विचार

एमालेलाई संसद् नचाहिएकै हो ? सत्तामा भए विघटन गर्छ, प्रतिपक्षमा भए चल्न दिँदैन

काठमाडौं । प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक पनि स्थगित भयो । साउन १० गते बसेयता संसदमा गतिरोध कायमै छ । त्यसदिन संसद् बैठकमा सत्तापक्ष र एमालेका सांसदहरूले शून्य र विशेष समयमा आफ्ना धारणा राखिसकेपछि एमालेले संसद् चल्न दिएन । जसकारण बैठक १५ गतेसम्मका लागि स्थगित भएको थियो ।

सोमबार पनि प्रतिनिधिसभा बैठक बसेन । मंगलबार पनि एमाले संसद् खुलाउन तयार भएन । जसकारण एमाले सांसद टोपबहादुर रायमाझी निलम्बनको जानकारी सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा सुनाउन सकेनन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले सुनकाण्ड छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राखेपछि सोमबार सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो । बैठक मंगलबार दिउँसो १ बजे बोलाइएको थियो । सुरुमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ सुन्न तयार देखिएको एमाले पछि आफ्नो पूर्ववत् निर्णयबाट पछि हटेकाले सभामुख घिमिरेले साउन २२ गतेसम्मका लागि संसद् बैठक स्थगित गरेका छन् ।

संसद्को अवरोध खुलाउने विषयमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे भएको छलफलमा प्रचण्ड छानबिन समिति बनाउन सकारात्मक रहेको एमाले नेताहरूले बताएका छन् । छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक देखिएपछि एमाले पनि सदनको अवरोध हटाउन तयार थियो ।

दिउँसो उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सभामुख देवराज घिमिरेबीच पनि छलफल भएको थियो । त्यो छलफलमा गृहमन्त्री श्रेष्ठले सरकारले तदारूकताका साथ छानबिन गरिरहेको भन्दै अलग्गै समिति बनाउन तत्पर नदेखिएपछि समझदारी भाँडिएको थियो ।

केही न केही विषयलाई निहुँ बनाएर एमालेले राम्रोसँग संसद् बैठक चल्नै दिएको छैन । एमालेले संसद्को आवश्यकता देख्न छाडेको हो कि भन्ने आशंका उब्जिएको छ । सत्तामा रहँदा एमाले संसद् विघटन गर्ने र विपक्षमा बस्दा संसद् चल्न नदिने पार्टीको रूपमा स्थापित हुँदै गएको छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा उनले दुई दुईपटक संसद् विघटन गरेका थिए । सर्वोच्च अदालतले दुईपटक नै संसद् पुनस्र्थापना गरिदिएपछि ओली आक्रोशित भएका थिए ।

ओलीले विघटन गरेको संसद् डेढ वर्षसम्म सञ्चालन भएर गत मंसिरमा आमनिर्वाचनमार्फत प्रतिनिधिसभा सदस्यहरू चुनिएर आएका थिए ।
तर नयाँ संसद् आएको नौ महिना हुन लाग्दा एमालेले विभिन्न बहानामा संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

ओली प्रधानमन्त्रीबाट हटेर शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग्दै एमालेले ६ महिनाभन्दा बढी संसद् अवरुद्ध गरेको थियो । तर तत्कालीन सभामुख सापकोटाले राजीनामा दिएनन् । एमाले आफ्नो मागबाट पछि हट्यो । दुई महिनाकै बीचमा एमालेले झन्डै २० दिन संसद् अवरुद्ध गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नागरिक प्रितम सिंहको विषयमा बोलेको अभिव्यक्तिको विरोध गर्दै एमालेले ६ दिनसम्म संसद् अवरोध गरेको थियो । पछि प्रधानमन्त्री प्रचण्डले संसदमा जवाफ दिने सहमति गर्दै एमाले आफ्नो मागबाट पछि हटेको थियो ।

अहिले फेरि सुनकाण्डमा गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने वा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने उसको माग छ । संसद् बैठक अवरुद्ध गरे पनि एमालेले संसद्बाट प्राप्त सेवासुविधा भने लिइरहेको छ । पहिले ६ महिना अवरुद्ध गर्दा पनि एमाले सांसदले सेवासुविधा बुझेकै थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *