काठमाडौं । एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेतृ आरजु देउवाले हालै दिएको अभिव्यक्तिलाई लिएर सनसनी मच्चिएको छ । ओलीले शनिबार र आरजुले शुक्रबार दिएको अभिव्यक्तिलाई लिएर चर्चा र टीकाटिप्पणी हुन थालेको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले सरकारले पाकिस्तानी शैलीको राजनीति सुरु गरेको आरोप लगाएका थिए । उनले सरकार प्रतिशोधपूर्ण तरिकाले पाकिस्तानी शैलीमा अगाडि बढिरहेको र यो यही अन्त्य नहुने बताए । उनले सरकारलाई धेरै नहौसिन र अधिनायकवाद नदेखाउन सुझाव पनि दिए ।
कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गर्दै सरकारविरुद्ध बोल्नेको मुख बन्द गर्न खोजेको र अरुलाई तर्साउन खोजेको उनको भनाइ थियो । सुन तस्करीको विरोध गर्दा शर्माले स्कुल पढ्दाको कुरा उठाएर गिरफ्तार गर्नु नांगो नाच भएको उनले तर्क गरे । सांसद शर्मालाई अहिलको अवस्थामा पक्राउ गर्नु सामान्य विषय नभएको ओलीको भनाइ थियो । उनले सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउन नमानेर सरकारले आफू छानबिन गर्छु भन्नु रहस्यमय रहेको पनि बताए ।
त्यस्तै, कांग्रेस सांसद डा. आरजु राणा देउवाले पनि सरकार पाकिस्तानी मोडलको शासन प्रणालीमा गएको देखिएको बताएकी छन् । उनले विपक्षी दलका नेतालाई छानीछानी जेल पठाउने पाकिस्तानी मोडलतर्फ जान सरकार उद्यत भएको आरोप लगाएकी हुन् । कांग्रेस संसदीय दलको बैठकमा शुक्रबार धारणा राख्दै उनले यस्तो बताएकी हुन् ।
आरजुले कांग्रेसका नेतालाई छानीछानी पक्राउ गर्ने र आरोप लगाउने कार्य भइरहेकाले आफूलाई दुःख लागेको बताइन् । ‘यस्ता मैले भारत पाकिस्तानमा मात्र देख्थें,’ उनले भनिन्, ‘एउटाले सरकारको लिड गर्छ, अर्कोको स्क्यान्डल खोजीखोजी जेल पठाउँछ । अर्को आएपछि फेरि विपक्षीलाई त्यसै गर्छ । नेपालमा पनि त्यस्तै देखिन थाल्यो । आज कांग्रेसलाई छानीछानी आरोपित गरिँदा मलाई दुःख लागेको छ ।’ उनले आफ्नो राजनीति सिध्याउन यसरी नै चरित्रहत्यामा लागेको बताइन् ।
सत्तारुढ कांग्रेस र प्रतिपक्ष एमाले नेताको सरकारको विषयलाई लिएर एउटै धारणा आउनुलाई अर्थपूर्ण मानिएको छ । पाकिस्तानमा आफूविरोधीलाई विभिन्न काण्ड लगाएर जेल हाल्ने गरिएको छ । माओवादी नेतृत्वको सरकार पनि अहिले त्यही ढंगमा अघि बढेको छ । अर्काले पोलेकै भरमा कांग्रेस नेता बालकृष्ण खाँणलाई जेल हालियो । कांग्रेस नेतृ आरजु देउवा र मञ्जु खाँणको बदनाम गरियो । सुन तस्करीका विषयमा बोलेकै आधारमा कांग्रेस सांसद सुनिल शर्माविरुद्ध प्रतिशोध साँध्न पक्राउ गरियो । तर, माओवादीका नेताहरूमाथि सुनकाण्डमा अनुसन्धान गर्न सिआईबीले प्रतिवेदन बुझाए पनि उन्मुक्ति दिइएपछि ओली र आरजुले पाकिस्तानी मोडेलको शासन शैली लागू गर्न खोजिएको आरोप लगाएका हुन् ।




