काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघको नाममा बुधबार कुनै भेला नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । सोमबार संघको तदर्थ समितिमा मनोनीत गरिएका ७१० जनाको विषयमा असन्तुष्टि जनाउँदै केही नेविसंघका नेता कार्यकर्ताले बुधबार समानान्तर कार्यसमिति घोषणा गर्न लागेको प्रचार गरेपछि अध्यक्ष शेर्पाले त्यस्तो भ्रममा नपर्न आग्रह गरेका हुन् ।
उनले डेढ वर्षपछि तदर्थ समितिले पूर्णता पाएको उल्लेख गर्दै लामो समयदेखि हुन नसकेको महाधिवेशन, उमेर हदबन्दी र स्ववियु निर्वाचनलाई सफल बनाउन विभिन्न जिल्ला र क्याम्पसहरूमा साथीहरुले गरेको त्याग र मेहनतलाई सम्मान गर्न ठूलो संख्याको समिति बनाइएको स्पष्ट पारेका छन् ।
तदर्थ समितिमा धेरै महत्वपूर्ण साथीहरू छुटेको स्वीकार गर्दै उनले समितिमा नअटाएका विद्यार्थी नेताको समेत उचित व्यवस्थापन गर्ने प्रतिबद्ध जनाएका छन् । ‘नेपाल विद्यार्थी संघको अध्यक्षको जिम्मेवारी प्राप्त गरेको दिनदेखि नै केन्द्रीय समिति गठनको निमित्त निरन्तर प्रयत्न गरिरहेको थिएँ। तीनै तहको निर्वाचन, स्ववियु निर्वाचन, उपनिर्वाचन र मातृ पार्टीको आन्तरिक गतिविधि साथै राष्ट्रिय राजनीतिको विशेष परिस्थितिको कारण करिव १७ महिनामा केन्द्रीय समितिले पूर्णता पाएको छ।
अझै पनि विविध कारणवश धेरै महत्वपूर्ण साथीहरु छुट्नु भएको छ। समितिमा नअटाएका विद्यार्थी नेता साथीहरुको समेत उचित व्यवस्थापन गर्ने कुरामा म प्रतिबद्ध रहेको छु। नेपाल विद्यार्थी संघको कलम मसाल अंकित झण्डामुनि रहने जिम्मेवार साथीहरुप्रति अवश्य न्याय हुनेछ। तसर्थ आज नेपाल विद्यार्थी संघको नामबाट हुने भनिएको कुनै भेला नरहेको र यस्ता भ्रममा नपर्नु हुन सम्पूर्ण विद्यार्थी साथीहरुलाई हार्दिक अनुरोध गर्दछु,’ शेर्पाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




