काठमाडौं । एमालेमा अहिलेको सरकार ढालेर नयाँ सरकार बनाउने विषयमा दुईथरी मत देखिएको छ । केही दिनयता पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जसरी पनि राजीनामा गराएर छाड्ने मनस्थितिमा देखिएका थिए । तर सोमबारदेखि सदन खुलाएर उनले लचकता देखाएका छैनन् ।
त्यति मात्र होइन, उनले अहिले एमालेको प्राथमिकतामा सरकार नरहेको भन्दै २०८४ को निर्वाचनलाई मिसन बनाएको उनको भनाइ छ । ओलीले टेका लिएर सरकार बनाउने खेलमा आफूहरू नरहेको बताएका छन् । बागमती प्रदेश कमिटी बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले आफूहरू अब मिसन २०८४ मा लागेको बताए ।
‘अहिलेको सरकारको तागत झूट बोल्ने, अफवाह फैलाउने मात्रै हो । गठबन्धनका मान्छेहरूको त्यही देखिन्छ । त्यसैले उनीहरू यो गठबन्धन कायम राख्न चाहन्छन् अहिले उनीहरू उस्तैउस्ताहरू मिलेका छन् । हामीलाई सरकारमा जान हतारो नभएको होइन हामीले त्यता हेरेको पनि छैनौं । सोचेका पनि छै्रनौं,’ उनले भने, ‘हामी ग्रासरुटमा लाग्यौं । अहिले हामी अब मिसन ०८४ र मिसन ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउनेतिर लागेका छौं । यो सरकार बनाउने, जोगाउने खिचलोमा लाग्ने फुर्सद छैन । हामीलाई यता र यताको टेको खोज्यो गर्नु छैन ।’
कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको बताउनुले केही समयका लागि प्रचण्ड नेतृत्वको सरकार थमौतीमा परेको विश्लेषण गर्न थालिएको छ । राजनीतिक वृत्तमा प्रचण्डले एक वर्ष प्रधानमन्त्रीको कुर्सीको आयु लम्ब्याएको चर्चा छ ।
बालुवाटारको ललिता निवासको जग्गा र नक्कली भुटानी शरणार्थी प्रकरण चाँडै निष्कर्षमा नपुग्ने भएकाले पनि प्रचण्डको कुर्सीको आयु लम्बिएको एमाले नेताहरूको बुझाइ छ । बीचमै फाल्दा माओवादीप्रति सहानुभूति बढ्ने र त्यसको असर २०८४ को चुनावमा पर्ने विश्लेषणसहित तत्कालका लागि एमाले नरम बनेको छ । मंगलबार ओलीको बोलीले पनि त्यसको पुष्टि गरेको छ ।
तर एमालेका महासचिव शंकर पोखरेल भने ओलीको भन्दा ठीक विपरीत धारणा व्यक्त गर्छन् । उनले प्रचण्ड नेतृत्वको सरकारलाई टिकाइरहनुको कुनै अर्थ र औचित्य नरहेको टिप्पणी गरेका छन् । सोमबार एमाले निकट एक दैनिक अखबारमा लामो अन्तर्वार्ता दिँदै पोखरेलले कांग्रेस र एमाले नमिली सुखै छैन भनेका छन् ।
उनले अहिलेको समस्याबाट पार पाउन पनि कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने र जनतालाई स्थायित्वको विश्वास दिलाउनुपर्ने उनले भनेका छन् । कांग्रेस संसदको पहिलो ठूलो दल र एमाले दोस्रो ठूलो दल हुन् । पोखरेलले कांग्रेस र एमाले मिलेर गएमा अहिले देखिएका सबै समस्या समाधान मात्र होइन, नयाँ खुलेका दलका लागि पनि एजेन्डा खत्तम हुने उनले बताएका छन् ।
पोखरेलले कांग्रेससँग एमाले मिल्नु पर्छ भनेको अहिलेको गठबन्धन तोड्नु हो भन्ने सजिलै बुझिन्छ । त्यो भनेको कांग्रेस र एमालेको संयुक्त सरकार हो । कांग्रेस र एमाले मिलेमा सात प्रदेशसहित संघ गरी आठवटै सरकार सहजै बन्ने छ । केही समययता कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच नयाँ समीकरणबारे कुराकानी भइरहेको रहस्य बाहिरिएपछि एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीको प्राथमिकतामा सरकार नरहेको भनेर विषयान्तर गर्न चाहेको देखिएको छ ।




