राजनीति

बजेटले बढाउँदै छ प्रचण्डको मुस्किल, विदेशतिर अर्कै गृहकार्य

काठमाडौं । यदि जसपा र एकीकृत समाजवादी अहिलेकै अवस्थामा अडिग रहे पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार असारमै ढल्ने निश्चित छ ।

सत्तारुढ दुवै दलले यथास्थितिमा बजेट पास नगर्ने निर्णय गरिसकेका छन् । जसपा र एकीकृत समाजवादीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । वर्तमान सरकारलाई समर्थन गरेको जनमत पार्टीले पनि बजेट पास नगर्ने बताइसकेको छ ।

उता प्रमुख प्रतिपक्षी दल एमाले कुनै पनि हालतमा प्रचण्ड सरकार ढाल्ने खेलमा लागेको चर्चा सुरु भएको छ । समाजवादी मोर्चा गठन र भारतले प्रचण्डलाई दिएको महत्वका कारण केपी ओली असन्तुष्ट छन् । त्यही भएर अहिले उनले आफ्ना महासचिव शंकर पोखरेललाई परिचालन गरेको स्रोतले बतायो । पोखरेल कांग्रेस र एमाले मिल्नुपर्छ भन्ने लाइनमा छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचार गर्न सिंगापुर गएकै बेला पोखरेल पनि विदेश यात्रामा छन् । पोखरेल अमेरिका भ्रमणमा रहेको बताइन्छ । अहिले एमालेको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीलाई दिइएको छ ।

कांग्रेस सभापति देउवाको स्वदेश आगमन ढिलाइ हुनु र नेपालमा सरकार परिवर्तन हुँदैछ भन्ने हल्ला चल्नुको कारण एमाले महासचिव शंकर पोखरेलको विदेश भ्रमण पनि रहेको बुझिएको छ । पाँच वर्ष आलोपालो सरकार चलाउने सहमति गर्दै निर्माण भएको कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धन धर्मराउन थालेको चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ ।

स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका कांग्रेस सभापति देउवाले एमालेसँग मिलेर सरकार बनाउने गृहकार्यका लागि त्यहीँबाट कुराकानी थालेको एकथरीले नेपालमा हल्ला चलाएका छन् । जेठ ३० गते उपचारका लागि सिंगापुर प्रस्थान गरेका देउवा शुक्रबार राति आउने बताइए पनि कहिले फर्किन्छन् भन्ने यकिन नभएको कांग्रेसका एक नेताले बताए ।

सिंगापुर भ्रमण लम्ब्याएर देउवा एमालेसँगको नयाँ सत्ता गठबन्धन निर्माणका लागि लागिपरेको स्रोतको दाबी छ । अमेरिका भ्रमणमा रहेका एमाले महासचिव पोखरेल र सिंगापुरमा रहेका देउवाबीच दुई पार्टीको सत्ता सहकार्यबारे कुराकानी भएको एमाले स्रोतले बतायो । एमालेले औपचारिक तथा अनौपचारिक रूपमा कांग्रेसले सरकारको नेतृत्व गर्न तयार भए आफू समर्थन तयार रहेको प्रस्ताव देउवासमक्ष पु¥याए पनि उनले वास्ता गरेका छैनन् ।

पुस १० गते प्रचण्डलाई कुनै पनि हालतमा प्रधानमन्त्री नदिन र आफू दलको समर्थन बोकेर बालुवाटार आउने वचन दिएका ओलीले अन्तिममा प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि देउवाले एमालेको कुरालाई गम्भीरतापूर्वक लिएका थिएनन् । ओलीले दिएको धोकाबाट बिच्केका देउवा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि भने फेरिन थालेका हुन् ।

एमालेले प्रचण्डलाई हटाउन चार वर्ष नै सत्ताको नेतृत्व नलिने लिखित सहमति नै गरिदिन तयार रहेको सन्देश दिएको छ । गठबन्धनमा भएको सहमतिअनुसार प्रचण्डले आफूलाई प्रधानमन्त्री नदिने र कांग्रेसलाई दबाबमा राख्ने बुझेपछि देउवा एमालेसँगको छलफलमा जुटेको स्रोतले बतायो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *