संसद

गम्भीर विषयमा एक मिनेटमा प्रश्न सोध्ने समय कम भएकोमा रविको आक्रोश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गम्भीर विषयमा एक मिनेटमा प्रश्न सोध्ने समय कम भएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आवश्यक समय लिएर बोल्दै उनले गम्भीर विषयमा एक मिनेटमा प्रश्न सोध्ने समय कम भयो भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

‘प्रतिनिधिसभा सत्ता पक्षको होइन, प्रतिपक्षको हो । तर गम्भीर विषयमा प्रश्न सोध्ने समय एक मिनेट बनाइएको छ । यो के मजाक हो ? किन सांसदलाई धेरै समय दिइँदैन,’ लामिछानेले भने ।

प्रतिनिधिसभाको नियमित कामकारबाही सुरु हुनुअघि सभामुखले आकस्मिक र शून्य समय लिएर सांसदलाई एक एक मिनेटमा समसामयिक विषयमा सरकारलाई प्रश्न सोध्ने समय निर्धारण गरेका छन् ।

संसदको नियमावली बनाउने बेला नै समय निर्धारण गरिएको हुन्छ । प्रतिनिधिसभाको नियमावली सबै दलका प्रमुख सचतेकसँगको लामो छलफलपछि सभामुखले बनाउने गरेका छन् ।

प्रतिनिधिसभाको नियमावली बनाउने बेला नै रवि लामिछानेहरूले समय बढाउन माग गरेको वा प्रस्ताव गरेको अहिलेसम्म सुनिएको छैन । तर आजको संसद् बैठकमा भने लामिछानेले समय कम भो र सदनलाई मजाक गर्ने स्थल बनाइएको भन्दै आक्रोश व्यक्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *