काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत अहिले स्वास्थ्य क्षेत्रमा लामो समयदेखिको विकृति र विसंगति हटाउन लागिपरेका छन् । खासगरी दरबन्दीअनुसार खटाएको ठाउँमा नजाने कर्मचारी र चिकित्सकविरुद्ध उनी निर्मम भएर प्रस्तुत भएका छन् । जसकारण सहरी क्षेत्रमा बसेर मासिक लाखौं कमाउने चिकित्सक तनावमा पर्न थालेका छन् ।
मन्त्री भएको दिनदेखि नै बस्नेत स्वास्थ्य क्षेत्र सबैका लागि सरल, सहज र सहुलियत बनाउन लागिपरेका छन् । सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने उनको अभियानले सफलता पाइरहेको छ । विपन्नका लागि निःशुल्क घोषणा भएका अस्पतालको शैयाको संख्या दुई हजार २८ पुगेको छ ।
उपत्यकाका गंगालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्ति बाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले पनि विपन्नका लागि शैया निःशुल्क गराउने निर्णय गरिसकेका छन् । कान्ति बाल अस्पतालले ६०, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले ४५०, ट्रमा सेन्टरले १५० र शहिद गंगालाल हृदयरोग केन्द्रले ९० शैया निःशुल्क गरेका छन् । वीर अस्पतालले सात सय शैया र कोशी अस्पतालले ३३० शैया विपन्नका लागि निःशुल्क गर्ने घोषणा गरिसकेका छन् । मन्त्री बस्नेतले विस्तारै देशभरिका केन्द्रीय अस्पतालमा पनि विपन्नका लागि निःशुल्क शैया थप्दै जाने बताएका छन् ।
शैया निःशुल्क गरेपछि अस्पतालहरूमाथि पर्ने आर्थिक भार कम गर्न केही बजेट सम्बन्धित अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरी काम भइरहेको मन्त्री बस्नेतको भनाइ छ । निजी अस्पताललाई पनि जिम्मेवार बनाउन नियमअनुसार उनीहरूले पनि कुल शैयाको १० प्रतिसत शैया विपन्नका लागि निःशुल्क छुट्याउनुपर्ने नियम कडाईका साथ लागू गराइरहेको उनको भनाइ छ ।
मन्त्री बस्नेतले वीर अस्पतालमा सेवा हुँदाहुँदै अतिविशिष्ट (भिभिआइपी) र विशिष्ट (भिआइपी) व्यक्तिहरू विदेशमा उपचार गर्न गएमा सरकारले खर्च नदिने बताएका छन् । यस्तो अवस्थामा सबै नेपालीका लागि नेपालको स्वास्थ्य सेवाप्रति सबैलाई विश्वास बढ्नेछ । उनले इतिहास बोकेको अस्पतालमा भिआइपी र भिभिआइपी क्याबिन विस्तार गरिएको, १५ जना चिकित्सकको टोली परिचालन गरिएकाले अतिविशिष्ट र विशिष्टदेखि आमसर्वसाधारणलाई स्वास्थ्य सेवा दिन सक्षम छ भन्ने सन्देश विश्वलाई दिनुपर्ने बताए । बस्नेत स्वास्थ्यमन्त्री नियुक्त भएपछि वीर अस्पतालले विशिष्ठ व्यक्तिहरूका लागि आवश्यक सुविधासहित थप भीआइपी र भीभीआइपी उपचार कक्ष सञ्चालनमा ल्याएको हो ।
वीर अस्पतालको पुरानो भवनमा पहिलेदेखि नै भीआइपी र भीभीआइपीका लागि दुई शय्या छुट्याइएकोमा अहिले नयाँ सर्जिकल भवनमा तीन शय्या थप गरेर पाँच शय्यासहितको सुविधा सम्पन्न कक्ष निर्माण गरेको छ । भीआइपी र भीभीआइपीको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका साथ कक्षको सुविधा र संख्या थप गरेर सञ्चालनमा ल्याएको हो ।
उनले नेपालको स्वास्थ्य अवस्था सुधारका लागि सबैको भूमिका उतिकै आवश्यक रहेको बताउँदै सबै अस्पतालका कर्मचारीलाई कुनै कमजोरी नराखी काम गर्न निर्देशन दिँदै आएका छन् ।
आफूले मन्त्रालयकोे नेतृत्व लिएपछि राष्ट्रिय योजना आयोगले घटाएर ल्याएको बजेटको सिलिङमा करिव १० अर्ब थपेको उनको भनाइ छ । कुनै बेला दस महिनासम्म कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्था खेपेको वीर अस्पतालले अहिले उत्साहजनक रूपमा सेवा सुविधा र व्यवस्थापनसमेतमा सुधार आएको छ ।
वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले १५ शैय्याबाट सुरु भएको अस्पतालमा अहिले नौ सय ६६ शैय्या सञ्चालन भएको बताएका छन् । चालू आर्थिक वर्षमा अस्पतालका लागि ७३ करोड मात्र बजेट विनियोजन गरेको छ ।
सरकारले नागरिकहरूका लागि उपलब्ध गराएको स्वास्थ्य सेवा वितरणमा कुनै पनि अस्पतालले हिचकिचाउन नहुने बताउँदै स्वास्थ्यमन्त्री बस्नेतले कानुनअनुसार दिनुपर्ने छुट सुविधा नदिएका काठमाडौँ महानगरभित्रका ६८ वटा अस्पताललाई स्वास्थ्य ऐनअनुसार स्वास्थ्य सेवा प्रदान गर्न सबै अस्पताललाई निर्देशन दिइसकेका छन् । उक्त निर्देशनपछि महानगरपालिकाभित्र अस्पतालले वितरण गर्दै आएको सेवामा थप सुधार देखिएको छ ।
मन्त्री बस्नेतले सबै अस्पतालाई स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार नै स्वास्थ्य सेवा वितरण गराउन निर्देशन दिएका थिए । अहिले स्वास्थ्य क्षेत्रमा देखिएको विकृति अन्त्यका लागि मन्त्री बस्नेत दिनरात खटिएका छन् ।
पछिल्लो समय स्वास्थ्य क्षेत्रमा देखिएको विकृति र विसंगति निर्मूल पार्ने उद्देश्यका साथ स्वास्थ्यमन्त्री बस्नेत उपत्यकाका तीनै जिल्लाका ठूला अस्पतालमा अनुगमन गरिरहेका छन् । जिल्लाका औषधि व्यवस्था विभाग, सहायक सिडिओलगायतलाई लिएर काठमाडौं उपत्यकाभित्रका ठूला अस्पताल तथा फार्मेसी अनुगमनका क्रममा केही ठूला अस्पतालका फार्मेसीमा म्याद गुज्रिएका र दर्ता नै नभएका औषधिहरू बिक्रीका लागि राखिएको पाइएपछि त्यसो नगर्न निर्देशनसमेत दिएका छन् । मन्त्री बस्नेतले त्यस्तो कार्य गर्ने जुनसुकै फार्मेसीलाई कडा कारबाही गर्नेसमेत चेतावनी दिएका छन् ।
झन्डै २२ वर्षअघि स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका उनी हाल स्वास्थ्यमन्त्री भएका अढाई महिनामै स्वास्थ्यका क्षेत्रमा क्रान्तिकारी काम प्रारम्भ गरेर चर्चामा छन् । उनले यस अवधिमा दुई वर्षभित्रमा गरिब तथा विपन्न नागरिकलाई र पाँच वर्षभित्र सबैलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने महत्वाकांक्षी कार्यको घोषणा गरी कार्यान्वयनको सुरुआत गरेका छन् ।
मन्त्री बस्नेतले स्वास्थ्य नीति लागू गराएरै छाड्ने बताएका छन् । यसअघिका स्वास्थ्य क्षेत्रका प्रयास अपर्याप्त देखिए पनि आगामी दिनमा स्वास्थ्य क्षेत्रमा सुधार गरेरै छोड्ने दृढ विश्वासका साथ लागिपरेका छन् । बस्नेत मन्त्री भएपछि स्वास्थ्य क्षेत्रमा देखिएको धेरै समस्या हल हुँदै आएका छन् ।




