राजनीति

सबैको ध्यान कोसीमा, नयाँ सरकार बन्ने सम्भावना कति ?

काठमाडौं । एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखले दलहरूलाई आज अपराह्नसम्म नयाँ सरकार गठनका लागि दाबी पेस गर्न समय दिएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार साँझ ५ बजेसम्मका लागि पाँच दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनको आह्वान गरिसकेका छन् । तर, सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनसँग बराबर मत हुँदा कोसीको राजनीति रोचक बन्ने देखिएको छ ।

एमाले(राप्रपासँग ४६ र कांग्रेस–माओवादीसहितको गठबन्धनसँग पनि समान ४६ मत छ । राप्रपाले सत्ता गठबन्धनले आफ्नो दलसँग सहकार्य नगरी मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेको भन्दै सघाउने संकेत गरेको छैन । एमालेले पनि समान मत रहेको खण्डमा उपधारा ३ मा लगेर ठूलो दलको हैसियतमा सरकार गठनको तयारीलाई तीब्र पारेको छ ।

सत्ता गठबन्धनको निर्णयमा कांग्रेसले उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको छ । आज उनले माओवादीबाट सभामुख बनेका बाबुराम गौतमले पनि मतधिकारको प्रयोग गर्ने दाबीसहित उनको नामसमेत समावेश गरी नयाँ सरकार गठन गर्न दाबी पेस गर्दैछन् । तर एमालेले सभामुखलाई मताधिकार दिने अधिकार नभएको भन्दै विरोध गरिरहेको छ ।

संविधानतः सभामुख कुनै पनि दलका सांसद होइनन् । सभामुख चयन भइसकेपछि उनले दल त्याग गर्नुपर्ने कानुनी व्यवस्थाका कारण दल त्याग गरिसकेका छन् । तर, कांग्रेस–माओवादीले भने उनलाई निर्वाचन आयोगले माओवादीकै सांसदको रुपमा चिन्ने भन्दै मुख्यमन्त्री चयनका लागि निर्णायक मानेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङ जनता समाजवादी पार्टीका नेता भएकाले पनि यसको प्रभाव पर्ने आशंका गरिएको छ । तर, संवैधानिक सर्वोच्चताभन्दा दलीय चक्र नहुने भएका कारण कोसीमा संवैधानिक संकट देखापर्ने खतरा बढेको छ ।

सभामुखले मतदान गर्न पाउने अवस्था भनेको प्रदेशसभा सदस्यले मुख्यमन्त्रीको पक्ष–विपक्षमा मतदान गर्दा समान मत भएमा मात्रै हो । मुख्यमन्त्रीको पक्षमा समान ४६ मत आएमा मात्रै सभामुखले निर्णायक मतदान गर्ने कानूनी व्यवस्था छ ।

तर, कांग्रेस–माओवादीसहितका गठबन्धन दलहरुले भने सभामुखले सुरु अवस्थादेखि नै भूमिका खेल्ने कुरा उठाइरहेका छन् । त्यसैले आज कांग्रेसका थापा नयाँ मुख्यमन्त्री कसरी नियुक्त हुन्छन् भन्ने सबैको चासो छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *