राजनीति

एमालेको अल्पमत सरकार असमावेशी भए पनि किन सफल मानिन्छ ?

काठमाडौं । मनमोहन अधिकारी, भरतमोहन अधिकारी, सिपी मैनाली, राधाकृष्ण मैनाली, केपी ओली, माधव नेपाल, मोदनाथ प्रश्रित, प्रदीप नेपाल, पदमरत्न तुलाधर, अशोक राई, सुवास नेम्वाङ, भीम रावल, सलिममिया अन्सारी, प्रेमसिंह धामी र हरिप्रसाद पाण्डे ।

उल्लिखित नामहरू एमालेको २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा निर्मित अल्पमतको सरकारका सदस्यहरूको हो । जहाँ मनमोहन अधिकारीले र उनका सहोदर भाइ अर्थमन्त्री थिए । मैनाली दाजुभाइ पनि सहोदर हुन् । नेपाल, ओली, प्रदीप, मोदनाथ र पाण्डे ब्राह्मण हुन्। राई नेम्बाङ र पदमरत्न जनजाति हुन् । अन्सारी मुस्मि हुन् भने रावल र धामी क्षेत्री ।

महिला र दलितको उपस्थिति शून्य थियो । यहाँ कुनै पनि सन्तुलन, जातीय, क्षेत्रीय र भौगोलिक, लैंगिक हिसाब मिलेको छैन । आजको चेतना र परिवेशअनुसार घोर असमावेशी छ । वर्तमानको सन्दर्भमा बाहुनवादको घीनलाग्दो हरकत, नातावाद र क्षेत्रवादको भद्दा उपस्थिति थियो । प्रतिनिधित्वको सवालमा एकपाखे थियो । यद्यपि यो मन्त्रिमण्डललाई पनि सफल मन्त्रिमण्डल र लोकप्रिय सरकारको रूपमा हेरिन्छ ।

यसो किन भयो ?

कारण त्यतिबेला पार्टी पद्धति बलियो थियो । सातुपिठो खाएर भोट माग्थे । विचार र दृष्टिकोण स्पष्ट थियो । अनुशासन फलामे थियो । कम्युनिस्ट पार्टी चेन अफ कमान्डमा चल्थ्यो । पार्टी व्यापारी ठेकेदार, विचौलिया र दलालको चंगुलमा फस्ने क्रममा भए पनि पूर्णतया फसिसकेको थिएन । नेताकार्यकर्तामा कम्युनिस्ट,अनुशासन, चरित्र र शैली जीवित थियो ।

अनि केही गरेर देखाउने हुटहुटी बाँकी थियो । शक्ति सीमित थियो तर ऊर्जा र जोश भयंकर थियो । पार्टीमा त्यति धेरै हिलो मैलो र दुर्गन्ध फैलिएको थिएन । राजाको डर र तरबार पनि थियो । विपक्षी काङ्ग्रेस पनि एमाले हाराहारी कै शक्तिमा थियो । तर आज सबथोक छ । इमान छैन, नैतिकता र अनुशासन छैन, डर मान्नुपर्ने राजा छैनन् ।

शक्तिशाली विपक्षी छैन । अहिले असीमित शक्ति छ, तर सामर्थ्य देखिन्न । आन्तरिक द्वन्द्व र असक्षम पार्टी नेकपा बन्यो दुई तिहाइको सरकार चलाउन सकेन र जानेन। फोर्न जानेन भने नरिवल जति भए पनि के काम भयो र । विधि,पद्धति र पार्टी प्रणालीमा चल्दा कतिपय भूलचूकमा पनि परिणाम निकाल्न सकिन्छ । यसको अर्थ आजको समावेशी अधिकार र व्यवस्थाको विरोध होइन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *