राजनीति

माधव नेपाल फेरि ढलपल

काठमाडौंं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्थिर चरित्र भएका नेताका रूपमा परिचित छन् । कहिल्यै पनि एकनासका चरित्र उनमा देखिन्न । स–सानो कुरामा उत्तेजनामा आउनेको उनको स्वभाव छ । जो उनको कमजोरी पनि हो ।

एमाले अध्यक्ष केपी ओलीले आफ्ना हरेक भाषणमा माधव नेपाललाई सानो चित्त भएको नेता भन्ने गरेका छन् । आफूले पहिले गरेको निर्णयमा अडिग हुन नसक्नु उनको सबैभन्दा ठूलो कमजोरी हो । आफ्नो स्वविवेकभन्दा पनि निकट नेता र आफन्तले भनेका कुरा उनी चाँडो पत्याउने गर्छन् ।

अहिलेको प्रचण्ड नेतृत्वको सरकार बनाउन माधव नेपालको अहं भूमिका छ । यसअघि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पनि उनले निकै ठूलो रोल खेलेका थिए । आफ्नै पार्टीका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीबाट च्यूत गरिदिए । एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाए । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित नतिजा पनि ल्याउन सफल भए । तर ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन असफल भएपछि राष्ट्रिय पार्टी बनाउन भने सकेनन् ।

चुनावपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसहितका दलको सहयोगमा प्रधानमन्त्री नियुक्त भए । तर एक महिनामै उनले एमालेसँगको गठबन्धन तोडे । प्रचण्ड कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनमै फर्किए । अहिले प्रचण्डकै नेतृत्वको सरकारले निरन्तरता पाएको छ । तर माधव नेपाल अहिले प्रचण्डकै सरकार ढल्ने भनेर अभिव्यक्ति दिन थालेका छन् । आफैंले प्रधानमन्त्री बनाएको नेताकै सरकार ढल्छ भनेर माधवले भन्दा कसलाई फाइदा हुन्छ ?

सोही कारण प्रचण्डले सोमबार बिहान माधवकुमार नेपाललाई बालुवाटार बोलाएर छलफल गरे । प्रचण्डले बजेटको विरोध नगरिदिन आग्रह गरे । गठबन्धनकै शीर्ष नेताले बजेट पास हुँदैन, त्यसपछि प्रचण्डको सरकार ढल्छ भनेर भन्दा कसलाई फाइदा हुन्छ भनेर प्रधानमन्त्रीले सोध्नुपरेको छ । आफ्नै पार्टी सरकारमा छ । महत्वपूर्ण मन्त्रालय चलाइरहेका छन् । तर सरकार ढल्छ भनेर पार्टी अध्यक्षले भन्दै हिँड्नु राजनीतिक संगति नभएको र माधव नेपालको व्यक्तित्वलाई झन् क्षयीकरण गराउने टिप्पणी हुन थालेको छ ।

यसै पनि नेपाली कांग्रेस र माओवादीबीच पाँच वर्षसम्म गठबन्धन टिकाउने सहमति भइसकेको छ । गत माघ १७ गते प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच लिखित सहमति भएको थियो । कांग्रेस र माओवादीबीच राष्ट्रपति कांग्रेसले पाउने सहमति भएको हो । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भएको यो लिखित सहमति अन्तिम समयसम्म गोप्य राखिएको थियो ।

पत्रकार नेत्र पन्थीको नयाँ पुस्तक ‘लेफ्ट–राइट ः सत्ता र शक्तिको ‘अ’राजनीति’ मा यसबारे विस्तृतमा उल्लेख गरिएको छ । यो सहमतिका लागि राजनीतिक वातावरण बनाउने काममा कांग्रेस वरिष्ठ उपसभापति पूर्णबहादुर खड्का र माओवादी उपमहासचिव जनार्दन शर्मा खटिएका थिए ।

‘१७ माघ ०७९ को राति बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच गोप्य सहमति भयो– राष्ट्रपति कांग्रेसले पाउने, सरकारको नेतृत्व प्रचण्डले तीन वर्ष र कांग्रेसले दुई वर्ष गर्ने । राष्ट्रपति कसलाई बनाउने भन्ने पात्र भने तोकिएको थिएन,’ पुस्तकमा उल्लेख छ, ‘मध्यरातमा भएको सहमतिको साक्षी प्रचण्डकी छोरी गंगा र देउवापत्नी आरजु थिए । र, सहमतिको राजनीतिक वातावरण बनाउने कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी नेता जनार्दन शर्मा थिए । गोप्य राख्न सम्झौतालाई हस्तलिखित बनाइयो र त्यसमै प्रचण्ड र देउवाले हस्ताक्षर गरे ।

सम्झौतापत्र एक पेजको मात्रै छ । सम्झौतामा प्रदेश सरकारहरूमा आलोपालो गर्नेदेखि संसद्को कार्यकाल पाँच वर्ष नै राख्ने विषय पनि छन् ।’ कम्प्युटर टाइप गर्दा गोपनीयता भंग हुने डरले सहमति हस्तलिखित गरिएको पुस्तकमा उल्लेख छ ।
फागुन २५ मा तय भएको राष्ट्रपति निर्वाचनका लागि फागुन १३ मा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम थियो ।

त्यसको एक दिन अगाडि मात्रै प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको आठ दलको बैठकमा कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने सहमति बनेको थियो । त्यसबेला पनि प्रधानमन्त्री र कांग्रेस सभापतिले आफूहरूबीच भएको सहमतिको कुनै छनक दिएका थिएनन् । माधवले समेत चाल पाएनन् । माघ १७ देखि फागुन १२ सम्म राष्ट्रपतिलाई लिएर भएका बहुपक्षीय संवाद देखावटीमात्रै थिए । त्यही कुरा थाहा पाएर अहिले माधव नेपालले बखेडा झिक्न थालेको राजनीतिक विश्लेषकहरूले बताउन थालेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *