काठमाडौं । कुनै समय नेपाली राजनीतिमा वामदेव गौतमको चर्चा निकै थियो । पचासको दशकमा राजनीतिको केन्द्रविन्दु नै वामदेव थिए । त्यसबेलाको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी एमाले विभाजन गर्न र २०५४ मा स्थानीय तहको निर्वाचन गराउँदा वामदेव नै गृहमन्त्री थिए । तर उनले गठन गरेको मालेले चुनावमा एउटा पनि सिट जितेन । अन्तमा उनी आफैं एमाले प्रवेश गरे । उनले एमाले फुटाएर माले लगेका धेरै अन्यत्रै लागे ।
अहिले वामदेव गौतम तत्कालीन नेकपाको बलमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए । पछि नेकपा विभाजन भएर एमाले र माओवादी अलग अलग भए । वामदेवले केही समयपछि एमाले त्यागेको घोषणा गरे । तर असारको पहिलो सातासम्म एमाले जान खुट्टा उचालेका वामदेव अहिले पनि निष्क्रिय भएका छन् । कुनै भूमिका देखिन्न । पैसा नै नभएकाले पार्टी संगठन विस्तार गर्न नसकेको बताउने वामदेव एमाले र एकीकृत समाजवादी प्रवेश गर्ने ‘च्याप्टर क्लोज’ भएको छ । उनी आफैंले त्यो स्वीकार गरेका हुन् ।
वामदेवले अब आफू कुनै पनि हालतमा एमाले नजाने बताएका छन् । सोमबार उनले एउटा अन्तर्वार्तामा आफ्नो राजनीति सिध्याउन केपी ओलीकै ठूलो भूमिका रहेको बताएका छन् । उनले २०७४ मा बर्दिया १ बाट चुनाव ओलीकै डिजाइनमा हराइएको आरोप पनि लगाएका छन् ।
आफूले मिडियामा प्रधानमन्त्री बन्न सक्छु भनेकैले चुनावमा हराइएको उनको भनाए छ ।
‘मैले २०७४ को चुनाव मात्र हारेको होइन। त्यसअघि पनि दुई दुई वटा चुनाव हारेको छु। मलाई राष्ट्रिय राजनीतिबाट सकाउन धेरैले षड्यन्त्र गरेका छन्। यसमा केपी ओलीको भूमिका बढी छ। नहार्ने चुनाव मैले हारेँ। छानबिन गरौँ भन्दा ओलीले चासो देखाउनु भएन। म अहिले पनि त्यहाँ (बर्दिया) का सबै मान्छे चिन्छु। तर मलाई सुनियोजित तरिकाले हराइएको थियो,’ वामदेवले भनेका छन् । आफ्नो राजनीति सिध्याउने ओलीकै पार्टीमा तत्काल प्रवेश नगर्ने उनको भनाइ छ ।
वामदेवले एकीकृत समाजवादीमा पनि नजाने संकेत गरेका छन् । माधवकुमार नेपालले प्रचण्डलाई वामदेवको उपादेयता राजनीतिमा सकिएको भनेको भन्दै आफू एकीकृत समाजवादीमा प्रवेश नगर्ने उनले स्पष्ट पारेका छन् ।‘केही समयअघि एकीकृत समाजवादीमा जाने कुरा गरेको थिएँ। त्यो पार्टीको कार्यालय नै गएर मैले कुरा गरेको हुँ। तर माधव नेपालले पनि मलाई जिम्मेवारी तोक्ने कुरामा खास जाँगर चलाउनुभएन। पछि छलफल गरौँला भन्नुभयो। त्यो पार्टीको एक धार मेरो विरुद्धमा लागेको मैले थाहा पाएकै थिएँ । त्यो जानीजानी किन प्रवेश गर्छु र ?’ उनले भनेका छन् ।




