काठमाडौं । नेपालमा गणतन्त्र, संविधान र प्रजातन्त्र दिवस अपराधीका लागि पर्व बन्दै गएको छ । जेठ १५ गते गणतन्त्र दिवस, असोज ३ गते संविधान दिवस र फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । तर यिनै दिवसका दिन हत्या, बलात्कार, चोरीडाँका, सरकारी कीर्ते, संगठित अपराध, चेलिबेटी बेचबिखन जस्ता फौजदारी अभियोगमा मुद्दा लागेर कैद सजाय भुक्तान गरिरहेकाहरू धमाधम आममाफी र सजाय माफी हुँदै छुट्ने गरेका छन् ।
यस वर्ष मात्रै कारागारमा रहेका विभिन्न अपराधमा सजाय पाएर कैद भुक्तान गरिरहेका करिब १७ सय अपराधी जेलमुक्त भएका छन् । केहीलाई आममाफी, केहीलाई बाँकी कैद सजाय माफी दिएर छुटाउने गरिएको छ । विगतमा राजाले जेलमा रहेकालाई असल चालचलनका आधारमा आममाफी दिने गरेका थिए । तर पछिल्लो समय राष्ट्रपतिले सरकारको सिफारिसमा आममाफी दिने गरेका छन् । यसरी छुटेका धेरै अपराधी फेरि पनि अपराध कर्ममा लागेको भेटिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले १६औं गणतन्त्र दिवसको अवसरमा आइतबार ५०१ जनालाई माफी दिएका छन् । जसमा रेशम चौधरीसहित २१ जनालाई आममाफी र बाँकीलाई कैद सजाय मापी दिएका हुन् । सबै गणतन्त्रको अवसरमा सोमबार कारागारबाट रिहा भएका हुन् ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी ६८१ कैदीलाई आममाफी दिएकी थिइन् । उनले सर्वोच्च अदालतका आदेशको समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका पासाङ शेर्पासहित दुई सय तीन र इन्द्रकुमार लिम्बूसहित चार सय ७८ कैदीको भुक्तान हुन बाँकी सजाय मन्त्रिरिषद्को गत भदौ ३१ को निर्णयअनुसार बैठकको सिफारिसमा असोज ३ गतेदेखि लागू हुने गरी आममाफी दिएकी हुन्।
यस्तै, तत्कालीन राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा गत फागुन ७ गते ५१३ जना कैदीबन्दीलाई आममाफी दिएकी थिइन् । उनले सरकारको सिफारिसअनुसार ५१३ कैदीबन्दीलाई कैद र सजाय माफी गरेकी हुन् । भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम ५१ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिसअनुसार १२ जनाको सजाय माफ गरेकी हुन् ।
गणतन्त्र दिवसमा ५०१, संविधान दिवसमा ६८१ र प्रजातन्त्र दिवसमा ५१३ सहित एकै वर्ष १६ सय ९५ अभियुक्त जेलबाट रिहा भएका हुन् ।




