काठमाडौं । १० महिनाअघि पर्यटन मन्त्रालयमा कार्यरत ‘गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोरीद्वारा रंगेहात समातिए । यो घटनाले निजामती क्षेत्रमा ठूलो तहल्का मच्चियो । सिंहदरबार क्षेत्र परिसरमै उपसचिव घुससहित पक्राउ पर्नु सामान्य विषय थिएन ।
छोटो अवधिमै नेपालले करोडौंको सम्पत्ति जोडिसकेको अनुसन्धानका क्रममा पत्ता लाग्यो । अख्तियारले यसअघि स्टिङ अप्रेसनका नाममा साना कर्मचारी पक्राउ गर्दै आएको थियो । तर उपसचिव तहकै कर्मचारी २२ लाख घुससहित पक्राउ पर्नुले निजामती कर्मचारी क्षेत्रमा तरंग नै सिर्जना गरेको थियो । अख्तियारले अवकाश पाइसकेका, पूर्वकर्मचारीलाई भ्रष्टाचार मुद्दा लगाउँदै आएकोमा बहालवाला उपसचिवविरुद्ध नै मुद्दा दर्ता गरेको छ ।
पछिल्लो समय एकजना नायब सुब्बा सुन तस्करीमा पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्का विद्युतीय चुरोटभित्र राखेर नौ किलो सुन तस्करी गरेको आरोपमा अख्तियारको फन्दामा परेका हुन् । भन्सारका नासुस खड्काकी प्रेमिकाको खातामा ३० लाख रकम भेटिएको अनुसन्धानमा संग्लग्न प्रहरी अधिकारीहरुले जनाएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले २०७९ पुस १० गते बरामद गरेको विद्युतीय चुरोटभित्र सुन रहेको थाहा पाएपछि मुद्दा तथा लिलामी शाखाका नायब सुब्बा खड्काले उक्त सुन विचौलियासँग मिलेर साटफेर गरेर न्यूरोडमा विक्री गरेका थिए । सुन बाहिर लगेर उनीहरुले अर्कै ब्राण्डको इ–सिगरेट राखिदिएका थिए । नासु खड्काले सुन चोरी गर्न सघाएवापत विचौलिया दिनेशबाट ७५ लाख रुपैयाँ लिएको ३० लाख रुपैयाँ प्रेमिकाको कृषि विकास बैंक र बैंक अफ काठमाण्डूको खातामा जम्मा गरिएको अनुसन्धानमा संग्लग्न प्रहरी अधिकारीहरुले जनाएका छन् ।
१९ वर्षकै उमेरमा सुब्बामा नाम निकालेका खड्का एक वर्षदेखि गौचरस्थित भन्सार कार्यालयमा कार्यरत थिए । सात वर्षअघि राजस्व समूहतर्फ नायव सुब्बामा नाम निकालेका उनी छिटो धनी हुने र काठमाडौंमा घर घडेरी जोड्ने चाहनाले प्रहरीको खोरमा पुगेका छन । खड्का त्रिभुवन विमानस्थलको भन्सार कार्यालय पुग्नभन्दा पहिला राजस्व अनुसन्धान विभागअन्तर्गतको कार्यालयमा कार्यरत थिए ।
गत माघमा चीनबाट आएको ७३० बाक्सा इलेक्ट्रिक चुरोट गैरकानुनी ठहर गर्दै भन्सार कार्यालयले जफत गरेको थियो । विमानस्थलको गोदाममा थन्क्याइएको उक्त बाक्सा साटेर खड्काले त्यहाँको सुन निकालेर न्युरोडमा बेचेको तथ्य खुलासा भएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिव टेकनाराण पाण्डे नै पक्राप गरे । उनी पनि चाँडै धनी हुने लोभमा चिसो छिँडीमा परेका हुन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सञ्चार सचिव कृष्णबहादुर राउतसहित आधा दर्जन सरकारी कर्मचारी पक्राउ परेका छन् । त्यसमा अधिकांश मालपोत र नापी कार्यालयका कर्मचारी छन् ।




