काठमाडौं । नेपालमा कम्पनी, कार्यालय र भौतिक उपस्थिति नै नभएका गुगल, फेसबुकको मातृ कम्पनी मेटा, युट्युब, टिकटकलगायत पहिलोपटक करको दायरा आएका छन् । यी कम्पनीले भौतिक उपस्थितिविनै नेपालबाट अर्बौं रुपैयाँ लैजाँदै आएका थिए । तर अहिले मेटा, युट्युब, टिकटकलगायतका नौवटा कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएर कर तिरेका छन् ।
आन्तरिक राजस्व विभागका अनुसार असार २५ गतेसम्म नौवटा कम्पनीमध्ये केहीले नौ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) तिरेका छन् । चालू आर्थिक वर्षदेखि सरकारले आर्थिक ऐनमै व्यवस्था गरेर नेपालमा कारोबार गर्ने गैरबासिन्दा व्यक्ति तथा कम्पनीले कर तिर्नुपर्ने व्यवस्था गरेको थियो । ऐनअनुसार गुगल, फेसबुक, युट्युबलगायतका कम्पनीले नेपालबाट गरेको कारोबारको २ प्रतिशतका दरले विद्युतीय सेवा कर (डीएसटी) तिर्नुपर्छ ।
यो व्यवस्थालाई कार्यान्वयन गर्न विभागले छुट्टै निर्देशिका र सफ्टवेयर बनाएर कम्पनीहरूलाई सहजीकरण गरिदिएपछि विदेशी कम्पनीहरूलाई नेपालमै आउन नपर्ने गरी अनलाइन स्थायी लेखा नम्बर (प्यान) उपलब्ध गराएको र कर पनि डलर खातामा विदेशबाटै तिर्न मिल्ने व्यवस्था मिलाएको छ ।
विश्वभर डिजिटल सेवा उपलब्ध गराउने बहुराष्ट्रिय कम्पनीलाई नेपालको कर प्रणालीबारे जानकारी गराएर उनीहरूको कार्यालय भएकै देशबाट कर तिर्ने व्यवस्था मिलाएर नेपालले विदेशी अरू लगानीकर्ताको पनि ध्यान तान्न सफल भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।




