कोशी प्रदेश

कोसी प्रदेशमा सरकार बनाउन महाभारत, परिस्थिति मध्यावधितिर

काठमाडौं । कोसी प्रदेशमा नयाँ सरकार बनाउन महाभारत हुने देखिएको छ । कुनै पनि दलसँग सरकार बनाउन आवश्यक सिट नभएको, निर्वाचनमा प्राप्त सिटका कारण सहजै सरकार बनाउन सकस भएको हो ।

गत पुसमा एमाले, माओवादी, राप्रपा र जसपाको गठबन्धन हुँदा सहजै सरकार बनेको थियो । हुन त एमाले र माओवादी मात्रै मिल्दा पनि सरकार बन्न सजिलै बहुमत पुग्छ । सोही कारण अहिलेसम्म एमालेका हिक्मत कार्कीको नेतृत्वमा सरकार थियो । तर माओवादीले समर्थन फिर्ता लिँदै आफ्ना दुई मन्त्रीलाई बोलाएपछि कोसीमा कार्की नेतृत्वको सरका अल्पमतमा परेको छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सदस्य आवश्यक पर्छ । एमालेका ४०, कांग्रेस २९, माओवादी १२, राप्रपाका ६, एकीकृत समाजवादी चार र जसपाको एक सिट छ । अहिले सरकारमा रहेको एमाले र राप्रपाको ४६ मत छ । सभामुखबाहेक विपक्षीतिर ४६ मत छ । माओवादीबाट सभामुख निर्वाचित बाबुराम गौतमले निर्णायक अवस्थाबाहेक मत हाल्न पाउँदैनन् । त्यसैले दुवैतिर बराबर मत हुन्छ । यदि विश्वासको मत लिएको अवस्थामा ४६–४६ अर्थात् बराबरी मत भएमा मात्र सभामुखले हाल्न पाउने हो ।

राप्रपा एमालेसँगको मोर्चामा कायम रहिरहेमा नयाँ सरकार बनाउन अंकगणित निकै कमजोर छ । त्यसैले अहिले सभामुख गौतमले राजीनामा दिएमा मात्र नयाँ सरकार बन्ने अवस्था छ । सभामुखले राजीनामा दिए कांग्रेस माओवादी गठबन्धनसँग ४७ मत हुन्छ । जुन सरकार बनाउन पर्याप्त हुन्छ । सरकार बनेपछि फेरि सभामुखको निर्वाचन हुने सहमति बनेको छ । तर माओवादीले आफले मुख्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ ।

कोसीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी सबैले सरकारको नेतृत्वको दाबी गरेका छन् । जसपा निर्णायक भूमिकामा छ । राप्रपाले आफूलाई मुख्यमन्त्री दिएमा गठबन्धनमा सामेल हुने जनाउ दिएको छ । तर कांग्रेस माओवादी मानेका छैनन् । मुख्यमन्त्री हिक्मत कार्की अल्पमतमा परिसकेका छन् ।

त्यसैले उनले विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ । एमाले ठूलो पार्टी भएकाले अल्पमतको सरकार बनाउने विकल्प उसैलाई छ । तर अल्पमतको सरकारले बजेट ल्याउन मिल्दैन । ल्याए पनि पास हुने सम्भावना छैन । त्यसैले मध्यावधिको चर्चा सुरु भएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कोसी प्रदेशमा नयाँ सरकार बन्ने र मध्यावधिको सम्भावना नरहेको टिप्पणी गरेका छन् । बुधबार संसदमा भवनमा सञ्चारकर्मीले सोधेको प्रश्नमा यादवले सहज रुपमा नयाँ सरकार बन्ने दाबी गरे । ‘प्रदेश एक (कोसी) मा नयाँ सरकार बन्छ । मध्यावधिमा जाने अवस्था अउँदैन । त्यसखालको वातावरण जसपाले बन्न दिँदैन,’ उनले भने । तर कसरी सरकार बन्छ भन्ने उनले बताउन सकेनन् ।

माओवादीले मुख्यमन्त्री आफूले पाएमा सभामुख गौतमलाई राजीनामा दिन लगाउने रणनीति बनाएको छ । आफ्नो नेतृत्वमा सरकार बनेमा पछि सभामुख अन्य दललाई दिन सकिने उसको भनाइ छ । तर कांग्रेस कोसी प्रदेश दलका नेता उद्धव थापाले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने पहल सुरु भएको बताएका छन् ।

माओवादी र कांग्रेस दुवैले मुख्यमन्त्रीमा अडान नछाडेकाले यसै भन्न सकिने अवस्था छैन । लामो समय दलहरूबीच किचलो कायमै रहेमा एमालेका कार्कीले एकल ढंगले सरकार चलाउन पाउने सम्भावना धेरै देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *