाहका लागि भन्दै खोलिएका आश्रमहरूले पनि सरकार र विदेशीसँग रकम उठाउनुबाहेक केही गरेका छैनन् ।
उनीहरू राजनीतिक पार्टीको झोला बोक्छन् । सरकारबाट त्यस्ता व्यक्तिहरूको हेरचाहका लागि भन्दै रकम लिन्छन् । विदेशीले समेत सहयोग गर्छन् । तर, त्यो रकम ती बेसहाराका लागि खर्च नगरी पचाउँछन् । जो मानिस गरिब, अशिक्षित, बेसहारा छन्, त्यसलाई अहिले क्रिस्चियन धर्मावलम्बीहरूले जबर्जस्ती आफ्नो धर्ममा संलग्न गराइरहेका छन् । यहाँ कतै धर्मको नाममा आमसर्वसाधारणलाई ठगिएको छ, कतै विकासको नाममा । गरिब जनताका लागि यहाँ घर भनेकै सडक बनेको छ । राजनीतिक दलका नेता, सरकारी कर्मचारीहरू सुकिलामुकिला भएर बस्छन् । करोडौंको गाडी चढ्छन् । तर, बाटोमा मागेर बसेका ती गरिब, बेसहारालाई देख्दैनन् ।
मठमन्दिर, सडक वा घरमा माग्न आएकामध्ये अधिकांश रोगग्रसित छन् । उनीहरूले उपचार पाएका छैनन् । कतिपय बालबालिका शिक्षाबाट वञ्चित भइरहँदा कतिपय रोजगार नपाएर भौतारिएका छन् । पछिल्लो समय मन्दीका कारण कोठा, सटर, फ्ल्याट धमाधम खाली भएका छन् । जताततै सुनसान देखिन्छ । रेस्टुरेन्ट, होटल, कपडा पसलहरूमा एकजना पनि ग्राहक छिर्दैन । अहिले सबै व्यक्ति सडकमा माग्न बस्नुपर्ने अवस्था सिर्जना भएको छ । यस्तो हुँदासमेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई केही चासो छैन । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत गरिबीका कारण उपचार नपाएर कोही जनता मर्नु नपर्ने घोषणा त गरेका छन्, तर, घरघरमा मानिसहरू मृगौल पीडित भन्दै उपचारका लागि खर्च जोहो गर्न आइपुग्छन् । उनीहरू हातमा बिल बोकेर स्पिकरसहित आउँछन् । त्यसैले, अब सरकारले यस विषयमा छानबिन गरी गरिब जनताको निःशुल्क उपचार गर्नुपर्छ ।
पछिल्लो समय मृगौलापीडितको नाम बेचेर वा गरिब जनताको नाम बेचेर ठगी गर्ने क्रम बढ्दो छ । मोटरसाइकल वा स्कुटरमा स्पिकर बोकेर त्यसमा पनि कुनै पीडितको फोटो टाँसेर हातमा बिल बोकी भर्खरका युवा–युवतीहरू माग्न आइपुग्छन् । हेर्दा उनीहरू स्वास्थ्य देखिन्छन् । मानौं, हुनेखानेको नै छोराछोरी हुन् । तर, काम गर्न छाडेर उनीहरू गरिबको नाम बेचेर अरुको घरघरमा माग्न पुग्छन् । त्यसैले, सरकारको यसतर्फ ध्यान जान जरुरी छ । यदि उनीहरू साँच्चिकै पीडित हुन् भने उनीहरूको सरकारले निःशुल्क उपचार दिनुपर्छ । तर, झुट्टा हुन् भने कानुनको दायरामा ल्याउनुपर्छ । किनकि यसरी गरिब, बेसहाराको नाम बेचेर कसैले पनि कसैलाई ठग्न पाउने अधिकार छैन ।
पढाइमा अब्बल नभएका सरकारी कर्मचारी तथा धनीमानीका छोराछोरीहरूले मात्र विद्यालयमा छात्रवृत्ति पाउँछन् । उनीहरू छात्रवृत्ति लिएर विदेश पढ्न जान्छन् । काठमाडौंमा पाँचवटा घर भएका र छोराछोरी अमेरिका, अस्ट्रेलिया भएका व्यक्तिले समेत ज्येष्ठ नागरिक भत्ता लिन्छन् । सरकारी कर्मचारीहरू पनि अवकाश भत्ता लिइरहन्छन् । तर, जो मान्छे सडकमा माग्न बसेको हुन्छ शिक्षा, स्वास्थ्यबाट वञ्चित भएको हुन्छ, त्यसलाई सरकारले केही दिँदैन ।
तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशीले ऋण नदिए वा अनुदान नदिए सरकारी कर्मचारीलाई तलबभत्ता वा सरकारी खर्च धान्न नसकिने बताएका थिए । अहिले बजारमा व्यापार व्यवसाय ठप्प छ । घरहरू धमाधम खाली भएका छन् । बेरोजगारी संख्या बढेको छ । मुलुकको अर्थतन्त्र कुन अवस्थामा छ ? भनेर सोधेमा बाटोमा मागेर बस्नेले सजिलै भनिदिन्छन् । तर, विज्ञ, अर्थविद् भनिनेहरू अहिले पनि राजनीतिक पार्टीको झोला बोकेर झुट्टा कुरा भन्दै हिँडेका छन् ।




