काठमाडौँ । जापानले चाँडै आफ्नो निष्क्रिय आणविक प्लान्टबाट प्रशान्त महासागरमा प्रशोधित रेडियोधर्मी पानी छोडने भएको छ । यसका लागि संयुक्त राष्ट्रसंघको न्यूक्लियर वाचडगबाट पनि स्वीकृति लिइसकेको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएईए) का प्रमुख राफेल ग्रोसी मंगलबार जापान आइपुगेका छन् ।
यसक्रममा उनले प्रधानमन्त्री फुमियो किशिदालाई भेटेर सुरक्षा समीक्षा गरेका थिए । आईएईएले रेडियोधर्मी पानी छोड्ने जापानको योजना सुरक्षा मापदण्ड अनुसार सही रहेको बताएको छ । तर, जापान र चीनलगायत धेरै देशमा तटीय क्षेत्रमा बसोबास गर्ने मानिसले यसको विरोध गरिरहेका छन् ।
सन् २०११ को सुनामीले फुकुशिमा आणविक संयन्त्रको शीतलन प्रणाली ठप्प भएको थियो । जापानको माछा मार्ने उद्योग र नागरिक समाज समूहहरूले पनि प्रशान्त महासागरमा १३२ करोड लिटर पानी छोड्ने बारे चिन्ता व्यक्त गरेका छन् । वास्तवमा सन् २०११ मार्चमा आएको सुनामीका कारण फुकुसिमाको आणविक केन्द्रको चिसो र बिजुली प्रणाली ठप्प भएको थियो । गर्मीका कारण त्यहाँ रहेका तीनवटा रिएक्टरको कोर पग्लिएको थियो, जसका कारण ठूलो मात्रामा विकिरण फैलिएको थियो ।
परमाणु संयन्त्रबाट पानी छोड्ने योजना २०२१ मा घोषणा गरिएको थियो । अबको २ वर्षमा यो काम सुरु हुने भनिएको थियो । जापानको नियामक निकायले ३० जुनमा नै निरीक्षण पूरा गरेको थियो । संयुक्त राष्ट्रसंघको छानबिनपछि प्लान्टको हेरचाह गर्ने कम्पनी टेप्कोले एक साताभित्र पानी छोड्न स्वीकृति पाउन सक्नेछ ।
यस पछि तिनीहरूले कुनै पनि समयमा पानी छोड्न सुरु गर्न सक्छन् । तर, यसका लागि कुनै मिति घोषणा गरिएको छैन । पानीलाई समुन्द्रमा फ्याँक्न धेरै दशक लाग्ने छ । यसलाई १ किलोमिटर पाइपबाट निकालिनेछ ।
यो आणविक प्लान्टको मर्मत सम्भार गर्ने कम्पनी टोकियो इलेक्ट्रिक पावर (टेप्को) ले प्लान्टमा रहेको पानीलाई प्रशोधन गरेर एक हजार ट्याङ्कीमा भण्डारण गरिएको बताएको छ । यो पानीको मात्रा ५ सय ओलम्पिक आकारका स्विमिङ पुल भर्न पर्याप्त रहेको तथ्यबाट अनुमान लगाउन सकिन्छ । यो पानी त्यहाँबाट निकाल्नु पनि आवश्यक छ ताकि परमाणु संयन्त्रलाई नष्ट गर्न सकोस् ।
रेडियोधर्मी पदार्थ ट्रिटियम अझै पनि पानीमा अवस्थित छ । जापानको विदेश मन्त्रालयका अनुसार समुन्द्रमा छाड्नुअघि पानी सफा गरिएको छ । यद्यपि, धेरै रिपोर्टहरू अनुसार, यसमा अझै पनि ट्रिटियमको कणहरू छन् । ट्रिटियम एक रेडियोधर्मी पदार्थ हो, जसलाई पानीबाट अलग गर्न धेरै गाह्रो छ । यस्तो अवस्थामा यो सम्पर्कमा आउँदा खासै नोक्सान हुँदैन तर कसैको शरीरमा धेरै मात्रामा गएमा यसले क्यान्सरजस्ता रोग निम्त्याउन सक्छ ।
जापानमा आणविक प्लान्टको पानी र फोहोर सामग्री धेरै वर्षदेखि समस्या भएको छ । दक्षिण कोरिया, चीन र अष्ट्रेलियाले प्रशान्त महासागरमा पानी छोडने निर्णयप्रति विरोध गरेका छन् । यसैबीच जापानले अन्तर्राष्ट्रिय मापदण्डका आधारमा ट्रिटियमको मात्रा घटाएर मात्रै पानी निष्कासन गर्ने आश्वासन दिँदै आएको छ ।
जापानको प्रशान्त सागरमा यसरी परमाणु उर्जा केन्द्रको पानी छोड्ने डरको कारण जायज छ । न्यूयोर्क टाइम्सका अनुसार सन् १९४० को दशकमा अमेरिका, बेलायत र फ्रान्स जस्ता देशहरूले दक्षिण प्रशान्त क्षेत्रमा एकपछि अर्को धेरै परमाणु परीक्षण गरेका थिए । यसको मार अझै पनि मार्शल टापुमा बस्ने मानिसहरूले भोगिरहेका छन् ।
तर, आणविक परीक्षणका लागि प्रयोग गरिने पानी र समुद्रमा आणविक रिएक्टरलाई चिसो पार्ने बीचमा भिन्नता छ । यद्यपि यसको प्रभावलाई नकार्न सकिँदैन । २०११ को सुनामी पछि, दक्षिण कोरिया जस्ता धेरै देशहरूले सुरक्षा कारणहरूका लागि फुकुसिमाबाट समुद्री खाना र अन्य खाद्य वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएका थिए ।




