काठमाडौं । अधिकांश सरकारी कार्यालयमा सेवाग्राहीको भिडभाड हुन्छ । दिनहुँजसो सेवाग्राहीको चाप बढ्दै जान्छ । यसरी मानिसहरूको चाप बढ्न थालेपछि त्यो ठाउँको जग्गा, घरभाडा, सटर भाडालगायत सबैको मूल्यवृद्धि हुन्छ । यति मात्र नभई त्यहाँ भएका व्यापार व्यवसायसमेत फस्टाउँछ ।
पछिल्लो समय जिल्ला प्रशासन कार्यालय र राहदानी विभागमा मात्रै मानिसहरूको हुल देखिनछ । नगरपालिका, वडा कार्यालय, प्रहरी चौकी र सहकारी विभागमा सहकारीले पैसा खाइदियो भनेर उजुरी दिएको लाम छ ।
करिब तीन वर्षअघि मालपोत र यातायात कार्यालय भएको ठाउँमा खाली कोठा वा सटर भेटिँदैन्थ्यो । पाए पनि एउटै सटरको २० हजारदेखि १० लाखसम्म मासिक भाडा वा खाली सटर २० लाखदेखि ५० लाखसम्ममा बिक्री भएको पनि प्रशस्तै सुनिन्थ्यो ।
त्यस्तै, एउटा कोठाको १० हजारदेखि २० हजार र एक फ्ल्याटको ३० हजारदेखि दुई लाख रुपैयाँसम्म लिँदा पहिल्यै तीन महिनाको भाडा पनि तिर्नुपथ्र्यो । घरधनीहरू वर्षेपिच्छे भाडा बढाउँथे । तर राम्रो व्यापार व्यवसाय हुने भएकाले यत्रो पैसा तिरेर पनि त्यहाँ कोठा पाउनै मुस्किल हुन्थ्यो । अहिले यसको ठिकविपरीत भएको छ ।
मालपोत र यातायात कार्यालय वरपर घर, कोठा वा सटर खाली देखिन्छन् । खुलिरहेको पसलमा पनि बोहनीसमेत नहुने व्यापारीहरू बताउँछन् । मालपोत र यातायात कार्यालय, सरकारी कार्यालय वरपर लेखनदास काम गर्नेहरूले पनि महिनौं दिनदेखि भाडा नतिरेको सुनिन्छ ।
दुई वर्षअघिसम्म मालपोत र यातायात कार्यालयमा खुट्टा टेक्ने ठाउँ हुन्न थियो । जताततै भिडभाड हुन्थ्यो । तर, अहिले यी सरकारी कार्यालय सुनसान छन् । यहाँका कर्मचारीहरू काम नभएर झिँगा धपाएर बस्छन् । वरपर सञ्चालनमा भएका होटल व्यवसायीहरू पनि पहिला लाखौंको व्यापार हुनेमा अहिले त कहिलेकाहीँ बोहनीसमेत नहुने बताउँछन् ।
उनीहरू पनि लामो समयदेखि सटर भाडा, घरभाडा तिर्न नसकेको बताउँछन् । यसरी मन्दी आउनुको कारण बैंक तथा वित्तीय संस्थाले कर्जा नदिनु उनीहरूको भनाइ छ । उनीहरू भन्छन्, ‘सहकारी बचतकर्ताको पैसा लिएर भागिहाल्यो । बैंकले पनि कर्जा दिँदैन । मानिससँग घरजग्गा र गाडी किन्ने पैसा छैन । यसले पनि यो अवस्था आएको हो ।’
सहकारीहरू रातारात भाग्न थालेपछि आमसर्वसाधारणले बैंक तथा वित्तीय संस्थामा भएको आफ्नो रकमसमेत धमाधम निकाल्न थाले । जसले गर्दा बैंकको कर्जा प्रवाह ठप्प भएको छ । घरजग्गा, गाडी र सेयरलाई कर्जा दिन बैंक आलटाल गर्छ ।
सहकारीमा पैसा राखेकाहरूले न घरजग्गा किन्न पाए न गाडी । उल्टै उनीहरू बिचल्लीमा परे । पैसा भएका सबैले ब्याजको प्रलोभनमा सहकारीमा रकम जम्मा गरेका थिए । तर, सहकारीले रकम खाएपछि उनीहरूले कसरी घरजग्गा, गाडी र सेयर किन्नु ?
घरजग्गा, गाडी र सेयरलगायतमा यसरी मन्दी आउँछ भनेर कसैले पनि सोचेको थिएन ।
अहिले मालपोत कार्यालयलगायत विभिन्न सरकारी कार्यालयमा लेखनदास गर्नेहरू आफूले यस्तो मन्दी कहिल्यै नदेखेको बताउँछन् ।
व्यापार व्यवसाय ठप्प भएपछि अहिले सरकारी कार्यालय वरपरका व्यापारीहरूले धमाधम कोठा र सटर खाली गरेका छन् । अहिले सरकारी कार्यालयअगाडि नै कोठा खाली, सटर खाली भनेर लेखिएको भेटिन्छ । त्यसैगरी, बाटोमा हिँड्दा पनि जताततै कोठा, सटर, फ्ल्याट खाली लेखिएको पोस्टर देखिन्छ ।
अहिले सटर नछोडेका व्यापारीहरूसमेत बोहनीसमेत नहुने हुँदा घर भाडा तिर्न नसकेर सटर छोड्नुपर्ने अवस्था आएको बताउँछन् । मुलुकभर ६० प्रतिशत घर, कोठा, सटर वा फ्याल्ट खाली भएको बताइन्छ । जसोतसो बसिरहेका ४० प्रतिशतले समेत भाडा तिर्न सकेका छैनन् ।
अहिले सरकारी कर्मचारी र पेन्सन खानेले मात्र भाडा तिरेका छन् । अन्य क्षेत्रमा काम गर्नेहरूले महिनौं दिनदेखि भाडा तिरेका छैनन् । बैंकमा आफैंले राखेको पैसा झिक्न गएमा एक शाखाबाट अर्को र अर्कोबाट अर्को शाखामा पठाइन्छ । तर, पैसा भने फिर्ता दिइँदैन ।
अधिकांश बैंकमा बचत गर्नेभन्दा निकाल्नेको भिड देखिन्छ । अहिले सहकारीका अध्यक्ष र सञ्चालकहरू बचतकर्ताले कालोमोसो दल्ने वा प्रहरी चौकी बुझाउने डरले लुकीलुकी हिँडेका छन् । बचतकर्ताहरूले सहकारीका अध्यक्ष र सञ्चालकलाई जहाँ भेटे पनि कुट्ने, कालोमोसो दल्ने र प्रहरी चौकी बुझाउने चेतावनी दिइसकेका छन् ।
पछिल्लो समय धेरै सहकारी भागिसकेका छन् । नभागेकाले पनि बचतकर्ताको रकम फिर्ता गर्न सकेका छैनन् । अहिले घरजग्गा, गाडी र सेयर लगानीकर्ता लगानी डुबेपछि आत्महत्या गर्न बाध्य भएका छन् । बजारमा हजारौं मानिसहरू घरजग्गा, गाडी र सेयर बेच्न चाहन्छन् । तर, किन्ने कोही छैन । यसको मूल्यमा भारी गिरावट आएको छ । आम सर्वसाधारणदेखि विज्ञ, अर्थविद्समेत मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको बताउँछन् । अहिले बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा, गाडी र सेयर धितो राखेर ऋण लिएकाहरूले आफ्नो धितो नै छोडेका छन् ।
अहिले सुनिन्छ कि बैंकहरूले हजारौं घरजग्गा, गाडी र लाखौं सेयर लिलाम गर्दासमेत किन्ने मान्छे कोही भेटेन । यसरी मान्छे नभेटिएपछि बैंक आफैं यसको व्यापार व्यवसायका लागि अफिस समेत सञ्चालन गरे । तर, त्यहाँ पनि किन्न कोही गएन । हाल बजारमा यी वस्तुहरूको मूल्य घट्दै गएको छ ।
विज्ञहरू अबको तीन दशकसम्म यसको मूल्य बढ्ने दाबी गर्छन् । जग्गा दलालीहरूले खेतीयोग्य जमिन प्लटिङ गरेर आनाको पाँच हजार रुपैयाँमा बिक्री नहुने जमिन लाखौं रुपैयाँमा बेचे । बैंकले सय रुपैयाँमा निष्कासन गरेको सेयर ३२ सय कित्तामा बेचियो । अहिले भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउनेबित्तिकै व्यापारीहरूले चामलको मूल्य ह्वात्तै बढाएका छन् । मानिससँग दुई छाक खाने पैसा छैन । महँगी बढेको बढ्यै छ । बेरोजगारी पनि उत्तिकै छ । अनि यस्तो अवस्थामा कसले किन्छ घरजग्गा, गाडी र सेयर ?
विश्व स्वास्थ्य संगठनले समेत नेपालमा भोकमरी सुरु हुने बताइसकेको छ । अहिले नै महँगीले सीमा नाघेको छ । हाम्रो नेपालको ९० प्रतिशत खेतीयोग्य जमिन घर र बाटो बनाउँदा मासिएको छ । यसले अब नेपाली जनता भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना भएको छ । केही दिनअघिसम्म १७ सयमा पाइने चामलको बोराको मूल्य २५ सय पुगेको छ । व्यापारीहरूले कालोबजारी सुरु गरेका छन् । अब झन् २५ सय तिर्छुभन्दा समेत चामल पाइँदैन । नेपाल खाद्यान्नमा आत्मनिर्भर छैन । हामी अहिले पनि खाद्यान्न आयातमै भर पर्नुपर्ने अवस्था छ । सरकारले समयमै खेतीयोग्य जमिन प्लटिङ गर्न नदिएको भए वा घर र बाटो बनाउन नदिएको भए आज यस्तो अवस्था आउँदैन थियो ।




