काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेले भोटको सस्तो राजनीति गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले नयाँ र वैकल्पिक शक्ति बनाउँछौँ भन्नेहरूले भोटको सस्तो राजनीति गर्न खोजेको देखिएको हुँदा यस्तो कुरामा गम्भीर बन्नुपर्ने उल्लेख गरेका छन् ।
रवि लामिछानेले आफू चितवन २ बाट निर्वाचित भएको १०० दिन पुगेको अवसरमा बुधबार महिलाका लागि निःशुल्क बस सञ्चालनबारे टिप्पणी गर्दै पोखरेलले समाज कता जाँदै छ भनी प्रश्न गरेका छन् । ‘नयाँ र वैकल्पिक शक्ति बनाउँछौँ भन्नेहरूले गर्न खोजेको काममा रूपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामबाट भविष्यको सुन्दर दृश्य देखिनु पर्दछ । तर, स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो,’ उनले लेखेका छन् ।
एउटा ठूलो दलको महासचिवबाट अर्को पार्टीको सभापतिको कार्यशैलीलाई सार्वजनिक रूपमै प्रश्न उठाउनु सामान्य विषय होइन । रविले आफूले चुनावअघि गरेका बाचा र घोषणाअनुसार नै अहिले काम गर्न थालेको प्रतिक्रिया दिएका छन् । तर यस विषयमा नेपाली समाज दुई कित्तामा बाँडिएको छ । कसैले रविले धेरै राम्रो काम गरेको भनेका छन् । कसैले रविले राजनीतिक स्टन्टबाजी गरेको टिप्पणी गरेका छन् ।
लामिछानेले वैदेशिक रोजगारीमा रहेका सय नेपालीलाई स्वदेशमै रोजगारीसहित एकैपटक ११ काम सुरु भएको घोषणा गरेका छन् । जसमा ब्लु बस सेवा, मोबाइल क्लिनिक, सार्वजनिक सुनुवाइ, नमुना विद्यालय, स्वस्थ चितवन, आवासीय नमुना स्कुल, हेल्लो रवि, ¥यापिड एक्सन टिम, वृक्षरोपण र चितवन क्लब निर्माण रहेका छन् ।
चितवन २ का महिलाका लागि निःशुल्क बस सेवा भनिएको छ । तर त्यो बस कसले दियो, मासिक डेढ लाख भाडा कसले बुझाउने भन्ने खुलेको छैन । यो आफैंमा अपारदर्शी हो । पार्टीका नीलो रङ पोतेको बसको सिटमा रास्वपाको झन्डा राखिएको छ । त्यसैले यो रास्वपाको प्रचार गर्न ब्रान्डिङ गर्न खोजिएको पुष्टि हुन्छ ।
लामिछानेले ‘मोबाइल क्लिनिक’ पनि सुरु गरेका छन् । ६५ वर्षभन्दा माथिका मानिसलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले मोबाइल क्लिनिक चलाउन लागिएको हो । रविले तामझामका साथ चलाउन लागेको मोबाइल क्लिनिक सवारीसाधन भारतले अनुदानमा दिएको पाइएको छ । नीलो रङले पोतेर नयाँ स्वरूप दिइएको यो गाडी २०७१ मा भारतीय दूतावासले चितवन कलेज अफ मेडिकल साइसेन्सलाई दिएको खुलेको छ । ना२च ५६१९ नम्बरको यो गाडी कसरी रविको हातमा पुग्यो भन्ने खुलेको छैन ।
रवि लामिछानेले आफू निर्वाचित भएको सय दिनमा कम्तीमा सय नेपालीलाई रोजगारी दिएर नेपाल फर्काउने घोषणा गरेका थिए । सोही घोषणाअनुसार उनले विभिन्न रोजगारदाता कम्पनीसँगको सहकार्यमा ६ शीर्षकमा विज्ञापन आह्वान गरेका हुन् । जसअन्तर्गत मार्केटिङ एन्ड कम्युनिकेसन, टेक्निकल, फाइनान्स एन्ड अकाउन्टिङ, फुड एन्ड वेभरेज र म्यानेजमेन्ट एन्ड एडमिनिस्ट्रेसन छन् ।
मार्केटिङ एन्ड कम्युनिकेसनअन्तर्गत पदमा ४३ जना मागिएको छ । टेक्निकल समूहमा ३५, फाइनान्स एन्ड एकाउन्टिङमा सात, फुड एन्ड वेभरेजमा २७, म्यानेजमेन्ट एन्ड एड्मिनिस्ट्रेसनमा ३६ र हेल्थ केयर समूहमा १८ जनालाई रोजगारी दिइने भन्दै विज्ञापन सार्वजनिक गरिएको छ ।
अहिलेसम्म यस्तो काम ‘मेरो जब’ अनलाइन संस्थाले गर्दै आएको थियो । विभिन्न संघसंस्थामा जनशक्ति चाहिएमा विज्ञापन आह्वान गरेर छनोट गरी संस्थालाई उपलब्ध गराउने र त्यसबाट निश्चित कमिसन खाने गर्दै आएका छन् । रविले अहिले गरेको काम पनि ब्रोकर नै हो । उनी संसदको चौथो ठूलो दलका सभापति हुन् । गृहमन्त्रीसमेत भइसकेका व्यक्ति हुन् । विधायकको काम संसदमा कानुन बनाउने हो ।
राज्यलाई विकास गर्न घचघच्याउने हो । विकृति र विसंगति हटाउन कुरा राख्ने हो । तर अहिले रविले एउटा ब्रोकर र वडाध्यक्षले गर्ने काम गरिरहेका छन् । सांसदहरूको यही मतिलाई बुझेर काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले ‘सांसदको हैसियत वडाध्यक्ष’ जति पनि नभएको टिप्पणी गरेका थिए ।
रविले सस्तो लोकप्रियताका लागि जे काम गरिरहेका छन्, त्यसले कालान्तरमा उनलाई नै क्षति पुग्ने निश्चित छ । रास्वपामा २१ जना सांसद छन् । तर अहिले रविको निर्वाचन क्षेत्रमा मात्र योजना लगिएको छ । प्रत्यक्ष निर्वाचित अन्य सातजनाबारे रवि मौन छन् । समानुपातिक सांसदको त निर्वाचन क्षेत्र नै छैन । उनीहरूलाई यस्तो राजनीतिक स्टन्टबाजी गर्नु नपर्ला ।




