काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मिटरब्याजसम्बन्धी विधेयकमा दोहोरो चरित्र देखाएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले विधेयक कार्यसूचीमा नराखेको भन्दै आपत्ति जनाए । उनले अर्को प्रतिनिधिसभाको बैठकमा मिटरब्याजसम्बन्धी विधेयक ल्याउन आग्रह गरे । नल्याए संसद् चल्न नदिने चेतावनी दिए ।
उनका अनुसार आगामी बैठकमा मिटरब्याजसम्बन्धी विधेयक राखिएन भने राष्ट्रिय स्वतन्त्र पार्टीले सदन चल्न नदिने भएको छ । ‘यसपछि बस्ने बैठकमा यदि कार्यसूचीमा मिटरब्याजपीडितहरुको पक्षमा ल्याउन खोजिएको विधेयकलाई ल्याइएन भने पूर्वसूचना गरिरहेका छौं कि सदन चल्न सक्दैन,’ लामिछानेले भने, ‘जनतालाई रुवाएर त्यसबारे मौन बसेर सदन चल्न सक्दैन ।’
सरकारले गत वैशाख २० गते ल्याएको मिटरब्याजसम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २४ वैशाखमा प्रतिनिधिसभामा पेस भएको थियो । अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ६० दिनभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ । त्यसअनुसार असार २० गतेसम्म प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने थियो । तर, एमाले, रास्वपा र राप्रपाले सदन चल्न नदिएका कारण मिटरब्याजसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन विधेयक पारित हुन सकेको थिएन ।
विगतमा सदन चल्न नदिएर मिटरब्याजपीडितको विपक्षमा उभिएको भनी आफूहरुलाई आरोप लगाएको उल्लेख गर्दै रास्वपा सभापति लामिछानेले आफूहरु मिटरब्याजपीडितकै पक्षमा रहेको दाबी गरे । सरकारले विधेयक ल्याए १५ दिनभित्र पारित गर्ने गरी फास्ट ट्रयाकमा अगाडि बढाउन आफूहरु तयार रहेको उनले बताए । रास्वपाले अब आफूलाई एमालेको उपग्रहबाट अलग बनाउन खोजेको रविको भनाइले संकेत गरेको छ ।




