राजनीति

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि क्रान्तिदेखि “म अघि बढछु” विद्यालय कार्यक्रमसम्म

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष२०८०/०८१ को निति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेको छ । एमाले नेतृत्वमा रहेको कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभामा वाचन गरेका छन् ।

प्रदेश प्रमुख खापुङले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रममा प्रदेशलाई आर्थिक रुपमा मजबुद्ध बनाउनका लागि औद्योगिक हवको विकास गर्न भौतिक पूर्वाधारसहित कोशी औद्योगिक क्षेत्रको अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् । स्टार्टअप, नवप्रवर्तन, व्यवसाय सम्बर्द्धन केन्द्र स्थापना सम्बन्धी नीतिगत आधार तयार, उद्योग क्षेत्रको विकास तथा प्रवर्द्धन गर्दै आयात प्रतिस्थापनलाई प्रोत्साहित गर्दै निजी क्षेत्रको समन्वय एवम् सहकार्यमा औद्योगिक वस्तुको प्रवर्द्धन एवम् प्रर्दशनमा जोड दिइएको छ ।

कोशी प्रदेश सरकारले स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास एवम् विस्तारमा जोड दिँदै “सहकारी उद्यमशीलता र समृद्धि” कार्यक्रम सञ्चालन गर्दै स्थानीय उत्पादनको ब्राण्डिङ्ग गर्दै आर्थिक वृद्धि गर्ने बताएको छ ।

यस्तै स्थानीय स्रोत साधन, परम्परागत सीप र प्रविधिमा आधारित लघु उद्यम, घरेलु तथा साना उद्योगको विकासलाई प्राथमिकता दिँदै लघु तथा घरेलु उद्योगमा कार्यरत जनशक्तिको क्षमता बिकास गर्न पर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै उद्योग दर्ता कार्यलाई घुम्ती सेवा मार्फत सञ्चालनका लागि आवश्यक कार्यक्रम तर्जुमा गर्दै अल्लो, वाँस, बेतबाँस, भेडाको उन, पशुहरुको छाला, कोगटी जस्ता स्थानीय कच्चा पदार्थमा आधारित सङ्कलन तथा प्रशोधन केन्द्रको स्थापना गरी परम्परागत उद्यमशीलतालाई प्रवर्द्धनका लागि जोड दिनुपर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।


प्रदेश प्रमुख खापुङले प्रस्तुत गरेको उक्त नीति तथा कार्यक्रममा उत्कृष्ठ महिला उद्यमी प्रोत्साहन पुरस्कारका लागि आवश्यक व्यवस्था गर्दै औद्योगिक ग्रामहरु संचालनको लागि स्थानीय तहहरुसँगको समन्वय गरी प्रचारात्मक र प्रवर्द्धनात्मक कार्यक्रम संचालन गरिने उल्लेख गरिएको छ ।

आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सहकारी संस्थाहरुको संस्थागत क्षमता अभिबृद्धि गर्दैै सहकारीमा कार्यरत कर्मचारी, सहकारिकर्मी, नियमनकारी निकायमा कार्यरत कर्मचारीको क्षमता बिकासका कार्यक्रम सञ्चालन गरीने भएको छ । गरिब, विपन्न तथा पिछडिएको बर्गका कृषक, मजदुरहरुको सहभागितामा गठन भई संचालनमा रहेका दुर्गम तथा ग्रामिण क्षेत्रका कृषि तथा विषयगत सहकारी संस्थाहरुको व्यवसायिक क्षमता अभिबृद्धि गराउन आवश्यक पेशागत व्यवसायिक सीपमुलक तालिमको व्यवस्था गरिने प्रदेश प्रमुख खापुङले प्रस्तुत गरेको कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम रहेको छ ।

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रममा आन्तरिक राजस्वलाई सुढृद गर्दै व्यवसायिक, प्रविधिमैत्री एवम् पारदर्शी कर प्रणालीको माध्यमबाट कर र गैरकर राजस्व संकलन गरिने छ । यस्तै प्रदेशमा तथ्याङ्क, सूचना प्रणाली तथा अभिलेख व्यवस्थापनका लागि आवश्यक कानूनी एवम् प्रणालीगत व्यवस्था गरी प्रदेशस्तरको तथ्याङ्क संकलन, भण्डारण, सुरक्षा र उपयोगलाई प्रभावकारी बनाउने उल्लखे गरिएको छ ।

यस्तै स्थानीय तह र गैरसरकारी निकायको सहभागितामा लागू औषध, मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रण, असल नागरिक र सक्षम समाज निर्माण गर्ने भएको छ । नागरिक उत्पादन गर्न माध्यमिक बिद्यालयहरुमा “म अघि बढछु” कार्यक्रम सञ्चालन गरिने भएको छ ।


सार्वजनिक यातायातलाई डिजिटलाईजेसन गरी आधुनिक प्रविधि र नागरिकमैत्री यातायात सेवाको विस्तार गर्दै दुर्घटना नियन्त्रणका लागि नीति तथा कार्यक्रममा जोड दिएको छ ।
यस्तै स्थानीय तहहरुको फोहोर व्यवस्थापनका लागि ल्याण्ड फिल्ड साईट सम्मको पहुच मार्ग निर्माण भएको छ ।

नीति तथा कार्यक्रममा अस्पतालहरुको व्यवस्थापकीय क्षमतामा सुधार गर्दै प्रदेश मातहतका अस्पतालहरूबाट विशेषज्ञ सेवा प्रदान गर्नका लागि विशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यक्रमलाई विशेष जोड दिइएको छ ।

प्रादेशिक अस्पताल भद्रपुरलाई विशिष्टीकृत अस्पतालको रूपमा विकास, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई अत्याधुनिक औजार उपकरण सहित सुविधासम्पन्न र प्रविधिमैत्री बनाउने कार्यक्रममा उल्लेख गरिएको छ ।नीति तथा कार्यक्रममा चिया, कफी, अदुवा, अलैँची, सुपारी, जस्ता निर्यातजन्य कृषि बालीहरुको उत्पादन, सुरक्षित भण्डारण, बजारीकरण, पोष्टहार्भेष्ट तथा मूल्यश्रृंखलामा आधारित कार्यक्रमहरु सञ्चालन गरी निर्यात प्रवर्द्धनमा जोड दिइने उल्लेख गरिएको छ ।

“एक स्थानीय तह एक उत्पादन कार्यक्रम” लाई व्यवस्थित गर्दै उन्नत जातका गाई, भैँसी, बाख्रा, बंगुरको श्रोतकेन्द्र विकासका कार्यक्रमहरुलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ । प्रदेश प्रमुख खापुङले पेश गरेको नीति तथा कार्यक्रम यस्ता रहेका छन्

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *