काठमाडौं । पाँच दिनदेखि लगातार अवरुद्ध प्रतिनिधिसभा बैठक सुचारु हुने भएको छ । सोमबार दिउँसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन् ।
आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक नयाँदिल्ली गएको भन्ने अभिव्यक्तिले प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा बस्नयोग्य नभएको भन्दै एमालेले संघीय संसदको दुवै सदन अवरुद्ध गर्दै आएको छ ।
आइतबार र सोमबार लगातार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकले अवरुद्ध संसद् खुलाउने सहमति गरेको हो । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदबारको भेटवार्ता सकिएलगत्तै प्रधानमन्त्री प्रचण्डले आफू संसदमा बोल्न जान लागेको प्रतिक्रिया दिए । अहिले संघीय संसदको ल्होत्से हलमा एमाले संसदीय दलको बैठक बस्दैछ ।
शीर्ष नेताको बैठकबारे विस्तृतमा कुनै जानकारी दिइएको छैन । एमाले अध्यक्ष केपी ओलीले संसद् बैठकमै सबै थाहा हुने प्रतिक्रिया दिएका छन् । संसदीय दलको बैठकपछि मात्रै एमालेको आधिकारिक धारणा सार्वजनिक हुने बुझिएको छ । तर बैठकमा प्रचण्डले आफूले दिएकाे अभिव्यक्तिमा गल्ती भएकाे संसदमा जवाफ दिने भएका छन् । त्यसपछि एमाले संसद् खुलाउन तयार भएकाे स्राेतले जनाएकाे छ ।




