विचार

प्रजातन्त्रको रक्षाका लागि सक्रिय र चलायमान कांग्रेस

नेपाली राजनीतिमा मूल प्रवाह आखिर नेपाली कांग्रेस रहेछ भन्ने कुराको ताजा प्रमाण भनेको पछिल्लो केन्द्रीय बैठक र त्यसपछिको जनमानसको जिज्ञासा र अपेक्षाबाट स्पष्ट भएको छ । आखिर त्यही साबित भयो, कांग्रेस लयमा नहुँदा के हुन्छ ? अहिले जे भएको छ, त्यस्तै हुन्छ । नेपालको प्रजातन्त्रको अभियन्ता भनेको कांग्रेस हो भन्ने कुरा नेपालको इतिहासले प्रमाणित गरेको तथ्य हो ।

हालको सत्ताको नेतृत्व माओवादीको भए पनि त्यसको मुख्य निदालको रूपमा कांग्रेस देखिएको छ । अहिलेको सत्तापक्षले गर्ने प्रत्येक नकारात्मक र सकारात्मक पक्ष र परिणामको भागी कांग्रेस नै हुनुपर्छ । मुलुकको सत्ताको मुख्य दायित्वबोध गर्ने कांग्रेसलाई अब लागेछ, गठबन्धन फगत कृत्रिम रणनीतिमात्र हो, गठिलो संगठनविना न त दलको अस्तित्व रहनेछ, न त प्रजातन्त्रको पक्षमा मुलुकमा कुनै अभियान नै चालिने छ ।

यो कुरा कांग्रेसलाई थाहा नभएको पनि होइन, तर आजको बेथितिको सम्पूर्ण उत्तरदायित्व किन कांग्रेसको टाउकोमा मात्रै थुपारिन्छ ? तर कांग्रेस त्यसविरुद्ध चुइँक्क बोल्न सक्दैन । उदाहरणका लागि आफूलाई वामपन्थी भनेर चिनाउने अवसरवादीहरूले सभा समारोहमा कांग्रेसलाई सामन्ती व्यवस्थाका अवशेष भन्छन्, पुँजीपतिका दलाल भन्छन्, अमेरिकी साम्राज्यवादका दलाल भन्छन््, भारतीय दलाल भन्छन्, सम्पूर्ण भ्रष्टाचारको जडको रूपमा उदाहरण दिएर भन्दा पनि त्यहाँ उपस्थित कांग्रेसी प्रतिनिधिले त्यसको उत्तर दिँदैनन् ।

मानौँ यसभन्दा पहिले बोल्ने कथित सर्वहारा वर्गका स्वयम्भू नेताको भनाइ अकाट्य जस्तो गरी चुपचाप बस्छन् र मौनं सम्मति लक्षणम् जस्तो गर्छन् । यसमा कसको दोष ? हामी प्रजातन्त्रका पक्षधर भनेर आफूलाई चिनाउन चाहनेहरूको रगत उम्लँदा आफूलाई कांग्रेसका धुरन्धर नेता तथा कार्यकर्ता मान्नेहरूले प्रजातन्त्रको पक्षमा हाम्रो आदर्श व्यवहार यस्तो छ र हामी कुनै विदेशी दलाल पनि होइनौँ, हामी साम्राज्यवादीका दलाल पनि होइनौँ भनेर खण्डन गर्ने हिम्मत गरेको पाइँदैन ।

नेपालको आधुनिक इतिहासको बाटो कांग्रेसले खनेको हो । यो कुरा इतिहासविद्हरूले गरेका अनुसन्धान र लेखनबाटै थाहा पाइन्छ । तर त्यही बाटोको खाका देख्नेबित्तिकै कसरी त्यसलाई निमिट्यान्न पार्ने भन्ने नै षड्यन्त्र भएको बुझ्न सकिन्छ । त्यसरी प्रजातन्त्रको सग्लो खाका बनाउने कांग्रेसले देखाएको बाटो नै आजको पनि बाटो हो, राजमार्ग हो । कांग्रेसले प्रजातन्त्रको एउटा नमुनाको स्वरूपका अभ्यास गर्न नपाउँदै त्यो बनाउनेहको विरुद्धमा जुन षड्यन्त्र रचिएको थियो, त्यो आज पनि यथावत् छ । लाग्छ, आफ्नाविरुद्ध रचिने षड्यन्त्रको जालोमा कांग्रेस दिनानुदिन फसेको छ ।

बीपीले जनमतसंग्रहताका प्रत्येक शनिबार हुने विहंगम अन्तरक्रिया र विभिन्न सभा समारोहमा भनेको म सम्झन्छु । कसैले कांग्रेसका बारेमा नकारात्मक टिप्पणी गरेमा तत्काल प्रतिवाद गनूर््, किनभने हामीले यो पार्टीको जग राष्ट्रियताको आधारमा राखेका हाँै, प्रजातन्त्रका आदर्शको अभ्यास गर्न सुरु गरेका हौँ ।

न त हामीले कोशी बेचेका छौँ, न त हामीले गण्डकी बेचेका छौँ, भूराजनीतिक कारणले गर्नुपर्ने सहमति र सम्झौता जसले पनि जहिले पनि गर्नैपर्छ, तर हामीले आफूले सकेसम्म आफूलाई फाइदा हुने गरी काम गरेका छौँ । बीपी भन्नुहुन्थ्यो, तर प्रतिवाद गर्नुभन्दा पहिले कोशी सम्झौता, गण्डक सम्झौता र सात सालको दिल्ली सम्झौताका बारेमा जानकारी लिएर मात्र बहसमा भाग लिनू । अध्ययन गर्नू, तर निरंकुशताका पक्षमा कहिल्यै नलाग्नू, बरु हाम्रा लागि निरंकुश राज्यको जनता हुनुभन्दा, तानासाही शासकको जनता हुनुभन्दा जेलनेल नै स्वागतयोग्य हुनेछ ।

प्रजातन्त्रका पक्षमा लाग्दा कसैसँग प्रजातन्त्रविरुद्ध सम्झौता गर्न सकिँदैन र राष्ट्रियताका लागि भने जोसँग पनि सहमति, सहकार्य गर्न सकिन्छ । यदि बेलैमा गलत कुराको प्रतिवाद हुन सकेन भने त्यसलाई स्वीकृतिको रूपमा लिइनेछ । त्यसैले प्रत्येक कांग्रेसका समर्थक र कार्यकर्तालाई कांग्रेसका बारेमा तथ्यपूर्ण जानकारी दिनुपर्छ र त्यसको प्रचार आम मानिससमक्ष पु¥याउनुपर्छ भनेर बीपीले राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रितका बारेमा जानकारी दिनुहुन्थ्यो । खुलेर प्रजातन्त्रका पक्षमा बोल्न र लेख्न उक्साउनु हुन्थ्यो । त्यही नै नेपाली कांग्रेसको परम्परा हो र समाजमा स्वाभिमानसाथ आफूलाई प्रस्तुत गर्ने क्षमता राख्नुपर्ने पनि हो ।

यसरी प्रजातन्त्रका पक्षमा कोरेको बाटो, तयार गरेर हामीलाई सुम्पिएको गोरेटो अब राजमार्ग हुँदा पनि त्यही गोरेटोको चिन्हमै हिँड्ने कांग्रेसका कार्यकर्ताहरूमा बोधोपन किन आएको हो भन्ने कुरामा चिन्ता सर्वत्र हुँदा कांग्रेस लयमा फर्केन भन्ने पनि चिन्ता उस्तै थियो । साउन २ देखि १० गतेसम्म केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले एउटा आशाको किरण देखिएको छ, त्यो हो कांग्रेसले धेरैपछि भए पनि आफ्नो संगठनको चासो राखेको छ । आमजनताको चासोमा आफ्नो सक्रियता देखाउने आँट गरेको छ ।

साउन २० देखि ३० सम्म आन्तरिक संगठनको लागि गाउँगाउँ गएर आफ्नो अवस्थाको समीक्षा गर्ने र त्यसको उपचारका लागि व्यापक संगठन गर्ने जुन अठोट गरेको छ, त्यसले संगठनमा देखापरेको कमीको आत्मालोचना र समीक्षा हुनेछ । ७७ जिल्लामै केन्द्रीय प्रतिनिधिहरूको रोहबरमा समीक्षा गर्ने र कमीकमजोरीलाई कसरी समाधान गर्न सकिन्छ भनेर नयाँ तरिकाले संगठनलाई चुस्तदुरुस्त पार्ने बुझिएको छ । तर यही बीचमा नेपालमा कतै सुख्खाका कारणले रोपाइँ हुन नसकेको त कतै अतिवृष्टिका कारणले बाढीपहिरोले जनधन तथा बाली नष्ट गरेको समाचार पनि आएको छ, यस्तो जनताको समस्याको समयमा घरघर गाउँगाउँ कांग्रेसको उपस्थितिले पक्कै पनि जनताका सेवाको चाहना पूरा भएको मान्न सक्छन् र अपेक्षाअनुसारको आफ्ना धारणा खुलस्त भन्न सक्नेछन् ।

नेपाली राजनीतिमा अहिले कांग्रेस कमजोर देखिएको छ । सबैतिर तदर्थवादले गाँजेको छ भन्ने जनगुनासोको पनि पक्कै पनि जवाफ दिनैपर्छ र विधानअनुसारको सांगठनिक व्यवहारलाई अभ्यासमा पनि ल्याउनै पर्छ । सायद संगठनमा कमीकमजोरी भएर नै होला, कांग्रेस जस्तो दलले अरुसँग गठबन्धन गरेर निर्वाचनमा जानुपरेको प्रमाण प्रस्तुत गरिँदै छ र कांग्रेसका असली मतदाताहरू त्यसबाट पक्कै पनि निराश भएका हुनसक्छन् ।

पञ्चायतकालमा समेत पञ्चहरू कांग्रेसको संगठन सखाप पा¥यौँ भनेर गमक्क फुल्दा पनि कांग्रेसका पक्षमा कति जनसंख्या छ भन्ने पत्ता लगाउन सकेका थिएनन् । नभन्दै पञ्चायतलाई धक्का दिन कांग्रेसकै नेतृत्वमा संयुक्त जनआन्दोलन भएको थियो । २०४७ सालमा नयाँ संविधान आएपछि भएको २०४८ को निर्वाचनमा समेत कांग्रेस एक्लै २०५ स्थानमा निर्वाचन लडेको थियो । तर २०७४ र २०७९ मा पनि कांग्रेसले आफूलाई एक्लै निर्वाचनमा जान हिम्मत नगरेकाले पक्कै पनि कांग्रेस कमजोर भएकाले होला भन्ने आमजनमानसमा पर्नु स्वाभाविकै हो । जबकि जनताको मतमा खासै फरक नपरेको होस् ।

त्यसको जबाफ भनेको नयाँ तरिकाले संगठनलाई चलायमान गराएर मात्र दिन सकिन्छ जसको सुरुवाती प्रयास हालको गतिशीलतालाई मान्नुपर्छ ।आजको बेथिति, अस्थिर राजनीति, सरकारको पेन्डुलम अवस्थाको कारण भनेको कांग्रेस कमजोर भएर नै हो । कतिसम्म भने २०७४ मा संघ र प्रदेशमा अवस्थाको आंकलन गरिएको थियो । २०७९ मा केही सुधार भएको त छ, तर सरकार, संसदको नेतृत्वका प्रश्नमा कांग्रेस निर्णायक हुन सकेको छैन । त्यसैले भन्नैपर्ने हुन्छ, कांग्रेस कमजोर भए प्रजातन्त्र कमजोर हुँदो रहेछ ।

सायद अहिलेको केन्द्रीय बैठकले यी कुराहरूमा आत्मसात् गरेकाले होला, संगठनलाई जबसम्म व्यवस्थित गर्न सकिँदैन, जबसम्म संगठनका आधारमा जुनसुकै खालको प्रतिस्पर्धा गर्नका लागि तयारी हुन सकिँदैन, तबसम्म प्रजातान्त्रिक अवस्थाको स्थितिले सकारात्मक सुधारको अपेक्षा गर्न सकिँदैन ।

अपेक्षा गरौँ, अब कांग्रेसमा धेरै गुट–उपगुट नबनोस् र प्रजातन्त्रका पक्षमा मात्र गुट बनोस् । बहस र छलफलका लागि तर्कपूर्ण जानकारी राख्नेहरूको जमात बढोस् । प्रजातन्त्रको अभ्यासका लागि उदाहरण हुनका लागि आफ्नै आन्तरिक प्रजातन्त्र सुदृढ बनाउने हिम्मत पलाओस् । अहिले नेपालको संघीय संसदमध्ये प्रतिनिधि सभामा प्राविधिक रूपमा मात्र ठूलो दल बनेको छ, त्यो पनि गठबन्धनका बलमा आएको हो भनेर कसैले आरोप लगाउँदा त्यसलाई असत्य भन्न सकिँदैन ।

संसदको तेस्रो दललाई च्यापेर सरकारको नेतृत्व दिनुपरेको छ, दोस्रो ठूलो दलले सभामुख पाएको छ, चौथो दलले उपसभामुख लिएको छ । संवैधानिक परिषद्मा जुन हालत छ, कांग्रेसविहीनताको, त्यसले नेपाली प्रजातन्त्रको प्रक्रियामाथि प्रश्न उठेकै छ । सबैभन्दा ठूलो दलको न प्रधानमन्त्री, न सभामुख—उपसभामुख, न राष्ट्रिय सभामा अध्यक्ष—उपाध्यक्ष । प्रदेशमा पनि मुख्यमन्त्री अर्काको भरमा लिन पाइएको छ, त्यो पनि गठबन्धनका ठीक बेठिक सर्तहरू मानेर जानुपरेको छ ।

जुन कुरामा कांग्रेससँग स्पष्ट जवाफ हुनुपर्छ किनभने प्रजातन्त्रका पक्षमा कांग्रेसको पनि कमजोरी भयो भने प्रजातन्त्रको पक्षमा कसल बोल्ला ?प्रजातन्त्रमा जब जनता प्रजातन्त्रको विकल्प खोज्नका लागि भड्किन्छन्, भड्काइन्छन्, उग्र राष्ट्रियता र उग्र प्रजातन्त्रको कृत्रिम नाराको उद्देश्य हुनसक्छ, त्यहाँ अर्को निरंकुशताले तानाबाना बुनिएको होस् र अहिलेको व्यवस्थाभन्दा निर्दलीयता नै उपयुक्त भनेर पुरानो रक्सीलाई नयाँ सिसीमा राखेर जनतालाई भ्रममा पार्नेहरूले घाँटी उठाएर प्रजातन्त्रको सिकार गर्नेछन् ।

प्रजातन्त्रको पक्षमा आज पनि विनासर्त जुनसुकै त्याग गर्न र प्रजातन्त्रका विरुद्ध जोसुकै देखिए पनि तत्काल प्रतिवाद गर्ने दल भनेको कांग्रेसमात्र हो । केही समयदेखि देखिएको निष्क्रियता चिरेर अहिले जागेको देखिएको छ । मुलुकमा प्रजातन्त्र ठिक होइन भनेर उदाउन सक्ने जुनसुकै व्यक्ति वा संस्था वा दल जुनसुकै नाममा आउन सक्छन्, त्यसलाई बीपी कोइरालाको पार्टीले यस कुरामा सजग र सतर्क हुनै पर्छ ।

कांग्रेसको सिद्धान्तले जितेको पनि भन्ने, तर आफ्ना एजेन्डा कायम गर्न नसकेको अवस्था अब नआओस् । अबको कांग्रेसले सत्ताको कृत्रिम स्वादमा भन्दा प्रजातन्त्रको स्वाद जनतालाई दिन कम्मर कसेर लाग्नुपर्छ । आमजनताको अपेक्षा प्रजातन्त्रको पहरेदार कांग्रेसमा आत्मालोचनाको चेतको आलोकमा प्रजातन्त्रविरुद्ध उठेका आवाजहरूको तर्कपूर्ण जवाफ दिने भनेको नै कांग्रेसको सक्रिय संगठन र चलायमात्र संस्था हुनुमा हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *