अर्थ

तस्करीको सुन बरामद हुँदा एमाले नेताहरूलाई १०८ डिग्रीको ज्वरो किन ?

काठमाडौं । नेपालमा पहिलोपटक एक क्विन्टल सुन (एक अर्ब मूल्य बराबर) बरामद भएपछि यसले चौतर्फी हंगामा मच्चिएको छ । जुन ढंगले अहिले सुन बरामद गरियो त्यसरी नै स्कुटरको ब्रेक शु एक महिनामै २२ पटक ल्याइसकिएको खुलेको छ । जसकारण सेटिङमै सुन तस्करी भइरहेको आमजनताको अनुमान छ । माथिसम्मको सेटिङ नभइकन यसरी केजीमा होइन, क्विन्टलमा ल्याउन सकिन्न भन्दै राजनीतिक दल र तिनका नेताहरू आक्रोशित भइरहेका छन् ।

त्यसमा पनि तस्करीको सुन बरामद भएकोमा सबैभन्दा धेरै छटपटी एमालेलाई देखिएको छ । एमालेका पदाधिकारीसहित तल्लो तहका नेता कार्यकर्तासमेत सुनकाण्डले तिलमिलाएको देखिएको छ । सामाजिक सञ्जालमा निरन्तर सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध एमाले नेता कार्यकर्ताले फायर नै खोलेका छन् ।

नक्कली भुटानी शरणार्थी र बालुवाटारको ललिता निवास जग्गा प्रकरणको फाइल खोल्दा पनि एमाले नेता कार्यकर्ता निकै आत्तिएका थिए । अहिले त उनीहरू गृहमन्त्री श्रेष्ठको राजीनामा नै माग गरिरहेका छन् । बुधबार रातिदेखि नै एमाले नेता कार्यकर्ता, पत्रकार, शिक्षक, वकिल सबै सामाजिक सञ्जालमा सरकार र माओवादीसँग भिडिरहेका छन् ।

बिहीबार एमाले महासचिव शंकर पोखरेलले सुन तस्करी काण्ड सरकारकै मिलेमतोमा भइरहेको उल्लेख गरेका थिए । नत्र यति धेरै परिमाणमा सुन बरामद हुन नसक्ने उनको भनाइ छ । शुक्रबार एमाले नेता सूर्य थापाले गृहमन्त्री श्रेष्ठले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन् ।

‘इन्टरनेसनल टर्मिनलको सारा कडा सुरक्षा जाँचपरीक्षण पार गरी सुन सकुशल सिनामंगलसम्म ट्याक्सीमा सवार हुन कसरी पुग्यो ? यसमा गृहमन्त्रीजीले जवाफदेही भएर छानविन प्रभावित नहोस् भनी स्वनिलम्बन÷राजीनामाको घोषणा गर्न अत्यन्त ढिलो भयो,’ थापाले फेसबुकमा लेखेका छन् ।

एमालेका अर्का नेता विष्णु रिजालले त एयरपोर्टका प्रमुख निकायमा माओवादी मन्त्रीहरूले सबै आफ्ना मान्छे फिट गरेकाले उनीहरूकै संलग्नता रहेको आरोप लगाएका छन् । ‘तस्करीको संरक्षण र सेटिङ सरकारबिना सम्भव छैन । सरकारमा को छ ? एयरपोर्टमा सुरक्षा के प्रतिपक्षले गर्छ र ? एमाले किन डराउनुपर्यो र ? आफै धामी आफै झाँक्री,’ एमाले प्रचार उपप्रमुख गगन विष्टले फेसबुकमा लेखेका छन् ।

नेपालमा हुने हरेक काण्डमा एमालेका नेता कार्यकर्ता मुछिने गरेका छन् । यसअघि यति, ओम्नी, वाइडबडी काण्डमा एमालेकै नेताहरू मुछिएका थिए । केपी ओली प्रधानमन्त्री भएका बेला ३३ किलो सुनकाण्ड बाहिर आयो । ४० जनाविरुद्ध मुद्दा चलाइयो । न त सुन बरामद भयो, न मुख्य लगानीकर्ता नै पक्राउ परे । चुडामणि उप्रेतीलाई बलिको बोको बनाएर सबै आरोपीलाई छोडियो । अहिलेको सुनकाण्डमा मुछिएका दीपक मल्होत्राको एमालेसँग निकै राम्रो सम्बन्ध छ ।

तीन दशकदेखि एमालेसँग राम्रो सम्बन्ध भएको र मल्होत्राकै एक अर्ब बढी मूल्यको सुन भएकाले पनि एमाले नेता कार्यकर्ता तिलमिलाएको हुन सक्ने आशंका गरिएको छ । मल्होत्रालाई तत्कालीन एमाले नेता वामदेव गौतमकै डिजाइनमा सुन व्यापारी बनाइएको थियो । त्यसबेला क्विन्टलका क्विन्टल सुन ओसार्ने गरेको समाचार आउने गरेको थियो ।


हङकङबाट शुक्रबार राति १० बजे एक क्विन्टल सुन काठमाडौं आएको थियो । ‘क्विन्टल सुनका ६ कार्टुन चार दिनसम्म भन्सार गोदाममा राखिएको थियो, सेटिङ निश्चित गरेपछि मंगलबार अपराह्न सवा ४ बजे मात्र बाहिर निकालिएको थियो ।

एमाले नेता कार्यकर्तालाई सुनकाण्डमा १०८ डिग्रीको ज्वरो आउनुको मुख्य कारण कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको नाम नौ केजी सुन बेपत्ता पारिएको घटनामा मुछिएको छ । यसबारे निरन्तर समाचार आइरहे पनि महरालाई अहिलेसम्म प्रहरीले सोधपुछ गरेको छैन । त्यसैले सरकारको नेतृत्व गरेकै नेता सुनकाण्डमा मुछिएकाले पनि एमाले नेता कार्यकर्ता आक्रोशित भएका हुन् । नौ केजी सुन गायब पार्ने समूहले महरासँग २२ पटक फोनकल, छोरा राहुलसँग १९५ पटक फोनकल गरेको रेकर्ड सार्वजनिक भइसकेको छ । तर सरकारकी प्रवक्ता रेखा शर्मा गलत मनशायले महराको नाम जोडियो भनेर बचाउ गर्दै गर्न थालेपछि प्रमुख प्रतिपक्ष आक्रोशित भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *