राजनीति

मुख्यमन्त्री जम्कट्टेलको रवैयाले कांग्रेस असन्तुष्ट, मन्त्री चित्रकारलाई जिम्मेवारी नदिएपछि सामूहिक राजीनामाको तयारी

काठमाडौं । बागमती प्रदेश सरकारमा खटपट सुरु भएको छ । प्रदेश सरकार विस्तार भएको ७२ दिन भइसक्दा पनि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसबाट मन्त्री बनेका रामकृष्ण चित्रकारलाई कुनै जिम्मेवारी नदिएपछि सबै मन्त्री सरकारबाट बाहिरिने तयारीमा रहेको बुझिएको छ ।

मन्त्रालयको टुंगो नलाग्दा मन्त्री चित्रकार मुख्यमन्त्री कार्यालयमा रहेको मुख्यमन्त्रीको कार्यकक्षसँगै एउटा कोठामा बसेर दिन काट्न बाध्य छन् । ११ मन्त्रालय रहेको बागमती प्रदेश सरकारलाई पूर्णता दिने क्रममा गत जेठ ७ गते मुख्यमन्त्री जम्कट्टेलले १२ जना मन्त्री नियुक्त गरेका थिए ।

चित्रकारको भागमा विना विभागीय मन्त्रीको जिम्मेवारी परेको थियो । उनलाई बजेट भाषणपछि लगत्तै मन्त्रालयको जिम्मेवारी दिने आश्वासन दिइएको थियो । तर डेढ महिना भइसक्दा पनि मुख्यमन्त्री जम्कट्टेलले कुनै जिम्मेवारी दिएका छैनन् ।

प्रदेश सरकारमा मुख्यमन्त्रीसहित चार मन्त्रालय माओवादीको भागमा परेको छ । कांग्रेसलाई ६ र एकीकृत समाजवादीको भागमा दुई मन्त्रालय परेको छ । कांग्रेसले माओवादी कोटामा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाएर सहरी विकास मन्त्रालयको स्थापना गर्दै चित्रकारलाई जिम्मेवारी दिनुपर्ने अडान राखेको छ ।

सुरुमा मुख्यमन्त्री जम्कट्टेल यसमा सहमत भएका थिए । तर अहिले उनले कुरा फेरेका छन् । ७२ दिनसम्म बिना विभागीय मन्त्रीलाई जिम्मेवारी दिन नसक्दा मुख्यमन्त्री जम्कट्टेलसमेत दबाबमा परेका छन् ।

कांग्रेसबाट बहादुरसिंह लामा, उत्तम जोशी, तीर्थ लामा, मसिना खड्का, पुकार महर्जनले मन्त्रालयको जिम्मेवारी पाएका छन् । तर कांग्रेस बागमती प्रदेश दलका उपनेतासमेत रहेका चित्रकारलाई भने अपमानित गर्दै मुख्यमन्त्री चित्रकारले कुनै मन्त्रालयको जिम्मेवारी दिएका छैनन् ।

स्रोतका अनुसार सुरुमा चित्रकार एक्लैले मन्त्री पदबाट राजीनामा दिने भनिएको थियो । तर कांग्रेस बागमती प्रदेशका सांसदहरूले पार्टीका सबै मन्त्रीले सामूहिक राजीनामा दिनुपर्ने सुझाव दिएपछि अहिले यस विषयमा आन्तरिक छलफल भएको छ । एक दुई दिनभित्रै कांग्रेसले आधिकारिक निर्णय गर्दै मन्त्रीहरूले सामूहिक राजीनामा दिने निर्णय गर्ने भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *