देश

‘ग्रेटर नेपाल’ कि ‘बेटर नेपाल’ राम्रो ?

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) यतिबेला भारतमा छन् । श्रीमती सविनाको उपचारका लागि उनी भारतको बैंगलोरमा रहेको उनीनिकट स्रोतले जनाएको छ ।

तर भारतमै रहेका बेला बालेनसम्बन्धी समाचारले नेपालको राजनीति तताएको छ । नेपाल र भारतमा तरंग सिर्जना गरेको छ । दुई सय वर्षभन्दा अघिको ‘ग्रेटर नेपाल’ नेपालको नक्सा बालेनको कार्यकक्षमा राखिएको विषयले चर्चा पाएको हो । यसलाई लिएर अहिले बालेनको पक्ष र विपक्षमा आलोचना र समर्थन भइरहेको छ ।

बालेन लोकप्रिय छन्, स्वच्छ छविका छन् र केही गरौँ भन्ने चाहना पनि राख्छन् । तर उनी अनुभवहीन, अपरिपक्व, झोँकी र अस्थिर मनःस्थितिका देखिएको पत्रकार प्रतीक प्रधानको टिप्पणी छ । ‘बालेनले विश्व प्रसिद्ध सिनेमा ‘स्पाइडर म्यान’ हेरेका भए बुझ्नुपर्ने थियो– महान् शक्तिसँगै महान् जिम्मेवारी पनि आउँछ । नभए त त्यो शक्ति विध्वंशकारी हुनजान्छ ।’

भारतले आफ्नो संसदमा ‘भारतवर्षको पौराणिक नक्सा (मुराल)’ राख्दा नेपाल, पाकिस्तान, बंगलादेश आदि त्यसभित्र परेको र त्यसले नेपालीको चित्त दुःखाएको छ । तर, कसैले चित्त दुख्ने काम गर्दा आफूले पनि त्यहीअनुरुपको व्यवहार गर्नु त परिपक्वता भएन । ‘ग्रेटर नेपाल’ को नक्सा आफ्नो कार्यकक्षमा राख्दा पनि बालेनले सोही तरिकाले सोच्नुपर्ने थियो । किनभने महानगरपालिकाको काम परराष्ट्र सम्बन्धमा टिप्पणी गर्ने वा सम्बन्धमा खलल गर्ने होइन । उनले एक राजनीतिक व्यक्तिको रूपमा सो निर्णय लिएको भए पनि महानगरपालिकाको पद र कार्यालयलाई दुरुपयोग गर्नु हुँदैन थियो ।

‘ग्रेटर नेपाल’को नक्साको विषयमा पनि उनमा अपरिपक्वता देखिन्छ । नेपालले सन् १८१६ मार्च ४ मा अंग्रेजसँग सुगौली सन्धि गरेर अहिलेको नक्सालाई मानेको हो ( त्यसमा चुच्चे भाग पनि पथ्र्याे) ।

अब, सो नमान्ने हो भने र भारतले उनको मागको आधारमा साँच्चै ग्रेटर नेपाल मानिदियो भने त्यसपछिको नेपालमा कसले शासन गर्छ ? अहिले नेपालको भूभागमा बस्ने मानिसको जनसंख्या कति होला र ‘ग्रेटर नेपाल’ भनिएको भूभागमा बस्ने कति होलान् ? अनि त्यस्तो अवस्थामा निर्वाचन हुँदा को सत्तामा पुग्ला ? यसको मतलब, कसैले ‘ग्रेटर नेपाल’को सोच अघि बढाउँदैछ भने उसले नेपालको हित होइन नेपाललाई भारतसँग मिलाउने षडयन्त्रमा साथ दिँदैछ भन्ने बुझ्नुपर्छ ।

बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राख्नेवित्तिकै खासगरी सामाजिक सञ्जाल ट्विटरमा उनको आलोचना भयो । उनले लिएको निर्णयको विरोध भयो । तर फेसबुक, टिकटक र युटयुबमा बालेनको कन्टेन्ट मज्जाले चल्यो ।बालेनको निर्णयप्रति असहमति जनाउँदै कलाकार दीपकराज गिरीले फेसबुकमा लेखे, ‘अहिलेको सानो नेपाल त राम्रोसँग चलाउन नसकेर यो गति छ !

यति ठूलो भा भए के गर्थे होलान् ? भुइँको टिप्न नखोजौं, भएकोलाई जोगाऔं ।’ तर गिरीको स्टाटसप्रति नकारात्मक टिप्पणीको बाढी नै लाग्यो । सबैलाई धन्यवाद दिँदै उनले जवाफ लेखे, ‘मेरा विचारमा सहमत हुने र फरक विचार राख्नु हुने सबैलाई हार्दिक धन्यवाद ! असत्य कुरा गरेर भिडले ताली बजाउँछ भनेर क्षणिक आनन्द लिने बानी छैन मेरो । वैचारिक बहस गर्ने ऑट र हिम्मतसहितको विचार हो यो । भारतले सार्वजनिक गरेको गलत नक्साको विरोध गरौ, आफूले पनि त्यस्तै गÞलत काम नगरौं ।’

राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख रहेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको जनसंख्या अहिले तीन करोड पुगेको छ । यदि ग्रेटर नेपालको नक्साअनुसार भारतले मानिदिएमा नेपालको जनसंख्या १० करोड पुग्ने रहेछ । ग्रेटर नेपालमा समेटिएका भूभागमा सात करोड जनसंख्या छ ।

यदि भोलि त्यो जनसंख्याको बहुमतले नेपाल भारतमा गाभौं भन्यो भने त्यसपछिको अवस्था कसैले पनि कल्पना गर्न सक्दैन । त्यही भएर अहिले कसैलाई मनमा लाग्यो भन्दैमा त्यही निर्णय लिनुभन्दा ‘बेटर नेपाल’ को अभियानमा लाग्न धेरैले सुझाव दिएका छन् । दीपकराज गिरीका अनुसार भएकै देश राम्रोसँग चलाउन नसक्नेले ग्रेटर नेपाल भनेर दौडनुको कुनै अर्थ छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *