काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र एमाले सांसद गोकुल बास्कोटाले प्रधानमन्त्रीले गम्भीर गल्ती गरेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै लामिछानेले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा गम्भीर गल्ती रहेको बताए । उनले आफूलाई सभामुखले हेपेको आरोप लगाए ।लामिछानेले आफ्नो पार्टीलाई एजेन्डा राख्नै नदिएको बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रचण्डले राजीनामा दिनुपर्ने बताएका छन्। आफूहरुको दबाबले होइन, आफ्नै नैतिकताका लागि राजीनामा दिनुपर्ने बताएका छन्। ‘राजीनामा दिनेरनदिने हाम्रो दबाबको कुरा होइन। प्रधानमन्त्रीको नैतिकताको कुरा हो। यो भन्दा ठूलो नैतिकताको कुरा हुन सक्दैन,’ उनले भने ।
एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्तास्वार्थका निम्ति देशको सार्वभौमसत्ता साट्न नसकिने बताएका हुन्। ‘एक माघले जाडो जाँदैन, राजनीतिमा एकले अर्कालाई वाच गरिरहेको हुन्छ भन्ने कुरा स्मरण गराउन चाहन्छु। उहाँले राजीनामा दिनुपर्छ, हाम्रो भनाइ त्यही हो।
उहाँले एक्सक्युज गर्नुपर्छ। उहाँको भनाइ स्पष्ट रूपमा हामीलाई, यो सार्वभौम संसद्लाई, यसमार्फत दुई करोड ९१ लाख नेपाली जनतालाई आश्वस्त पार्ने खालको आउँछ कि आउँदैन, हाम्रो पर्खाइ त्यो हो,’ उनले भने, प्रधानमन्त्रीज्यूले संसद्लाई स्पष्ट पार्नुपर्दछ। उहाँले सक्नुहुन्छ भने देशका लागि उभिने आँट गर्नुस्। पद छोडिदिनुस्। सत्तास्वार्थको निम्ति देशको सार्वभौमसत्ता साटिँदैन।’




