काठमाडौं । एमालेको अवरोधका कारण बुधबारको प्रतिनिधिसभा बैठक पनि नियमित कामकारबाहीमा अघि बढ्न सकेन । एमाले सांसदहरूको नाराबाजीका कारण सभामुख देवराज घिमिरेले शुक्रबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।
एकातिर एमालेले सरकारलाई अप्ठेरो बनाउन संसद् अवरुद्ध गर्दै आएको छ भने अर्कोतिर एमालेको अभियानमा सभामुख घिमिरेले राम्रै साथ दिँदै आएका छन् । एमालेका सांसद कराउनेवित्तिकै सभामुख घिमिरेले संसद् बैठक सारिहाल्ने, एमालेसँग सहमति नहुनेवित्तिकै सूचना टाँस गरेर बैठकको मिति परिवर्तनको काम गर्दै आएका छन् । यसले बुझ्न सकिन्छ, एमाले वर्तमान सरकारलाई कसरी सभामुखमार्फत अप्ठेरोमा पार्दैछ भन्ने ।
हिजो केपी ओली प्रधानमन्त्री हुँदा माओवादीले सभामुख कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटाबाट असहयोग भएको निष्कर्ष निकालेको एमाले अहिले त्यही बदला लिन सभामुख घिमिरेलाई हतियार बनाएर अघि बढेको छ । एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्नुको पछाडि जसरी पनि पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउनु नै रहेको संकेत देखिँदै गएको छ । राज्यको एउटा निकायले अनुसन्धान गरिरहेको प्रकरणमा ३५ दिनसम्म पनि कुर्न एमाले किन सकिरहेको छैन भन्ने विषयलाई वामपन्थी नेता वामदेव गौतमले बुधबार सप्रसंग व्याख्या गरेका छन् ।
राष्ट्रियसभाका सदस्यसमेत रहेका गौतमले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति गठन गर्न नहुने बताएका छन् । उच्चस्तरीय छानविन समिति गठन गरेमा अहिले भइरहेको छानबिन नै ओझेल पर्ने र उच्चस्तरीय समिति गठन गरिएपछि प्रधानमन्त्रीलाई समेत छानबिनमा तान्नुपर्ने माग उठ्ने उनको भनाइ छ । पूर्वगृहमन्त्रीसमेत रहेका उनले अन्तरदेशीय गिरोहको सेटिङमा सुन तस्करी भएको कुराको छानबिन हुनुपर्ने पनि बताए ।
‘उच्चस्तरीय छानबिन आयोग बनाउने प्रस्ताव आएको छ । त्यसमा प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्री पनि संलग्न हुनुहुन्छ त्यसकारण उच्चस्तरीय छानबिन आयोग बन्नुपर्छ भनेर यहाँ पनि सांसदहरूले बोल्नुभयो,’ बुधबारको राष्ट्रियसभा बैठकमा उनले भने, ‘त्यो निर्माण गर्दाबित्तिकै कार्यादेश हुन्छ । क्षेत्राधिकार कहाँसम्म पुग्ने भन्ने हुन्छ ।
त्यहाँ प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्रीसम्म प्रवेश गर्न अधिकार माग्दछ । प्रधानमन्त्रीलाई निलम्बन गर्ने व्यवस्था छैन, प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ । राजीनामा गरेपछि अर्काे प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु हुन्छ । जसले यो छानबिनलाई ओझेलमा पारिदिन्छ । त्यसले कामै गर्नसक्ने स्थिति उत्पन्न हुन्न ।’ उच्चस्तरीय छानबिन समिति गठन गरिए अहिले भइरहेको अनुसन्धान र छानबिन अघि बढ्नसक्ने स्थिति नरहने गौतमले बताए ।
एमालेको अहिलेको रणनीति यसरी नै आएको उनले खुलासा गरेका छन् । हिजो एकजना भारतीय नागरिकका विषयमा दिएको अभिव्यक्तिको विरोधमा प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेले उच्चस्तरीय छानबिन समिति गठन गरेपछि प्रधानमन्त्रीले पदबाट राजीनामा नदिएसम्म अघि बढ्न नसक्ने भन्दै अत्तो थाप्ने उनको संकेत छ । बरु गौतमले सरकार परिवर्तन गर्नुपर्ने भए अविश्वासको प्रस्ताव ल्याउन पनि एमालेलाई सुझाव दिएका छन् । ‘प्रधानमन्त्रीलाई हटाउने हो भने अविश्वासको प्रस्ताव लगे भइहाल्यो,’ उनले भने । एमालेमा रहेर लामो समय राजनीति गरेका वामदेव ओलीको सबै रणनीतिबारे जानकार रहेको बताइन्छ ।




