राजनीति

आफूविरुद्ध चौतर्फी घेराबन्दी हुँदा कांग्रेसमा किचलो उस्तै

काठमाडौं । २०८४ को आमनिर्वाचनलाई लक्षित गर्दै एमाले, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ नयाँ रणनीति अख्तियार गरेका छन् । तर देशकै सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने घरझगडामै रुमल्लिएको छ । पार्टीका नेताहरूबीच नै सौहार्द सम्बन्ध छैन ।

पार्टी सभापति शेरबहादुर देउवा एक्लै हिँड्न खोजेको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देशभर जनमत तयार गर्न खोजेका छन् । हाल पार्टी सभापति देउवा स्वदेशमा छैनन् । उनी उपचारका लागि सिंगापुरमा छन् । पार्टीको कार्यबाहक सभापतिको भूमिकामा उपसभापति पूर्णबहादुर खड्का छन् ।

तर केही समययता उनको भूमिका पनि सन्तोषजनक छैन । सरकारको उपप्रधानमन्त्री एवं रक्षामन्त्री भएकाले पनि उनले निश्चित समय पार्टीलाई दिन नसकेको नेता कार्यकर्ता बताउँछन् । अर्का उपसभापति धनराज गुरुङ पनि मन्त्री छन् । पार्टीलाई जति समय दिनुपर्ने हो उनले पनि दिन सकिरहेका छैनन् ।

पार्टीको केन्द्रीय समिति बैठक १० महिनादेखि बस्न सकेको छैन । जसकारण सांगठनिक र विचार निर्माणको काम ठप्प छ । यस्तो अवस्थामा कांग्रेसमा सुधार र जागरण ल्याउन भन्दै तेस्रो धार देशव्यापी अभियानमा निस्केको छ । जुन अभियानले कांग्रेसको संगठन सुधारभन्दा झन् किचलो र अस्तव्यस्तता थप्ने देखिएको छ ।

कांग्रेसलाई अबको ठूलो चुनौती भनेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी नै हो । त्यसबेलासम्म काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन र धरानका मेयर हर्कराज साम्पाङ गुरुङले कस्तो भूमिका खेल्छन् त्यसले कांग्रेसको लोकप्रियता र साख निर्धारण गर्छ । उनीहरू गैरवामपन्थ हुन् ।

गैरवामपन्थ नै कांग्रेसका लागि चुनौती हुन सक्छ । रास्वपाले संगठन विस्तार अभियान तीव्र पारेको छ । कांग्रेस घरझगडामा रुमलिएको मौका छोपेर उसले पार्टीको सदस्य वितरण गरिरहेको छ । जसमा धेरैजसो कांग्रेसबाटै गएका देखिएका छन् । पार्टी स्थापना भएको एक वर्षमै दुई लाख सदस्यता वितरण गर्नु रास्वपाको ठूलो फड्को हो ।

उता, एमालेले केपी ओलीलाई फेरि अध्यक्ष बनाउन ७० वर्षे उमेरहदको प्रावधान खारेज गरेको छ । उसले वामदेव गौतमलाई पार्टी प्रवेश गराउने तयारी गरेको छ । एकीकृत समाजवादीका धेरै सांसद र केन्द्रीय सदस्य एमाले प्रवेश गर्दैछन् । माओवादीले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा ल्याउने तयारी गरिरहेको छ ।

तर कांग्रेसमा भने नेतृत्वबीच नै असमझदारी छ । कांग्रेसका युवा महामन्त्री थापा र शर्मा नेतृत्वको आलोचनामै समय व्यतित गरिरहेका छन् । जसले गर्दा कांग्रेसका आमकार्यकर्ता र शुभचिन्तक अलमलमा परेका छन् । पार्टीका कार्यकर्तालाई लामो समयसम्म अन्योल र अलमलमा राख्नु कांग्रेसकै लागि पनि अहितकारी सिद्ध हुनसक्छ । यसप्रति नेतृत्वले समयमै विचार पु¥याउनुपर्ने नेताहरूको भनाइ छ ।

पार्टी सभापतिलाई मात्र दोष दिएर अहिलेका महामन्त्रीद्वय थापा र शर्माले छुट पाउँदैनन् । भ्रातृसंगठनको कार्यसमिति गठन, केन्द्रीय विभाग गठन र सगठन विस्तारमा महामन्त्रीकै रोल धेरै हुन्छ । त्यसै पनि कांग्रेस सभापति देउवाले अब आफू अर्कोचोटि सभापति नबन्ने बताइसकेका छन् । कांग्रेस विधान पनि तेस्रो कार्यकाल सभापति बन्न बाधक छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *