राजनीति

जनता संकटमा पर्दा विपक्षी दललाई सत्ताको लोभ

काठमाडौं । अहिले भारतले नेपालमा चामल आयातमा प्रतिबन्ध लगाएपछि उपभोक्ताले पाँचदेखि १५ बोरा चामल पसलबाट उठाउन थालेका छन् । यहीबेलामा व्यापारीहरूले पनि १७ सय रुपैयाँको चामल २७ सय पारेका छन् । सय रुपैयाँ किलो नपर्ने दाल दुई सयमाथि पुगेको छ । भारतले चामल आयातमा प्रतिबन्ध लगाएपछि नेपालमा चिन्ता सुरु भएको छ । कतै खानै नापएर मानिसहरू मर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुने त होइन भन्ने चिन्ता देखिएको हो ।

हाम्रो मुलुकको अधिकांश भूभाग भारत र चीनले कब्जा गरेका छन् । जसोतसो बाँकी भएको ९० प्रतिशत जमिनमा पनि घर र बाटो बनाइएको छ । अहिले घरजग्गाको कारोबार ठप्प छ । यसमा व्यापक मन्दी छ । करिब दुई वर्षअघि तीन करोडमा किनेको घडेरी अहिले पैसाको खाँचो परेर सस्तोमा बेच्छु भन्दा बिक्दैन । केही वर्षअघि जग्गा दलालहरूले खेतीयोग्य जमिनमा प्लटिङ गरेर आनाको हजार रुपैयाँमा बिक्री नहुने जग्गा आनाकै लाख रुपैयाँमा बेचिदिए । यसरी दलालहरूकै कारण आज मुलुकभरका खेतीयोग्य जमिन मासिएको छ । जनता भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

३५ हजारभन्दान बढी सहकारीमा खर्बौं बचत गरेका लामौं बचतकर्ता सडकमा आउने अवस्था सिर्जना भएको छ । उनीहरूको रुवाबासी र बिचल्ली भएको छ । कहीँकतै जाने ठाउँ छैन । थोरै ब्याजको प्रलोभनमा पर्दा आज उनीहरू घरविहीन भएका छन् । पछिल्लो समय अधिकांशले सहकारीमा बचत गर्न छोडेका छन् । कति सहकारीका सञ्चालक जेल गएका छन् भने कति मुलुक छाडेर भागेका छन् । मुलुकभर सञ्चालितमध्ये ९५ प्रतिशत सहकारी ध्वस्त भएका छन् । नभागेकाले पनि बचतकर्ताको रकम फिर्ता गर्न सकेका छैनन् ।

सहकारीहरू रातारात बचतकर्ताको रकम लिएर फरार भएपछि अहिले बैंकमा बचतकर्ताको लाम लागेको छ । उनीहरू सहकारीजस्तै बैंकले पनि आफ्नो रकम खाइदिने त होइन ? भनेर चिन्तित छन् । अहिले बैंकका कर्मचारी तथा सीइओले भटाभट राजीनामा दिएका छन् । आफू फस्ने डरले केही बैंकका कर्मचारीहरू सम्पर्कविहीन भएका छन् ।

अधिकांश व्यापार व्यवसाय संकटमा परेका छन् । महँगी, बेरोजगारी र गरिबीका कारण दिउँसै लुट्ने, चोर्ने र ठग्नेको संख्या ह्वात्तै बढेको छ । श्रीलंकाभन्दा पनि नेपालको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको सुनिन थालेको छ । मान्छेसँग खाने पैसा नै छैन भने उसले कसरी सरकारलाई कर तिर्छ ?

कसरी बैंकको ऋण तिर्छ ? मुलुकको अर्थतन्त्र डामाडोल हुँदासमेत विपक्षी दल एमाले अहिले पनि संसद् अवरोध गरिरहेको छ । मुलुकको अर्थतन्त्र उकास्नेतिर नलागी विपक्षी दल एमाले कसरी सरकार ढलाउन सकिन्छ भनेर सोचिरहेको छ । जनता ऋण तिर्न नसकेर आत्महत्या गर्न बाध्य भएका छन् । खाना नभएर भोकभोकै मरेका छन् । सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं मानिसहरू सडकमा उत्रिएका छन् । यसतर्फ एमालेको ध्यान गएको छैन ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एमाले कसरी सरकार ढाल्ने र आफ्नो कब्जा जमाउने भनेर लागिपरेका छन् । उनीहरूलाई देश र जनताभन्दा बढी सत्ताको लोभ छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा एमालेले नौ महिना सांसद अवरोध गरेको थियो । एउटा पनि विधेयक पारित गर्न दिएन । तर, जनताले रगत पसिना बगाई तिरेको करबाट सेवासुविधा लिन छाडेन ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जनताले एमालेलाई ७८ सिटमा खुम्चाइदिए । आगामी २०८४ सालको चुनाव एमाले, रास्वपा र राप्रपाका लागि किठन बन्ने निश्चित छ । यतिबेला मुलुक बचाउनतिर नलागी उनीहरू के कसरी सत्तामा पुग्ने भनेर संसद् अवरोध गरिरहेको जनतालाई मन परेको छैन । प्रत्येक नेपालीको टाउकोमा विदेशी ऋण ८० हजार पुगेको छ । तापनि राजनीतिक दलहरू यस्तो गम्भीर विषयमा छलफल गर्न लागेका छैनन् ।

एमाले अध्यक्ष केपी ओली राजनीतिक संघर्षका लागि १४ वर्ष जेल बसेका होइनन् । उनी मान्छे मारेर जेल बसेका हुन् । राजेन्द्र लिङ्देन कमल थापाको झोला बोकेर यहाँसम्म आइपुगेका हुन् । राजनीतिक दलका नेतामाथि हिलो छ्यापेर आफूलाई मात्र राम्रो देखाएर रवि लामिछाने राजनीतिक यात्रामा आएका हुन् । मतदाता जान्नेलाई छान्ने भन्ने नाराको भ्रममा पर्दा अहिलेको अवस्था आएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *