काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पुनः प्रदेश सभामा सिङ्गो सदनबाट विश्वासको मत पाएका छन् । मुख्यमन्त्री यादवलाई मंगलबार प्रदेश सभामा उपस्थित सबै १०३ जना सांसदले विश्वासको मत दिएका हुन् ।
गठबन्धन सरकार भत्किएपछि नेकपा एमालेले जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको ३० दिनमा एमालेले प्रतिपक्षमा बस्ने सर्तमा मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएको छ ।
मुख्यमन्त्री विश्वासको मत ३० दिनमा लिइसक्नुपर्ने नियममा उल्लेख भए अनुसार ३२ गते बस्ने बैठक विश्वासको मतका लागि आजै आकस्मिक रूपमा प्रदेश सभाको बैठक आवाह्न गरेर विश्वासको मत लिन सफल भएका हुन् ।
मुख्यमन्त्री यादवलाई प्रदेश सभामा प्रतिनिधित्व गर्ने १० वटै दल र स्वतन्त्र सांसदले समेत विश्वासको मत दिएका छन् ।




