राजनीति

स्वास्थ्यमन्त्री बनेको दुई महिना नपुग्दै बस्नेतको कामले देखाएको आशा

काठमाडौं । नेपालमा स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्ने नेता लामो समय टिक्ने गरेको देखिन्न । स्वास्थ्यमन्त्री सर्वाधिक अस्थिर पद देखिएको छ । केही न केही विवादमा परेर स्वास्थ्य मन्त्रालयमा नेतृत्व चाँडो चाँडो परिवर्तन हुने गरेको छ । कतिसम्म भने १३ दिनमै स्वास्थ्यमन्त्री परिवर्तन भएको इतिहास पनि छ । स्वास्थ्यमन्त्री बनेर चर्चा र विवादमा नपरेका थोरै मात्र छन् । गगन थापा र खगराज अधिकारी मात्रै यस्ता स्वास्थ्यमन्त्री बने, जो विवादरहित ढंगले स्वास्थ्य मन्त्रालयबाट बाहिरिए ।

अहिले त्यही अस्थिर स्वास्थ्य मन्त्रालयको नेतृत्व कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सम्हालिरहेका छन् । उनी स्वास्थ्य मन्त्री बनेको असार २० गते दुई महिना पुग्दैछ । स्वास्थ्य मन्त्रालय बस्नेतका लागि नौलो भने होइन । २०५६ को चुनावपछि उनी स्वास्थ्य राज्यमन्त्री भइसकेकाले यो मन्त्रालयमा उनी पूरै जानकार छन् । त्यही भएर मन्त्रालयमा आउनेवित्तिकै उनले सबैभन्दा पहिले विपन्न नागरिकको स्वास्थ्य उपचारमा ध्यानकेन्द्रित गरेका छन् ।

देशका सरकारी र निजी अस्पतालले दिने स्वास्थ्य उपचारलाई सर्वसुलभ र छिटोछरितो बनाउन बस्नेतले अनुगमन गर्नेदेखि निरीक्षणका काम गर्दै आएका छन् । निजी अस्पतालमा आफैं पुगेर विपन्न वर्गका लागि १० प्रतिशत निःशुल्क उपचारको व्यवस्था गर्न मन्त्री बस्नेतले निर्देशन दिँदै आएका छन् । केही अस्पतालले त्यसको सुरुवात गरिसकेका छन् ।

त्यसैगरी सरकारी ठूला अस्पतालमा सर्वसाधारणका लागि जनरल बेड निःशुल्क गर्न लागिपरेका मन्त्री बस्नेतले सुरुमा दुई हजार जनरल बेड निःशुल्क गराएका छन् ।

कान्ति बाल अस्पतालले ६०, परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले ४५०, ट्रमा सेन्टरले १५० र सहिद गंगालाल हृदयरोग केन्द्रले ९० जनरल बेड निःशुल्क गर्ने निर्णय गरेका छन् ।

यसअघि वीर अस्पतालले ७०० र कोसी अस्पतालले ३३० जनरल बेड निःशुल्क गरिसकेका छन् । सरकारी अस्पतालले निःशुल्क बेड उपलब्ध गराएबापत स्वास्थ्य मन्त्रालयले नै खर्च बेहोर्ने गरी छलफल भएको छ । वीर अस्पतालले जनरल बेडको २०० रुपैयाँ शुल्क लिँदै आएको थियो । स्वास्थ्यमन्त्री बस्नेतले विरामीहरूको उपचार निःशुल्क हुने बताउँदै बिस्तारै देशभरिका केन्द्रीय अस्पतालहरूमा पनि विपन्नका लागि निःशुल्क बेड थप्दै जाने बताएका छन् ।

मन्त्री बस्नेतले सबै अस्पतालहरूलाई उपलब्ध गराउँदै आएका सेवाको जानकारी वेबसाइटमार्फत राख्न र अनलाइन माध्यमबाट ओपिडी टिकट बुकिङ गर्न अस्पतालहरूलाई निर्देशन दिएका छन् । उनले अस्पतालहरूलाई आवश्यकबाहेक उपकरण खरिद नगर्न र गर्नुपरेमा त्यसको अग्रिम जानकारी स्वास्थ्य मन्त्रालयलाई दिन निर्देशन दिएका छन् । यसले गर्दा राज्यको करोडौं रुपैयाँ जोगिएको छ । विभिन्न सरकारी अस्पतालले आफूलाई आवश्यक नपरे पनि स्वास्थ्य उपकरण खरिद गर्ने तर प्रयोगमा नल्याई त्यतिकै थन्क्याउँदै आएका थिए । यो प्रवृत्तिको भने अब अन्त्य हुने भएको छ ।

स्वास्थ्य मन्त्रालयमा सबैभन्दा ठूलो विकृति भनेको कर्मचारी सरुवा बढुवा हो । यसमा मन्त्री बस्नेत विवादमा परेका छैनन् । कर्मचारी प्रशासन बुझेको र ठूलो दलको प्रभावशाली नेता पनि भएकाले स्वास्थ्य मन्त्रालयमा अहिले यस्ता कुनै विवाद निस्कने गरेको देखिन्न । यतिबेला स्वास्थ्यमन्त्री बस्नेतको ध्यान सुर्तीजन्य पदार्थ प्रयोगमा न्यूनीकरण र सुर्तीजन्य पदार्थमा करका साथै जनचेतनामूलक तस्बिर धेरै राख्नेमा देखिएको छ । सुर्तीजन्य पदार्थमा राज्यले थोरै कर लगाउने गरेकोमा उनी सन्तुष्ट छैनन् । यसलाई राज्यले पुनरावलोकन गर्नुपर्ने उनको भनाइ छ ।

राजनीतिक पृष्ठभूमिका व्यक्ति भए पनि बस्नेत सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । भूकम्प जाँदा होस् वा अन्य प्राकृतिक विपत्तिबाट पीडितको सेवामा बस्नेत अरु नेताभन्दा एक कदम अगाडि छन् । कोरोना कहरका बेला उनी आफैं सिन्धुपाल्चोक पुगेर जिल्लावासीको स्वास्थ्य क्षेत्रमा निकै काम गरेका थिए । त्यही भएर निर्वाचन क्षेत्र परिवर्तन भएर जाँदा पनि बस्नेतले सिन्धुपाल्चोक २ मा अत्यधिक मतले चुनाव जितेका हुन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री भइसकेकाले पनि बस्नेतमा कसरी काम गर्ने, कस्तो काम र योजनालाई महत्व दिने भन्ने अनुभव छ । त्यही भएर पनि कांग्रेस सभापति शेरबहादुर देउवाले बस्नेतलाई स्वास्थ्यमन्त्री बनाएका हुन् । उनको सुरुवाती कामको प्रगति हेर्दा स्वास्थ्य मन्त्रालयमा उनले धेरै काम गर्ने र विपन्न नागरिकको पक्षमा उल्लेख्य निर्णय हुने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *