राजनीति

सुनकाण्डमा माओवादी नेताहरूमाथि नै शंकाको सुई

काठमाडौं । सत्तारुढ माओवादीका नेताहरू एकपछि अर्को गरी विभिन्न काण्डमा मुछिन थालेका छन् । यसअघि नक्कली शरणार्थी र ललिता निवास जग्गा हिनामिना प्रकरणमा आफ्नो पार्टीका नेताहरू नमुछिएको भन्दै माओवादी दंग पर्दै आएको थियो । तर पछिल्लो समय सुनकाण्डमा माओवादी वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षकै नाम मुछिएको छ ।


सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम कुनै तथ्यमा आधारित नभई गलत किसिमले आएको बताउनुले माओवादीमा यो विषय भुसको आगो झैं फैलिरहेको संकेत गर्छ ।

केही समयअघि एक चाइनिजले सुटकेशमा ल्याएको इलेक्ट्रिक चुरोट (भेप) मा लुकाइएको सुन नौ किलो भएको र त्यो सुनबारे माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महराले बिचौलियालाई सयौं कल गरेको रेकर्ड बाहिरिसकेको छ । यस विषयमा निरन्तर समाचारमाध्यममा समाचार आइरहेको छ । महराले सुरुमा समाचारको खण्डन गरे पनि तथ्यसहित आएको समाचारमा केही बोलेका छैनन् । माओवादीले समेत यसबारेमा केही बोलेको छैन ।

बुधबार हङकङबाट आएको एक क्विन्टल सुन प्रकरणमा माओवादीकै वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको नाम जोडिएको छ । एयरपोर्टबाट छुटेर सुन सिनामंगल आउँदा पनि गृहमन्त्रीले सूचना नपाउनुले सेटिङ नै भएको अनुमान छ । शुक्रबारको संसदीय समितिको बैठकमै कांग्रेस सांसद सुनिल शर्माले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरे ।
सामाजिक सञ्जालदेखि प्रमुख प्रतिपक्ष एमालेले पनि एक क्विन्टल सुन प्रकरणमा गृहमन्त्री श्रेष्ठमाथि शंकाको सुई तेर्साएको छ । सोही कारण अहिले सामाजिक सञ्जाल र बाहिर पनि एमाले नेताहरूले गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग गर्न थालेका छन् ।

सरकारमा बसेर माओवादीले शक्तिको दुरुपयोग गरिरहेको एमालेको आरोप छ । यसबारे माओवादीले औपचारिक रूपमा पार्टीको धारणा सार्वजनिक गरेको छैन । एकपछि अर्को पदाधिकारीकै नाम आउँदा पनि माओवादी मौन बस्नुले आशंका जन्माएको हो । तर माओवादीकै मन्त्री रेखा शर्माले भने थोरै खण्डन गरेकी छन् । उनले आफ्नो पार्टीलाई बदनाम गर्न खोजिएको जिकिर गरेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *