काठमाडौं । नेपालमा जम्मा ७५३ स्थानीय तह रहेको छ । जसमा ६ महानगर, ११ उपमहानगर, दुई सय ७६ नगरपालिका र चार सय ६० गाउँपालिका छन् । २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि आइसकेका छन् । जसमा धेरै राजनीतिक दल र केही स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
एक वर्षअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका र नगरपालिकाभन्दा पनि महानगर र उपमहानगरका निर्वाचनमा नयाँ माहोल देखियो । काठमाडौं महानगरपालिका, धरान, जनकपुर र धनगढी उपमहानगरपालिका तथा बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भए ।
लाखौंको संख्यामा मतदाता भएका ठाउँमा स्वतन्त्र उम्मेदवारले ठूला र स्थापित दलका उम्मेदवारलाई पराजित गर्दै चुनाव जित्नु सामान्य होइन । त्यही भएर होला अहिले देशभरिका स्थानीय तहका हजारौं जनप्रतिनिधिभन्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन र धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईको मात्र धेरै चर्चा र आलोचना भइरहेको छ ।
बालेन र हर्कको अगाडि ७५१ तहका प्रमुख र उपप्रमुख कहाँ के गर्दैछन् भन्ने जनताले थाहा पाउन पनि सकेका छैनन् । अर्थात् बालेन र हर्कका अगाडि उनीहरू गुमनाम जस्तै भएका छन् । चर्चा परिचर्चा कहीँकतै छैन । यो एक वर्षमा काठमाडौं मेयर बालेन र धरानका मेयर हर्कराजको मात्रै धेरै चर्चा भयो । चर्चा मात्रै होइन, उनीहरूको काम र निर्णयले देशका ठूल्ठूला नेतालाई ओझेलमा पारिदिएको छ । आखीर किन त ? अहिले सबैको मुखमा यही प्रश्न उब्जेको छ ।
निर्वाचित भएर आएको केही दिनपछि बालेन डोजरले चर्चा र विवादमा परे । बालेनको डोजर भन्ने उखान नै बन्यो । जहाँ डोजर देख्यो बालेन सम्झने धेरै भए । तर काठमाडौंमा अनधिकृत भौतिक संरचना हटाउन बालेनको डोजरले जे भूमिका खेल्यो अहिले देशभर त्यसको प्रभाव परेको छ । काठमाडौंका अतिव्यस्त मानिने सडकमा विना अवरोध हिँड्डुल गर्नसकिने भएको छ । जथाभावी पार्किङ छैन । मठ, मन्दिर सफा र फराकिलो बनेका छन् ।
त्यसपछि बालेन नदीकिनारका सुकुम्बासी बस्ती हटाउन लागिपरे । तर त्यहाँ अवरोध भएपछि उनले संघीय सरकारसँगै जेहाद छेडे । सिंहदरबारकै फोहोर रोकिदिए । पछि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि फोहोर उठेको छ । यतिबेला काठमाडौंका सडकमा फोहोर देखिन छाडेको छ । बञ्चरेडाँडा र सिसडोल डम्पिङ साइटका समस्या पनि उनले हल गर्ने तयारी गरेका छन् ।
यतिबेला बालेनले शिक्षा र स्वास्थ्य सुधारको क्षेत्रमा हात हालेका छन् । वर्षौंदेखि जकडिएको विकृति र विसंगति एक दिनमै हल हुने होइन । तर कानुन र नियमको परिधिभित्रै रहेर बालेनले जेजस्तो निर्णय गर्दै गएका छन्, यसले चाँडै विपन्न वर्गका लागि काठमाडौं महानगरपालिकाभित्र शिक्षा र स्वास्थ्य सेवा सहज बन्ने, निःशुल्क पाउने संकेत देखिँदै गएको छ ।
उता, धरानमा हर्कराज सुरुदेखि नै ढुंगा बोक्ने कामले चर्चामा आए ।
जसलाई देखे पनि उनी धरानमा श्रमदान गर्न आउनु भन्न थाले । प्रधानमन्त्री, मन्त्री, नेता, पत्रकार, कलाकार सबैलाई उनले ढुंगा बोकेर जनश्रमदानमा जुट्न आग्रह गरे । धरान उपमहानगरको विकासमा श्रमदान नै पहिलो उपाय भन्दै उनले सुरुवात गरे । यो एक वर्षको अवधिमा उनले धराने जनताका लागि ४० किलोमिटरभन्दा टाढाबाट पाइपमा पानी ल्याएर खुवाउन सफल भएका छन् ।
आफूलाई लागेका कुरा छिनछिनमा फेसबुकमा लेख्ने गरेकाले पनि हर्क विवाद र चर्चामा आउने गरेका छन् । तर अहिले उनले जसरी पानीको संकट हटाउन श्रमदानबाटै पाइपमा पानी ल्याएका छन्, यो कामले हर्कराजको हाइट धेरै माथि पुर¥याएको छ । अब उनी धरानका मात्र भएका छैनन्, देशकै लागि भएका छन् । बालेन र हर्कराजले जसरी काम गरिरहेका छन्, अन्यत्र पनि भइरहेका होलान् । तर ती सामाजिक सञ्जाल वा मिडियाको पहुँचमा आइपुगेका छैनन् । जसले गर्दा अहिले बालेन र हर्कको मात्रै गुनगान गाउन थालिएको छ ।




