राजनीति

सदनमा सरकारको प्रतिरक्षा गर्ने माओवादी सांसदको खडेरी

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची थियो । नागरिकता विधेयक प्रमाणीकरण र भारत भ्रमणका विषयमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची थियो । पहिले प्रधानमन्त्रीले यी दुई विषयमा जानकारी गराउने, त्यसपछि सांसदहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने सूची तय थियो ।

सोहीअनुसार प्रधानमन्त्रीले भारत भ्रमण र त्यसक्रममा भएका सहमति र सम्झौताबारे सदनलाई जानकारी गराए । त्यसपछि सभामुख देवराज घिमिरेले आकस्मिक र शून्य समय प्रारम्भ गरे । सांसदहरूले आफूले पाएको ३० सेकेन्ड र १ मिनेटमा प्रश्न सोध्न थाले । सबै सांसदको प्रश्न सुनिसकेपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने पालो आयो । प्रधानमन्त्रीले सम्बोधन गर्दै गर्दा एमाले सांसद सूर्य थापा एक्कासि उठेर कराउन थाले । लगत्तै एमालेका सबै सांसद होहल्ला गर्न थाले ।

कतिपय सांसदहरू रोस्ट्रमतिर पनि अघि बढे । पछि एमाले उपनेता सुवासचन्द्र नेम्वाङको इसाराअनुसार सांसदहरू आफू बसेको कुर्सीबाट उठे । र, निरन्तर प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्न थाले । प्रधानमन्त्रीले सम्बोधन गर्ने बेला सामान्यतया सांसदहरूले होहल्ला र नाराबाजी गर्न पाउँदैन । तर एमाले सांसदहरू रोकिएनन् ।

त्यसपछि नेपाली कांग्रेस र माओवादीका सांसदहरू पनि आफू बसेको कुर्सीबाट उठेर एमाले सांसदको हर्कतविरुद्ध प्रतिवाद गर्न थाले । नेपाली कांग्रेसका सांसदहरूले जसरी शिष्ट ढंगले एमाले सांसदहरूको प्रतिवाद गरे, माओवादी सांसदहरूले त्यसो गर्न सकेनन् । अर्थात् प्रधानमन्त्रीको बचाउमा माओवादी सांसदहरू सशक्त ढंगले उत्रिन सकेनन् ।

कांग्रेस महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले बडो शालिन र कूटनीतिक ढंगले एमाले सांसदहरूलाई संसदीय मर्यादा र सीमाबारे पाठ पढाए । उनले यसरी प्रधानमन्त्रीले सम्बोधन गर्दा आवेगमा आउनु अशोभनीय भएको भन्दै आवेगलाई तिलाञ्जली दिन र आफ्ना कुरा शिष्ट ढंगले राख्न आग्रह गरेपछि बल्ल एमाले सांसदहरू शान्त भएका थिए । त्यसपछि सामान्य अवस्थामा प्रधानमन्त्री प्रचण्डले जवाफ फर्काएका थिए ।

यहाँ उल्लेख गर्न खोजिएको विषय भनेको माओवादी सांसदहरूको क्रियाशीलता र सक्रियता हो । जसरी एमाले, रास्वपा, राप्रपाका सांसदहरू आक्रामक ढंगले प्रस्तुत भइरहेका छन्, त्यसलाई काउन्टर दिने गरी अघि बढ्न माओवादी सांसदहरूले सकेका छैनन् । अर्थात् संसदमा जुझारु माओवादी सांसदको अभाव खड्किएको छ । विगतमा माओवादी सांसद गजेन्द्र महतले सो पार्टीको गरिमा धानेका थिए ।

अहिले राजन दाहाल र माधव सापकोटा मात्र देखिएका छन् । प्रमुख सचेतक हितराज पाण्डेले पनि आफ्नो सक्रियता देखाएका छन् । तर प्रमुख सचेतक भएकाले जतिबेला पनि बोल्न उनले मिल्दैन । जनार्दन शर्मा कहाँ के गर्दैछन् भन्ने अत्तोपत्तो छैन । उनले सरकार र प्रधानमन्त्रीको डिफेन्ड गरेको अहिलेसम्म देखिएको छैन । वर्षमान पुन विरामी भएकाले अहिलेसम्म चीनमै उपचार गराइरहेका छन् ।

आजको संसद्को बहस, प्रधानमन्त्रीसँग मागेका जवाफका लागि गरिएको प्रश्न आदि सुन्दा १० प्रतिशतजतिले मात्र विषय वस्तु बुझ्ने रहेछन् भन्ने देखियो । बाँकी सबै अल्पज्ञान भएका सांसद रहेछन् भन्ने जनताले थाहा पाएका छन् । त्यसैले यस्ता सांसदको आरोप र भ्रमलाई चिर्न सुझारु माओवादीमा सांसदको खडेरी लागेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *