काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र दोहोरो राहदानी विवादको निरुपण चाँडै नहुने देखिएको छ । मंसिरको निर्वाचनमा अमेरिकी नागरिकता नत्यागी पुरानो नेपाली नागरिकताकै आधारमा उम्मेदवारी दिएको भन्दै सर्वोच्च अदालतले रविको सांसद पद खारेज गरेको थियो ।
सांसद पद खारेज भएपछि चितवन २ मा उपनिर्वाचनबाट रवि लामिछाने फेरि सांसद भइसकेका छन् । तर उनले नेपाली नागरिकता प्राप्ति गर्दा अमेरिकी निस्सा पेस नगरेको भन्दै सर्वोच्च अदालतमा पुनः अर्को रिट निवेदन परेको थियो । त्यसपछि अदालतले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र पठायो । जिल्ला प्रशासन कार्यालयले अदालतलाई पठाएको पत्रमा कार्यालय पूर्ण रूपमा अनविज्ञ रहेको व्यहोरासमेत उल्लेख गरेको छ ।
उसले रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा आफ्नो कार्यालयसँग नभएको र सो विषयमा आफू जानकार पनि नरहेको स्पष्ट पारेपछि उनी पुनः विवादमा परेका हुन् ।
सर्वोच्च अदालतले जिल्ला प्रशासनसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा भए उपलब्ध गराउन पत्र पठाएको थियो । अदालतको पत्रको जवाफमा कार्यालयले राहदानी त्यागसम्बन्धी निस्सा यस कार्यालय सम्बन्धित नरहेको उल्लेख छ । अदालतले अध्यागमनसँग पनि सोही प्रकृतिको निस्सा माग गरेकोमा यस अगाडि लामिछानेको मुद्दाको सवालमा सक्कल फाइल पठाएको र सो अदालतमै रहेको उल्लेख छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले रविको नागरिकता निष्क्रिय रहेको प्रमाणित गरेपछि उनले नेपाली नागरिकता जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पुनः सक्रिय गराएका थिए । लगत्तै उनले राहदानी विभागमा गएर आफू अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिक हुँ भन्दै लिएको नेपाली राहदानीसमेत फिर्ता गरेका थिए । उनीविरुद्ध राहदानी दुरुपयोगमा परेको जाहेरीमा प्रहरी हुँदै महान्यायाधिवक्ताको कार्यालयले दुरुपयोगको नियत नदेखिएको भन्दै मुद्दा दर्ता गर्नु नपर्ने निर्णय गरेपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।
अधिवक्ता युवराज सफलले दर्ता गरेको रिटको आधारमा अगाडि बढेको मुद्दा प्रक्रियाको क्रममा अदालतले जिल्ला प्रशासन र राहदानी विभागसँग अमेरिकी राहदानी त्यागेको निस्सा प्रमाण मागेको थियो । उनको नागरिकता निष्क्रिय रहेको अदालतबाट ठहर भएसँगै चितवन २ मा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा उनी नै निर्वाचित भएर आए ।
उनले निष्क्रिय रहेको नेपाली नागरिकता सक्रिय गराउँदा जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनले बुझाएको प्रमाण नेपालस्थित अमेरिकी दूतावासबाट प्रमाणितै नगरी एकै दिनमा नागरिकता प्रमाण पत्र दिएको थियो, जुन कुरालाई नै हाल लामिछानेको मात्र एकल कमजोरी नभई प्रशासन कार्यालयले पनि गरेको त्रुटिको रूपमा हेरिएको छ ।
सफलले रविले नागरिकता लिँदा अमेरिकी नागरिकता त्यागेको निस्सा माग गर्दै राहदानी दुरुपयोगमा उनीविरुद्ध मुद्दा नचल्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णय उल्टाउन माग गर्दै रिट दायर गरेका थिए । रिटमा कारण देखाउन आदेश जारी भइसकेको छ । मुद्दा सर्वोच्चमा विचाराधीन छ ।
लामिछानेले बारम्बार सिंगो देशको नियम र कानुनलाई धज्जी उडाएको विषयलाई भने नकार्न सकिने अवस्था अब छैन । जानकारहरूका अनुसार अमेरिकन अदालतमा मुद्दा भएका कारण रविको नागरिकता र राहदानी फिर्ता नभएको हो । रविको आर्थिक विषयसँग जोडिएका नौमध्ये अझै चारवटा मुद्दा अमेरिकन अदालतमा मुद्दा विचाराधीन छ । त्यसकारण पनि रविको नागरिकता र राहदानी विवाद चाँडै सुल्झिने सम्भावना छैन ।




