राजनीति

सेनाको संख्या घटाउने बहस निकाल्ने विमला र स्वर्णिम कहाँबाट परिचालित ?

काठमाडौं । ‘बेला न कुबेला बजी नेला’ भन्ने भनाइ नेपाली समाजमा प्रचलित छ । अहिले ठ्याक्कै नेपाली सेनाको संख्याको सन्दर्भमा यही उखान चरितार्थ भएको छ ।

नेपाली सेनाको संख्या घटाउनुपर्ने भन्दै बहस सुरु गर्ने पहिलो व्यक्ति हुन् एमाले सांसद विमला राई पौडेल । उनी राष्ट्रिय सभा सदस्य हुन् । करिब तीन महिना परराष्ट्रमन्त्रीसमेत भएकी पौडेलले किन एक्कासि नेपाली सेनाको संख्या घटाउने बहस निकालेकी हुन् भन्ने विषय खोजी हुन थालेको छ । जबकि यही विषयमा एमाले नेता सुरेन्द्र पाण्डेले आपत्ति जनाएका छन् ।

राष्ट्रियसभाको बैठक पनि सेनाको आकार कटौती गर्नुपर्ने कुरा बजेटको छलफलका क्रममा उठ्यो । राष्ट्रपतिबाट मनोनीत भए पनि एमाले सांसदकै भूमिकामा रहेकी पौडेलले सेनाको संख्या घटाउनुपर्ने र त्यसका लागि सरकारको धारणा माग गरेकी थिइन् । उनले भारत र चीनसँग युद्ध लड्न सक्ने होइन, किन चाहियो ९० हजार सेना भनेर प्रश्न गरेकी थिइन् ।

त्यसपछि प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको बजेटमाथि छलफलमा भाग लिँदै रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले प्रशासनिक खर्च कटौतीका लागि सेनाको संख्या घटाउन राष्ट्रिय सहमति आवश्यक रहेको बताएका थिए । सेना र प्रशासनिक क्षेत्रको संख्या घटाउन विषयमा अप्रिय नै भए पनि अघि बढ्नुपर्ने उनको तर्क थियो ।

‘अप्रिय नै भए पनि सुरक्षा निकाय र प्रशासनिक क्षेत्रको संख्या कटौती गर्न राष्ट्रिय सहमति आवश्यक छ । आकार घटाउन सहजीकरण राजनीतिक नेतृत्वले गर्नुपर्ने भए पनि भएको छैन । तर रचनात्मक छलफल गरौँ भने यसमा सुधारका बाटाहरू निस्कन्छ,’ वाग्लेले भनेका थिए, ‘प्रधानसेनापतिसँग कुरा गरेँ ।

द्वन्द्वअघि ४५ हजार रहेको सेना पछि ९० हजार पु¥याइयो । उहाँसँग कुरा गर्दा ६ हजार शान्ति सेनामा जाने अर्को ६ हजार रेडी गरेर राख्नुपर्ने, आठ÷आठ सयका दरले ७७ जिल्लामा राख्दा ५० हजार गयो । आठ हजार जति ट्रेनिङ गरेर भाग्दा रहेछन् । २० हजारले ३५ वटा जति रणनीतिक विकास निर्माणका काम गर्दा रहेछ । उता सशस्त्रको कुरा सुन्दा पनि उस्तै छ, सीमा सुरक्षाका लागि भन्ने छ । जनपथको आफ्नो कुरा छ ।’

रास्वपाकी सांसद सुमना श्रेष्ठले पनि सेनाको संख्या घटाउनुपर्ने तर्क प्रतिनिधिसभामा गरेकी थिइन् ।
अहिले यो विषयबारे सामाजिक सञ्जालमा बहस छेडिएको छ । खासगरी वाग्ले र राईले बेमौसममा सेनाको संख्या घटाउने विषय बोलेर कसको हितमा काम गर्न खोजेको भन्दै दुईथरी धारणा आइरहेको छ ।

बाहिर बसेर, जागिर खाएर आएका, पढेका, युएनका मिसनमा काम गरेकाहरू सेनाको संख्या घटाउनुपर्छ भनेर लागेका छन् । तर राष्ट्रवादी नेपाली जनता सेनाको संख्या नघटाए पनि बढाउन नहुनेमा एकमत छन् । संयुक्त राष्ट्रसंघका उपमहासचिव भइसकेका डा.कुलचन्द्र गौतमसमेत नेपाली सेनाको संख्या घटाउनुपर्छ भनेर लागेकाले यो विषय निकै रहस्यमय छ ।

वाग्ले विश्व बैंकमा काम गरेका व्यक्ति हुन् । उनकी श्रीमती भियतनामी हुन् । छोरो अमेरिकामा जन्मेको । युलियन्स स्कुल पढेको । वाग्लेकी श्रीमतीले अहिलेसम्म नेपाली नागरिकता लिएकी छैनन् । यसले नै बुझ्न सकिन्छ स्वर्णिमको स्वार्थ के हो भन्ने ।

विमला राई पौडेल लामो समयसम्म आईएनजीओमा लागेर प्रशस्त पैसा कमाएकी व्यक्ति हुन् । त्यही हरियो डलर कमाएरै उनले एमालेको राजनीतिमा प्रभाव पारेकी हुन् । केपी ओलीकै कारण सांसद हुँदै परराष्ट्रमन्त्रीसमेत बनेकी पौडेलले बोलेको कुरालाई एमालेमै आपत्ति जनाइएको छ । वाग्ले र पौडेलले बोलेका कुरालाई ती दुवै नेताका पार्टीले डिफेन्स गर्न नसक्नुले दुवैजना कतैबाट परिचालित भएका पो हुन् कि भन्ने प्रश्न उब्जेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *