राजनीति

नेपालको राजनीतिमा ओलीपछि रवि लामिछाने निस्किए ‘पोस्टर ब्वाइ’

काठमाडौं । २०७२ मा पहिलोपटक प्रधानमन्त्री बन्दा एमाले अध्यक्ष केपी ओलीको चर्चा र लोकप्रियता दुवै उत्कर्षमा थियो । कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले दोस्रो संविधानसभाबाट संविधान जारी गरेलगत्तै ओली प्रधानमन्त्री निर्वाचित भएका थिए । तर नौ महिनामै ओलीको सरकार ढल्यो ।

संविधान जारी भएलगत्तै भारतले असन्तुष्टि जनाउँदै नेपालमाथि नाकाबन्दी लगायो । पाँच महिनासम्म भारतले नाकाबन्दी लगाउँदा नेपाल आर्थिक, सामाजिक रूपमा निकै संकटमा परेको थियो । त्यसबेला ओलीले भारतलाई नाकाबन्दी नखोलेसम्म आफू भारतको भ्रमणमा नआउने भनेपछि नाकाबन्दी खुलेको थियो । त्यसैले ओलीले राष्ट्रवादी नेताको पगरी गुथेका थिए ।

ओलीको त्यही राष्ट्रवादी छवि बोकेर २०७४ को निर्वाचनमा होमिएको एमालेले ८० सिट जितेको थियो । नेपाली कांग्रेस २३ सिटमा खुम्चिन पुगेको थियो । माओवादीले ३५ सिट जित्यो । त्यसबेला एमाले र माअ‍ोवादीबीच कार्यगत एकता भएको थियो । २०७४ को चुनाव र त्यसपछि बनेको एमाले–माओवादी सरकारको पालामा ओली निकै चर्चामा रहे । उनलाई २०१५ सालमा बीपी कोइरालापछि नेपालमा सर्वाधिक शक्तिशाली प्रधानमन्त्री भनेर परिचित गराइयो ।

कतिसम्म भने देशव्यापी रूपमा ओलीको पोस्टर राखियो । सरकार वा पार्टीले आयोजना गरेको कार्यक्रममा ओलीको पोस्टर र फ्ुलेक्स राख्ने गरिन्थ्यो ।राजतन्त्रकालमा पनि राजाहरूको त्यसरी पोस्टर र फ्लेक्स बन्दैनथ्यो । तर ओली जहाँ जहाँ कार्यक्रममा पुग्थे, त्यहाँ त्यहाँ उनको ‘डमी’ राख्ने गरिन्थ्यो । मानिसहरू उनकै ‘डमी’ तस्बिर खिचाउन पाउँदा दंग पर्थे । तर साढे तीन वर्षमै ओली नेतृत्वको शक्तिशाली सरकार ढल्यो ।

त्यसपछि क्रमशः ओलीको साख खस्किँदै गयो । पार्टी र बाहिर पनि ओली आलोचित हुन थाले । २०७९ मंसिरसम्म ओलीको अलिअलि क्रेज बाँकी नै थियो । जसकारण एमालेले राम्रै सफलता हात पार्न सफल भयो । तर यो सात महिनामा ओलीको ‘क्रेज’ सिनित्तै भएको छ । अर्थात् अहिले ओलीमा पहिले जस्तो ‘चार्म’ छैन ।

२०७९ मंसिरको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चर्चित भए । पहिले सांसद पद खारेज भएर उपनिर्वाचनमा पनि उनी भारी मतले विजयी भए । मंसिरको निर्वाचनपछि पुसमा रवि उपप्रधानमन्त्री एवं गृहमन्त्री बने । जम्मा ४२ दिन गृहमन्त्री बनेर उनले राजीनामा दिए ।

गृहमन्त्रीमा रहँदा उनले गरेका स्टन्टबाज पचाउन मुस्किल पथ्र्यो । वैशाखको निर्वाचनसम्म आउँदा रवि ‘पोस्टर ब्वाइ’ मा रूपान्तरण भइसकेका छन् । उनी जहाँ जहाँ पुग्छन् अहिले त्यहाँ त्यहाँ पहिले ओलीको झल्कोलाई बिर्साउने गरी पोस्टर र फ्लेक्स राख्ने गरिएको छ । सहरका चोक र गाडीगाडीमा रवि लामिछानेको पोस्टर र ब्यानर राख्ने गरिन्छ । त्यही भएर अहिले रविले ओलीबाटै पोस्टर र फ्लेक्स बनाउने सिकेको चर्चा हुने गरेको छ ।

त्यसै पनि रास्वपालाई एमालेको स्याटालाइट पार्टी भन्ने गरिन्छ । एमालेले जे जस्तो एजेन्डा र नारा बोक्छ, त्यसमा रास्वपाले हो मा हो मिलाउनेबाहेक छुट्टै देखिएको छैन । मिडिया र सामाजिक सञ्जालमा रास्वपा एमालेको स्याटालाइट पार्टी भयो भनेर आलोचना हुन थालेपछि अलिअलि उसले आफूलाई सुधार्ने प्रयास गरिरहेको छ । तर, एमाले ओलीमा जस्तो देखिएको पोस्टर र डमी मोहले रवि लामिछाने आफैंलाई बुमे¥याङ हुने खतरा बढी छ । किनकि अहिलेको सरकारले विपक्षी पार्टीलाई कुनै पनि एजेन्डा र नारा नदिने गरी सुशासनको पक्षमा काम गरिरहेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *