काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे एमालेका लागि तुरुपको एक्का सावित हुँदैछ । घिमिरेलाई मोहोरा बनाएर संसद् आफू अनुकूल चलाउन एमाले सफल हुँदै गएको छ । राष्ट्रिय सभामा त एमालेकै क्याडर गणेशप्रसाद तिमिल्सिना छन् । त्यहाँ एमालेको विपक्षमा आउने कुनै विषयले ठाउँ पाउँदैनन् । अब प्रतिनिधिसभा पनि राष्ट्रिय सभाकै जस्तो पंगु सावित हुने खतरा बढेको छ ।
घिमिरे झापाका हुन् । उनी एमाले अध्यक्ष केपी ओलीका विश्वास पात्र नेता हुन् । सोही कारण पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मालाई विश्वास नगरेर ओलीले सभामुखमा घिमिरेको नाम फुत्त कोटको खल्तीबाट ल्याएका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अस्थिर शैलीका कारण सभामुख एमालेले पाएको हो । अबको पाँच वर्ष घिमिरेलाई नै प्रयोग गरेर एमालेले आफ्नो स्वार्थको रोटी सेक्ने निश्चित छ ।
एमाले अध्यक्ष ओली आफूलाई भ्रष्टाचार भनेर बोल्ने सांसदको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सफल भएका छन् । अब विस्तारै एमालेका अन्य नेताहरूमाथि उठेका प्रश्न र अभिव्यक्तिमाथि सेन्सर लाग्ने सम्भावना देखिएको छ । किनभने ओलीकालमा जे जति भ्रष्टाचार काण्ड सार्वजनिक भएका छन्, सबैमा एमालेकै नेताहरू संलग्न रहेका छन् । प्रधानमन्त्री प्रचण्डले अब ठूल्ठूला भ्रष्टाचारका फाइल खुल्ने बताइसकेका छन् । पशुपति मन्दिरको सुनको जलहरी काण्ड जस्तै ठूल्ठूला भ्रष्टाचार सार्वजनिक हुँदा एमाले कसरी अघि बढ्ला भन्ने चासो उत्पन्न भएको छ ।
सभामुख घिमिरे बाहिर कुरा गर्दा बीचमा रहेर गर्छन् । तर भित्रभित्र उनले एमालेकै स्वार्थमा काम गर्ने गरेको आरोप लागिसकेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सभामुखसँगको सेटिङमै एमालेले संसद् अवरोध गर्ने निर्णय गरेको संसदमै आरोप लगाइसकेका छन् । आगामी दिनमा अहिलेको भन्दा ठूला काण्ड आउने भएपछि ओलीले सभामुख घिमिरेलाई अहिलेदेखि नै चनाखो रहन निर्देशन दिइसकेको स्रोतले बतायो ।




