काठमाडौं । एमाले संसदीय दलको बैठक सकिएको छ । संघीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठकले सशक्त भएर संसदमा प्रस्तुत हुने निर्णय गरेको छ ।
एमालेले सुन तस्करी काण्डको छानबिनको माग गर्ने र मन्त्रीको जवाफ माग्ने निर्णय गरेको छ । यसअघि एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्ने तयारी गरेको समाचार आएको थियो ।
एक क्विन्टल सुन बरामद काण्डमा तथ्यगत रिपोर्ट के हो ? सरकारको आधिकारिक धारणा माग्ने एमाले दलको निर्णय छ । एमालेले सुनकाण्डलाई लिएर संसद् अवरुद्ध गर्ने चर्चा चलेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरू एमालेको मागमा पछि नलाग्ने स्पष्ट पारिसकेको छ ।
एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्री श्रेष्ठ सुनकाण्डमा मुछिएको भन्दै उनले पदबाट राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए । तर सदनमा एक्लो हुने अवस्था आएपछि एमाले लचिलो भएर प्रस्तुत हुने भएको छ । प्रतिनिधिसभा बैठक बुधबार दिउँसो २ बजेदेखि सुरु हुँदैछ ।





