देश

धर्मभिरु छवि बनाउँदै प्रचण्ड, राजा वीरेन्द्रको वंशनास भएकै दिन मन्दिरमा प्रचण्ड पूजाअर्चना

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जीवनको उत्तराद्र्धमा आफ्नो छवि बदल्ने प्रयास गरेका छन् । १० वर्षे सशस्त्र द्वन्द्वका बेला मन्दिर, मूर्ति, देवालय भत्काउन लगाएका प्रचण्ड अहिले तिनै मन्दिर, देवालय धाउन थालेका छन् । त्यति मात्र होइन, अहिले प्रचण्ड ज्योतिषशास्त्रअनुसार चल्न थालेका छन् ।

कम्युनिस्ट विचारले धर्मलाई अफिम ठान्छ । तर नेपालका कम्युनिस्ट नेताहरू भने वृद्धावस्थामा धर्मकर्ममा लागेका छन् । कुनै समय वामपन्थी नेता मोहनचन्द्र अधिकारीलाई नेपालको नेल्सन मण्डेला भनिन्थ्यो । तर अहिले उनी धार्मिक कार्यमा लागेका छन् । चाहे राधाकृष्ण मैनाली हुन् वा केपी ओली नै किन नहुन् जसले आफूलाई धार्मिक देखाउन कुनै कसर बाँकी राखेका छन् । ओलीले त ठोरीको राम भनेर विचार नै प्रतिपादन गरेका छन् । उनले ठोरीमा रामसीताको मन्दिर पुनःस्थापना गर्न लगाएका छन् ।

अहिले माओवादी अध्यक्ष प्रचण्ड ठीक त्यसैगरी ओलीकै बाटोमा लागेका छन् । २०७० सालपछि प्रचण्डले सुनसरीको चतरामा भैंसीपूजा गरेका थिए । त्यसबेलादेखि नै हो प्रचण्डमा धार्मिक मोह जागेको । आफ्नै बाबु र छोराको मृत्यु हुँदा प्रचण्डले किरिया गर्न आवश्यक ठानेनन् । तर अहिले उनी एक सय आठ किलो विभिन्न प्रजातिका रुद्राक्ष बोकेर भारतको उज्जैन पुगेर महांकालेश्वरमा पूजाअर्चना गरेका छन् । महांकालको पूजा गर्ने क्रममा प्रचण्ड जनै र धोतीमा देखिएका थिए ।

नेपालबाट लगिएको १०८ केजी रुद्राक्ष र ५१ हजार रुपैयाँ दान गरेका छन् । पत्नी सीताको स्वास्थ्यलाभको कामना गर्दै उनले पूजाअर्चना गरेका हुन् । भारतको १२ ज्योतिर्लिंगमध्ये महांकालेश्वर पनि एक हो । राजा वीरेन्द्रको वंशनाश भएकै दिन जेठ १९ गते नेपालीले भुल्दैनन् । मन्दिर भत्काउँदै हिँड्ने प्रचण्डले भारतको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजापाठ गरेको दिन पनि एकै प¥यो । यो पनि भुल्न नसकिने दिन नै हो । ७० वर्ष पुग्न लागेका प्रचण्डको यो जीवनकै पहिलो मन्दिर भ्रमण हो । केही वर्षअगाडि आफ्ना बुबाको निधनमा सुट र छालाको जुत्तासहित चितामा पुगेका प्रचण्ड लासलाई ‘लालसलाम’ गरेर फर्किएका थिए ।

केही समययता प्रचण्डमा तीव्र ढंगले सैद्धान्तिक स्खलन भइरहेको छ । आफूलाई बडो क्रान्तिकारी भनेर भाषण गर्ने प्रचण्ड यही रफ्तारमा विचार स्खलन हुँदै गएमा कुनै दिन हिन्दु राष्ट्रको एजेन्डा बोक्न सक्ने विश्लेषण गर्न थालिएको छ । यही मेसोमा भारतका वरिष्ठ पत्रकार आनन्दस्वरूप वर्माले प्रचण्डको छवि पछिल्लो समयमा धेरै कमजोर भएको टिप्पणी गरिसकेका छन् । वामपन्थ र प्रचण्ड दुवैबारे सकारात्मक दृष्टिकोण भएका मानिने पत्रकार वर्माले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको दौरानमा एक ब्लग लेख्दै यस्तो बताएका हुन् ।

कुनै पनि बुर्जुवाको भन्दा कमजोर छवि प्रचण्डको भएको वर्माको तर्क छ ।

भारतीय आउटलेट एबीपीलाइभमा उनले लेखेका छन्, ‘क्रान्तिकारीको त कुरै छोडौं, आज प्रचण्डको छवि जति धुमिल भएको छ, त्यति धुमिल दुनियाँमा कुनै बुर्जुवा नेताको भएको छैन ।’ घरी केपी ओली त घरी शेरबहादुर देउवासँग मिल्ने र पछिल्लो समयमा मोदीसँग आफ्नो केमेस्ट्री मिल्ने भन्दै प्रचण्डले विवादास्पद कुरा गरेको वर्माले उल्लेख गरेका छन् ।

प्रचण्डले अहिलेसम्म पशुपतिनाथ मन्दिरको दर्शन गरेका छैनन् । तर उनी भारतको महांकालेश्वर पुगेर पूजाअर्चना गरेका छन् । द्वन्द्वात्मक भौतिकवादबाट धार्मिक रूपान्तरणको यात्रामा लागेका प्रचण्ड पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाकै बाटोमा लागेका छन् । देवकोटाले सधैं आफूलाई नास्तिक भन्दै आएका थिए । तर जीवनको अन्तिम दिनमा उनले ‘आखीर श्रीकृष्ण रहेछ एक’ भनेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *