राजनीति

संघीय सरकार ढाल्न खोजेको एमाले कोसीमा आफ्नै सरकार गुमाउने अवस्थामा

काठमाडौं । एमालेले संघीय सरकार ढाल्न ठूलो दाउपेच लगाएको थियो । तर केपी ओलीको अनेक दाउपेच चिर्दै प्रचण्डले १० भोटले आफ्नो सरकार जोगाउन सफल भएका छन् ।

प्रबजेट पारित गर्ने क्रममा बुधबार प्रतिनिधिसभामा १० मत कम आएको भए बजेट पारित नहुने मात्र होइन, सरकारमाथि विश्वाससमेत गुम्ने अवस्था आउनेवाला थियो । तर, सरकार ढल्नबाट जोगियो ।

गत पुस १० मा बनेको प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले संसद्‌बाट क्रमशः समर्थन गुमाउँदै जान थालेको छ । यसैको पछिल्लो कडी हो बुधबार प्रतिनिधिसभामा भएको मत विभाजन । बजेट पारित गर्न मतविभाजन हुनुपर्ने विपक्षी एमालेको मागपछि भएको भोटिङमा सरकारको पक्षमा १४७ मत परेको थियो भने विपक्षमा १०८ मत खसेको थियो ।

प्रधानमन्त्री बनेको १६औं दिनमा प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा प्रचण्डको पक्षमा २६७ मत परेको थियो । त्यसबेला सभामा उपस्थित २७० सांसदमध्येबाट उनले २६७ मत पाएका थिए ।

प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरिएपछि मार्च २० मा दोस्रोपटक विश्वासको मत लिए । त्यसबेला उनको पक्षमा १७२ मत खस्यो भने विपक्षमा ८९ मत मात्र परेको थियो । तर, बुधबार बजेटमाथिको मतविभाजनमा सरकारको समर्थन साँघुरिएको छ भने विपक्षीको दायरा फराकिलो देखिएको छ । यदि प्रचण्ड जसपाको बैठकमै गएर भोट नमागेको भए उनको सरकार ढल्ने निश्चित थियो । किनकि ओलीले उपेन्द्र यादवलाई आफ्नो वशमा पारिसकेको सूचना प्रचण्डले पाएका थिए ।

संघीय सरकार बल्लतल्ल जोगाएका प्रचण्डले कोसीमा एमालेको सरकारलाई काँध नथाप्ने भएका छन् । त्यसैले आज विश्वासको मत लिँदै गरेका मुख्यमन्त्री हिक्मत कार्कीको सरकारलाई विश्वासको मत नदिएर असफल बनाउने रणनीतिमा माओवादी जुटेको छ । माओवादी कोसी प्रदेश संसदीय दलको बैठक बस्दैछ ।

बैठकले मुख्यमन्त्रीमा आफ्नो तर्फबाट दाबी गरेर एमाले सरकारलाई ढाल्ने निर्णय गर्ने बुझिएको छ । नेपाली कांग्रेसले पनि कोसी प्रदेश सरकारमा दाबी गरिरहेको छ । कांग्रेसले प्रदेश दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने तयारी थालेको छ । तर पहिले मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन नसक्ने वातावरण बनाउन कांग्रेसले विपक्षी मोर्चालाई एकढिक्का राख्ने रणनीति अख्तियार गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *