देश

पाँच वर्षका लागि ६० लाख पासपोर्ट छाप्दै सरकार

काठमाडौं । सरकारले पाँच वर्षका लागि ६० लाख पासपोर्ट छाप्न लागेको छ । परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रिपरिषद्ले ६० लाख पासपोर्ट छपाइको निर्णय गरिसकेको जानकारी दिएका छन् ।

मुलुकमा पासपोर्टको अभाव हुन नदिन पाँच वर्षका लागि ६० लाख पासपोर्ट छपाइको निर्णय भएको उनको भनाइ छ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा मन्त्री साउदले पासपोर्ट खरिदको निर्णय टेन्डर प्रक्रियामा जान लागेको जानकारी दिए ।

‘पासपोर्ट जुनसुकै बेला पनि अभाव हुनसक्ने गर्न हुन्न भनेर लामो अवधिका लागि पासपोर्ट छपाइ गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ,’ उनले भने, ‘पाँच वर्षलाई पुग्ने गरेर लगभग ६० लाख पासपोर्ट छाप्ने निर्णय गरिएको छ । यो निर्णय अब टेन्डरको प्रक्रियामा जानकारी समितिलाई गराउँदछु ।’

अहिले मौज्दात रहेका पासपोर्टबाहेक थप ६० लाख प्रति पासपोर्ट छपाइको निर्णय हुन लागेको उनले बताए ।
मन्त्री साउदले परराष्ट्र मन्त्रालयको पुनःसंरचना आवश्यक रहेको पनि बताए ।

अहिलेको अवस्थाको मन्त्रालयको संरचनाले देश र जनताका लागि धेरै काम गर्न नसक्ने उनको भनाइ छ । मन्त्री साउदले खाली रहेका दूतावास र नियोगहरूमा राजदूत नियुक्तिका लागि प्रक्रिया थालिने जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *