अर्थ

मौद्रिक नीतिलाई अर्थशास्त्रीहरूको हरियो बत्ती

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई पुँजी बजारले स्वागत गरेको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ६३.२४ अंकले बढेको छ । नेप्सेको मापक बढेर २२२७ मा कायम भएको छ ।

आइतबार सबैभन्दा धेरै बैंकिङ उपसमूह बढेको छ । जसअन्तर्गत विकास बैंक १९५ र बैंकिङ ६५ अंकले बढेको छ ।
सरकारले ल्याएको चालू आर्थिक वर्ष २०८०–८१ को बजेट कार्यान्वयन गर्न राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको हो । राष्ट्र बैंकले नीतिगत दरमा सामान्य लचकता अपनाए पनि सेयर बजार र घरजग्गा कारोबारसम्बन्धी नीतिलाई निरन्तरता दिएको छ । राष्ट्र बैंकले नीतिगत दरमा सामान्य लचकता अपनाए पनि सेयर बजार र घरजग्गा कारोबारसम्बन्धी नीतिलाई निरन्तरता दिएको छ ।

राष्ट्र बैंकले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राख्दै नीतिगत दरमा सामान्य घटाएको छ । आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधारविन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको जनाएको छ । बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जारी मौद्रिक नीतिले जनाएको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई निरन्तरता दिएको छ । राष्ट्र बैंकले अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत् राखेको छ ।

चालू वर्षको मौद्रिक नीतिले अनिवार्य नगद मौज्दात ४ प्रतिशत, १२ प्रतिशत रहेको वैधानिक तरलता अनुपातलाई यथावत् राखेको छ । मौद्रिक नीतिले सञ्चालन लक्ष्यका रूपमा लिएको भारित औसत अन्तरबैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप संकलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप संकलन बोलकबोल खुला गरिने राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने व्यवस्था गरिने बताएको छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत् राखेको छ । चालू आवको मौद्रिक नीतिले विदेश जाने नेपालीले पाउने सटही सुविधा बढाएको छ ।

भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म १५ सय अमेरिकी डलर सटही सुविधा उपलब्ध गराइने व्यवस्थालाई बढाएर राष्ट्र बैंकले परिमार्जन गरी २५ सय अमेरिकी डलरसम्म उपलब्ध गराइने भएको छ ।

राष्ट्र बैंकले चालू आवमा निजी क्षेत्रमा जाने कर्जा ११.५ प्रतिशतले बढ्ने अनुमान गरेको छ । गत आवमा १२ प्रतिशतले कर्जा बढ्ने लक्ष्य अनुमान राष्ट्र बैंकले गरेको थियो । तर, गत वर्ष बैंक वित्तीय संस्थाको कर्जा लगानी ३.६ प्रतिशतले बढेको थियो । डेढ वर्षदेखि बिग्रेको अर्थतन्त्रलाई उकास्न राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिप्रति अर्थशास्त्री एवं सेयर व्यवसायीहरूले स्वागत गरेका छन् ।

अर्थशास्त्री रामेश्वर खनाल मौद्रिक नीतिका सीमा र सम्भावनाको व्याख्यासहित जसरी घोषणा गरिएको छ, यसले अहिले आउनुपर्ने जस्तैगरी नीति आएको बताएका छन् । ‘समष्टिगत रूपमा मौद्रिक नीतिको स्प्रिट ठीक छ । अरु अमूर्त घोषणाको बारेमा कार्यविधि र मार्गदर्शन नआइ केही भन्न मिल्दैन । एउटा घरसम्मका लागि कर्जा सहज बनाउनुपर्ने कुरा अस्भाविक र अनुपयुक्त होइन,’ उनको भनाइ छ ।

अर्का अर्थशास्त्री ज्ञानेन्द्र अधिकारी पनि मौद्रिक नीति स्वागतयोग्य रहेको बताउँछन् । ‘मौद्रिक नीति देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेको हुन्छ । अहिलेको धराशायी अर्थतन्त्र रिकभरी गर्ने भनेको मौद्रिक नीतिले नै हो,’ उनी भन्छन्, ‘देशमा मुद्रा प्रवाहलाई कुन अवस्थामा राख्ने भन्ने नीति हो ।

मान्छेको खल्तीमा कति पैसा पु¥याउने भन्ने कुरा मौद्रिक नीतिमा भर पर्छ । खुद्रा व्यापारी वा उद्योगी व्यवसायीको कसको हातमा बढी पैसा पु¥याउने भन्ने कुरा पनि मौद्रिक नीतिमै भर पर्छ ।’ सेयर व्यवसायी लक्ष्मीप्रसाद पौडेल यसपटकको मौद्रिक नीति औसतभन्दा माथि रहेको बताउँछन् । मौद्रिक नीति सार्वजनिक भएलगत्तै आइतबार पुँजी बजारमा देखिएको हरियालीले यसको संकेत गरेको उनको भनाइ छ ।

व्यवसायी प्रबलजंग पाण्डे पनि राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति उपयुक्त रहेको टिप्पणी गरेका छन् । ‘७.५ प्रतिशत नीतिगत दर ६.५ प्रतिशत पु¥याइएको छ, जसले निक्षेपको व्याजदर १ प्रतिशतले घट्ने र सम्रगमा कर्जाको व्याज दर पनि घट्ने छ,’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *