काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी हरेक विषयमा भाइ एमाले सावित हुँदै गएको छ । आफूलाई चल्तीका दलभन्दा भिन्न भन्दै रवि लामिछानेले एक वर्षअघि रास्वपा स्थापना गरेका थिए ।
सञ्चार क्षेत्रबाट आएकाले पनि रविप्रति धेरैको आकर्षण देखियो । सोही कारण मंसिरमा सम्पन्न निर्वाचनमा सात र वैशाखमा भएको उपनिर्वाचनमा एक गरेर प्रत्यक्षमा आठ सिट जित्न सफल भयो । रवि अहिले आगामी २०८४ को निर्वाचनमा आफ्नो दलले सरकार बनाउने भनेर हिँडिरहेका छन् ।
प्रधानमन्त्री बन्ने सपना देखेका रवि हरेक एजेन्डामा केपी ओलीका अनुयायी भएका छन् । त्यही भएर अहिले रास्वपालाई एमालेको उपग्रह र भाइ एमाले भनेर भन्न थालिएको छ । हुन पनि हरेक घटनामा एमालेसँगै जोडिने गरेको छ । मंसिर पछिको निर्वाचनमा केपी ओलीलाई गाली गरे, तर तिनै ओलीले भनेअनुसार गठबन्धनमा बसेर रविले प्रचण्डलाई प्रधानमन्त्री बनाए । आफू उपप्रधानसहित गृहमन्त्री बने । पछि एमालेले प्रचण्डलाई दिएको समर्थन फिर्ता लियो । र, सरकारबाट बाहिरियो ।
रास्वपाले केही दिनसम्म सरकारलाई दिएको समर्थन कायम राखिराख्यो । जब वैशाख १० गतेको उपनिर्वाचनमा चितवन २ र तनहुँ २ मा निर्वाचन जित्यो, त्यसपछि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेसँगै विपक्षमा बस्यो ।संसदमा एमालेले जे जे नारा र माग राख्छ, त्यसमा रास्वपाका सांसदहरूले होमा हो मिलाउँदै आएका छन् ।
प्रधानमन्त्री प्रचण्ड भारतबाट फर्केर आएपछि एमालेले संसदमा बबण्डर मच्चायो । रास्वपा पनि एमालेकै सांसदको लाइनमा उभिएर नाराबाजीमा लागे । जे जे एमाले सांसदले भन्थे, रास्वपा सांसदको अभिव्यक्ति पनि त्यही त्यही हुन्थ्यो । पछि सर्वत्र आलोचना भएपछि रविले माफी नै मागे । यही ढंगले अघि बढे २०८४ को निर्वाचनमा गोबरभन्दा बढी हात नपर्ने महसुस गरे ।
अहिले फेरि रास्वपा एमालेकै पथमा हिँडेको छ । प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक नयाँदिल्ली धाएको भनेर दिएको अभिव्यक्तिले प्रतिनिधिसभा तातेको छ । सोही अभिव्यक्तिको विरोध गर्दै एमालेले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । प्रतिनिधिसभा बैठक पनि सञ्चालन हुन नसकी स्थगन गरिएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका कारण आधा घन्टाका लागि स्थगित भयो ।
प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमाले नेता रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामाको माग गरे । उनले मुलुकको सार्वभौमसत्ताविरुद्ध बोल्ने प्रधानमन्त्री चाहिएको होइन, नेपाली जनतालाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको बताए । त्यसपछि सबै एमाले सांसद उठेपछि सभामुखले बैठक स्थगित गरे । एमाले सांसदसँगै रास्वपाका सांसद पनि उठे । र, नाराबाजी गर्न थाले ।
एमालेले प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएको निष्कर्ष निकाल्दै संसदमा जवाफ दिनुपर्ने माग गरेको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचेतक महेश बर्तौलाले प्रचण्डले प्रधानमन्त्रीको पदमा बस्ने हैसियत गुमाएको बताए ।
‘प्रधानमन्त्रीले संसद्माथि गरेको अपमान, जनादेशमाथि गरेको अपमान देशको सार्वभौमसत्ता, स्वाभिमानमाथि गरेको आक्रमणको बारेमा हामीले धैर्यताका साथ संसद्मा भूमिका निर्वाह गर्नेछौं । संसद्मा जोडदार साथ राख्ने । प्रधानमन्त्रीको निजी विषय होइन,’ उनले भने, ‘देशको स्वाभिमान, जनादेशसँगको विषय हो । यो सामान्य विषय नभएकाले बैठक अवरुद्ध हुनसक्छ । उहाँले राजनीतिक हिसाबले, नैतिक हिसाबले, सबै हिसाबले उहाँले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएको परिस्थिति देख्छौं ।’
एमालेको निर्णयलगत्तै रास्वपाले पनि प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा जवाफ माग गर्ने निर्णय गरेको थियो । बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपाले प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन व्यापारी प्रितम सिंह सक्रिय भूमिका खेलेको भन्ने अभिव्यक्तिको विषयमा जवाफ माग्न लागेको हो ।
यस्तै, एमालेकै पत्रमा हिँडेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रधानमन्त्रीको राजीनामा मागेको छ । प्रधानमन्त्रीको पदमा बसेको व्यक्तिले भारतले आफूलाई प्रधानमन्त्री बनाएको भन्न नमिल्ने बताउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल प्रचण्डले राजीनामा दिनुपर्ने बताए ।
तर प्रचण्डले बुधबार कीर्तिपुरमा आयोजित क्रान्तिकारी विद्यार्थीहरूको कार्यक्रममा आफ्नो अभिव्यक्तिको बचाउ गरे । विपक्षीले पूर्वग्रहका कारण आरोप लगाएकोसमेत बताए । उनले भने, ‘आज म सुन्दैछु, एउटा शिखको किताब विमोचन गर्दै गर्दा कहिले दिल्ली पुग्नुहुन्थ्यो, कहिले नेपालका पार्टीसँग लाग्नुहुन्थ्यो उहाँ भनेर उहाँका बारेमा भनेको कुरा अब त्यसलाई उचालेर फेरि एकचोटि बबण्डर गर्न खोजिएको छ, मलाई लाग्छ त्यो बेलुन पनि छिट्टै फुट्वाला छ । त्यसले केही दिनेवाला छैन,’ प्रधानमन्त्रीले थपे, ‘यसबाट के देखिन्छ भने हाम्रा विपक्षीहरूमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ ।’




