राजनीति

ढुंगाना राजस्व अनुसन्धान विभागको महानिर्देशक बनेपछि व्यापारी र तस्कर उत्साहित

काठमाडौं । केपी ओली प्रधानमन्त्री भएका बेला अर्थ मन्त्रालयअन्तर्गत रहेको राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत ल्याइयो । राजस्व छल्ने व्यापारी र घरानियासँग सिधा सम्बन्ध हुने भएकाले ओलीले विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याएका थिए । त्यसपछि विभागका महानिर्देशकको दुरूपयोग बढ्दै गएको हो । राजनीतिक नेतृत्वले यो विभागलाई नाजायज ढंगले प्रयोग गर्नेक्रम बढेको ब्यवसायीहरू बताउँछन् । त्यसमाथि हरेक ६–६ महिनामा हुने नेतृत्व परिवर्तनका कारण विभाग निकम्मा बन्न पुगेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना निजी सचिव नवराज ढुंगानालाई विभागको महानिर्देशक बनाएपछि व्यापारी र तस्कर उत्साहित बनेको स्रोतले बताएको छ । स्वच्छ छविका नारायणप्रसाद सापकोटालाई साढे चार महिनामै हटाएर सहसचिव ढुंगानालाई ल्याइएको हो । उनी यसअघि जहाँजहाँ पोस्टिङ भएका थिए, ती सबै ठाउँमा उनी विवादित बनेको कर्मचारीहरू बताउँछन् ।

सापकोटाले राजस्व छलीमा कडाई गरेपछि अत्तालिएका व्यापारीहरूले विभागको नेतृत्व परिवर्तनका लागि दबाब दिएपछि प्रचण्डले आफ्ना निजी सचिवलाई नै महानिर्देशक नियुक्त गरेका हुन् । उनी आएसँगै राजश्व संकलन स्वतः घट्ने, चुहावट र छली गर्नेलाई संरक्षण हुने भन्दै चिन्ता सुरु भएको छ ।

ढुंगाना निजामती प्रशासनमा विवादस्पद कर्मचारीका रूपमा परिचित छन् । प्रधानमन्त्रीको निजी सचिव हुनुअघि उनी वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक थिए । त्यसबेला व्यापारीसँग मिलेर तस्करीको लाइन खुल्ला गरी राजश्व चुहावटमा प्रत्यक्ष रूपमा संलग्न रहेको र लक्ष्यअनुसार भन्सार महसुल नउठेको आरोप उनीमाथि लाग्दै आएको छ ।

ढुंगाना महालेखा नियन्त्रकको कार्यालय, वैदेशिक रोजगार विभाग, अध्यागमन, वन विभाग र स्वास्थ्य मन्त्रालयलगायतका जस्ता अतिरिक्त आम्दानी हुने निकायको नेतृत्व गरिसकेका असफल र विवादास्पद सहसचिव भएको बताइन्छ । ढुंगानालाई अकूत सम्पत्ति आर्जनको आरोपमा उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिनसमेत गरिरहेको बुझिएको छ ।

राजस्व चुहावट भएर सरकारले चालू आर्थिक वर्षको राजस्व लक्ष्यको २० प्रतिशत कम उठ्ने अनुमान गरिरहेको अवस्थामा विवादास्पद छविका ढुंगानाको नियुक्तिलाई आश्चर्यको रूपमा हेरिएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको पालामा ढुंगाना वीरगन्ज भन्सार प्रमुख हुँदा निकै आलोचित भएका थिए । महालेखा नियन्त्रक कार्यालयको प्रशासन महाशाखा प्रमुख हुँदा उनीमाथि लेखा नियन्त्रक, अधिकृत र लेखापाल कर्मचारीको सरुवामा आर्थिक चलखेल गरेर मालदार प्रोजेक्टमा कर्मचारीहरूको सरुवा गरेको आरोप लागेको थियो ।

मनाङको एलडीओ, गोरखा नगरपालिका, तत्कालीन पोखरा उप–महानगरपालिका र रत्ननगर नगरपालिकामा प्रशासकीय अधिकृतको भूमिकामा रहेर काम गर्दा पनि उनी विवादमै तानिएको कर्मचारीहरू बताउँछन् । चितवनको रत्ननगरमा जग्गाको कित्ताकाट खुलाउने भन्दै व्यक्तिगत स्वार्थमा काम गरेको आरोपसमेत उनीमाथि लागेको थियो ।

माओवादी नेता मातृका यादव उद्योग मन्त्री हुँदा ढुंगाना उनको सचिवालयमा बसेका थिए । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय तथा वैदेशिक रोजगार विभाग जस्ता आकर्षक कार्यालयमा बस्दा उनले अतिरिक्त आर्जन गरेको उजुरी अख्तियारमा परेको र अनुसन्धान भइरहेको बताइएको छ । अध्यागमनमा हुँदा भिजिट भिसामा सेटिङ मिलाएर कामदारलाई विभिन्न मुलुकमा पठाएको आरोपसमेत उनीमाथि लाग्दै आएको छ । आर्थिक कमजोरीकै कारण ढुंगाना तस्कर र व्यापारीका लागि उपयुक्त व्यक्ति भएको स्रोतले बतायो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *