राजनीति

‘स्टन्ट’ रुचाउने पर्यटनमन्त्री सुदन किराती पनि फेलियरको दिशामा

काठमाडौं । प्रतिबद्धता र पारदर्शी तरिकाले दायित्व पूरा गर्छु भनेर सार्वजनिक अठोटका साथ देखापरेका सुदन किराँती सम्भवत संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मामा धेरै दिन नरहने देखिएको छ ।

सत्ता गठबन्धनमा महत्वपूर्ण स्थान ओगटेको नेपाली कांग्रेससँग भएका मन्त्रालयमा हेरफेर गर्न नमिल्ने हुँदा प्रधानमन्त्री प्रचण्डले आफ्नै पार्टीका नेता किरातीको जिम्मामा रहेको पर्यटन मन्त्रालय जनमत पार्टीलाई दिने ‘अफर’ गरेका छन् । यसले उनको जागिर धरापमा परेको अनुमान लगाउन थालिएको छ ।

भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका सुदन किराँतीलाई माओवादीमा आशावान नेताका रूपमा हेरिएको थियो । स्पष्ट बोल्ने र विचारमा अगिग मानिएका किराती मन्त्री बनेको तीन महिनादेखि नै ‘स्टन्ट’ गर्न थालेपछि विवादमा आएका हुन् । मन्त्री बन्नेवित्तिकै उनले आफूलाई खादा माला नलगाउन आग्रह गरे । उनले त्यसको पैसा चन्दा बाकसमा हाल्न आग्रह गरे । बाकसमा तीन लाखभन्दा बढी पैसा संकलन भयो । जुन उनले एउटा विद्यालयलाई दिएका छन् । उनी हरेक निर्णय सामाजिक सञ्जालमा सार्वजनिक गर्छन् । जुन उनकै पार्टीका नेताले मन पराएका छैनन् ।

नेपाल वायुसेवा निगमको अध्यक्ष बनाइदिन भन्दै आफूलाई तीन करोड घुस अफर आएको किरातीले फेसबुकमा लेखे । तर उनले कसले अफर गरेको भनेर लेखेनन् । त्यहीँदेखि प्रधानमन्त्री प्रचण्ड उनीसँग असन्तुष्ट बन्न थालेको बुझिएको छ । मन्त्री किरातीले निगमको अध्यक्ष फेर्न प्रस्ताव आएको उक्त प्रस्तावसँगै तीन करोडको अफर आएको सार्वजनिक रूपमा बोलेका थिए । त्यसरी अफर गर्ने व्यक्ति भने एकीकृत समाजवादीका सांसद तथा पूर्वपर्यटनमन्त्री प्रेम आले भएको गाईगुई चल्न थालेको छ । आले निगमका अध्यक्ष अधिकारीलाई जसरी पनि हटाउन चाहन्थे । तर उनको कार्यकालमा हटाउन नसकेका कारण आलेले उनलाई हटाउन अहिले मन्त्री किरातीको पालामा पनि विभिन्न च्यानलबाट प्रयास गरेका थिए ।

अहिले उनले गरेका हरेक निर्णय विवादमा पर्न थालेका छन् । पाँचवटा विमान खरिद गर्ने घोषणा गरेका किरातीले घाटामै रहेको नेपाल वायुसेवा निगमलाई नाफामा गएको भनेर प्रचार गरेका थिए । जुन उनका लागि निकै महँगो सावित हुनेवाला छ । किरातीले हवाई सुरक्षा संवेदनशीलता जस्तो विषयमा समेत ख्यालख्याल गर्दै क्याप्टेन रामेश्वर थापाको सिम्रिक एयर प्रालिलाई निजी हेलिपोर्ट बनाउन अनुमति दिएको खुलासा भएको छ ।

मन्त्री किरातीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत जानकारी नदिई थापाको कम्पनी सिम्रिक एयरलाई गैरसैनिक हवाई ऐन २०१५ विपरीत हेलिपोर्टको अनुमति दिएको खुलासा भएको हो । सिम्रिक एयर प्रालिले काभ्रे जिल्ला बनेपा नगरपालिका–१४ राउत गाउँको माथिल्लो भाग इटापु डाँडामा हेलिपोर्ट निर्माण तथा सञ्चालनको लागि आशय पत्र उपलब्ध गराउन भन्दै २०७९ माघ १३ गते निवेदन दिएको थियो । अहिले यो विषयले किराती विवादमा तानिएका छन् ।

यसअघि उनी गोठाटारको पशुपति क्षेत्र विकास कोषको ३१ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउन हालसाविक गराउने गरी अघि बढेको आरोप लागेको छ । यो विषयले संसदमै प्रवेश पाएको थियो । पूर्वमन्त्री आलेले किरातीले ३१ रोपनी जग्गामा भ्रष्टाचार गरेको आरोप लगाएका थिए । त्यसपछि हो किराती अलि ब्याक भएको । उनले धेरैचोटि प्रस्टीकरण दिइसकेका छन् । तर एकपछि अर्को काण्डमा मुछिएकाले उनी पनि धेरै समय पर्यटनमन्त्रीको कुर्सीमा बस्ने सम्भावना कमजोर बन्दै गएको छ ।
नेपालमा स्वास्थ्यमा जस्तै पर्यटन मन्त्री पनि फेरिरहने र विवादमा परिरहने गर्छन् । यसबाट किराती पनि अपवाद बन्ने सकेनन् । जुन पार्टीका पर्यटनमन्त्री नियुक्त भए पनि उनीहरू एउटा न एउटा काण्डमा फस्ने गरेका छन् । जसले उनीहरूको राजनीति करियरमै असर पुग्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *