काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफू पहिल्यै जानकार रहेको दाबी गरेका छन् । बिहीबार च्यासलस्थित पार्टी केन्द्रीय कमिटी बैठकमा उनले भुटानी शरणार्थी प्रकरणबारे लामो वक्तव्य दिए । बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्नुअघि उनले ४५ मिनेटभन्दा बढी समय यही विषयमा बोले ।
उनले भुटानी नागरिक कसरी नेपाल आइपुगे, उनीहरुलाई झापामा बसोबासको व्यवस्था कसरी भयो र भुटान फर्काउने प्रयास कसरी असफल भयो भन्नेबारे लामो धारणा मात्र राखेनन्, आगामी जेठ ४ गते प्रतिनिधिसभा बैठकमा बुँदागत रूपमा सबै उल्लेख गर्ने बताए । आफू गृहमन्त्री भएका बेला र पछि परराष्ट्रमन्त्री भएका बेला भुटानी शरणार्थीलाई स्वदेश फर्काउन पहल गरेको तर असफल रहेको दाबी गरे ।
ओलीले आफ्नो प्रयासबाट भुटानी शरणार्थी तेस्रो देश पुनर्बास कार्यक्रम सुरु भएको भन्दै सन् २००८ देखि तेस्रो देश पुनर्बास सुरु भएको र २०१० सम्म चलेको भन्दै त्यसपछि बाँकी रहेका भुटानी शरणार्थीलाई पुनर्बास गर्न ज्वाइन्ट भेरिफिकेसन टिम बनेको जानकारी पनि दिए । ‘सन् २०१२ भन्दा अगाडि नक्कली मान्छे पठाए कि पठाएनन् थाहा भएन । त्यसपछाडि गिरोह सक्रिय भएको पाइन्छ । त्यसको तथ्य प्रमण खोजिरहेको छु’ उनले भने । उनले त्यसबेला साढे तीन सय मान्छे नक्कली शरणार्थी बनाएर बाहिर पठाइएको दाबी पनि गरे ।
आफू प्रधानमन्त्री भएका बेला तेस्रो देश पठाइएका भुटानी शरणार्थी एक लाखजना पुगेको अवसरमा कार्यक्रम भएको र त्यहाँ आफूले बाँकी रहेका भुटानी शरणार्थीका समस्या समाधानका लागि तीनवटा विकल्प दिएको ओलीले बताए । पछि भुटानी शरणार्थीलाई पुनर्बास गराउन समिति बनेछ भन्दै ओलीले उक्त समिति बनेको थाहा नभएको दाबी गरे । जबकि ओली प्रधानमन्त्री भएकै बेला तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले समिति गठन गरेका थिए । ‘समिति बनेछ मलाई थाहा भएन । प्रधानमन्त्रीलाई थाहा हुने कुरा पनि भएन ।
कुन तहमा कसरी बन्यो मलाई थाहा भएन । पछि आएर थाहा पाएँ मन्त्रीस्तरबाट कतैबाट बनेछ’ उनले भने । यो समिति बनेपछि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोह सक्रिय बनेको भन्दै ओलीले त्यसमा सरकारी कर्मचारी र राजनीतिक नेतृत्व सहभागी भएको दाबी गरे ।
‘गिरोहकै रुपमा केही मान्छेले यो धन्दा अगाडि बढाए र त्यो कुरामा केही सरकारी कर्मचारी फस्दै गए । सरकारी कर्मचारी नकिनिएमा नबिकेमा सरकारी कर्मचारीको संलग्नताविना यो काम अगाडि बढ्न सक्दैन,’ उनले भने, ‘सरकारी कर्मचारी र राजनीतिक व्यक्ति केही इन्भल्भ भए भन्ने छानबिनबाट आउँछ ।’
ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा २०७९ जेठ ३० गते परेको उजुरीको आधारमा पक्राउ परेका व्यक्ति छाड्नुमा तत्कालीन गृहमन्त्री, तत्कालीन प्रहरी प्रमुख र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपीमाथि प्रश्न उठाए । ओलीले यो घटनामा एमाले नभई तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारको दोष भएको आरोप लगाए ।
नक्कली शरणार्थी प्रकरणमा उनकै गृहमन्त्री रहेका रामबहादुर थापा बादल, उनकी श्रीमती नैनकला थापा, छोरा प्रतीक थापा, बादलका पूर्वसुरक्षा सल्लाहकार डा.इन्द्रजित राई, उनका छोरा निरज राई, एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीको संलग्नता भेटिएको छ ।
साथै, ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, निजी सचिवालयमा रहेका इन्द्र भण्डारी, नेता विष्णु रिमालसम्म अनुसन्धानको घेरामा परेका छन् । आफ्नै पार्टीका धेरै नेता पर्दा र मुछिँदा पनि ओलीले यसबारे थाहा पाइनँ भन्नु धुत्याई मात्र हो । किनकि नेपालका समकालीन नेतामध्ये ओली सूचना प्राप्त गर्नमा धेरै अगाडि छन् । तर आफ्नै विश्वासपात्र डामिने भएपछि अहिले ओलीले विषयान्तर गर्न खोजेको विश्लेषण गर्न थालिएको छ ।
११ महिना अघि नै प्रहरी कार्यालय पुगेका सानु भण्डारी कसरी छुटेका थिए ?
पक्राउ परेका मान्छेहरुले सत्य कुरा भन्न थालेपछि प्रहरीले लिइसकेको वयान पनि थन्क्याएर मिलापत्र गराइएको ओलीले आरोप लगाए । ‘जेठ ३० मा निवेदन प¥यो असार १,२,३ गते मान्छेहरु पक्राउ परे होलान्, तर २ घण्टामा उनीहरुले त बोक्सी बकेजस्तो फररर सत्य कुरा भन्न थालेपछि चुपचुप लाग चुप लाग भनेर कागज थन्क्याएर मिलापत्र गराइयो’ ओलीले भने ।
यो काम तत्कालिन सरकारकै संरक्षणमा भएको भन्दै ओलीले भने, ‘धेरै फाइफुइँ गर्नेहरुले नगरे हुन्छ, हामीले नचिनेको मान्छे होइन, चिनेकै मान्छे हो ।’
यो प्रकरणमा नेपाली नागरिकलाई राज्यविहीन बनाउने, पैसा ठगी गर्ने अपराध राज्य संयन्त्र र राजनीतिक व्यक्तिकै संलग्नतामा भएको भन्दै ओलीले प्रहरीले निष्पक्ष छानबिन गर्नपर्ने बताए । ‘अहिले छानबिन गरिरहेको प्रहरी संयन्त्रलाई निष्पक्ष ढंगबाट दृढताका साथ अगाडि बढ्न आग्रह गर्न चाहन्छु’ उनले भने ।
टोपबहादुर नाम जोडिएकामा आश्चर्यचकित भएँ
ओलीले यो प्रकरणमा पार्टीका सचिव टोपबहादुर रायमाझीको नाम जोडिँदा आश्चर्यचकित परेको बताए । ‘हामीले सोचेका थिएनौं टोपबहादुरजी कति संलग्न हुनुहुन्छ हुनुहुन्न, उहाँ संलग्न हुनुहुन्छ भन्ने हाम्रो अनुमान पनि होइन । सोचेका पनि थिएनौं । तर हामी आश्यर्च चकित भयौं ।’
उनले रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएकामा आशंकासमेत गरे । ‘खास सोझै पैसा समाउनेहरु, पैसा बुझ्नेहरुलाई छोड्ने अनि टोपबहादुरलाई पक्राउ पुर्जी जारी गर्ने किन ग¥यो होला ? त्यसभित्र केही त नभएको होइन होला नि ? किन त्यसप्रकारको व्यवहार गरियो ?’
टोपबहादुर सम्पर्कविहीन बस्नु बेठीक भएको भन्दै ओलीले प्रहरीले अभद्र व्यवहार गर्न खोजेकाले अदालतमा उपस्थित हुने विचार गरेको जानकारी पाएको बताए । ‘तर आरोपबाट तर्किने हो भने, भाग्न खोज्ने हो भने सन्देह पैदा हुन्छ । त्यसकारण सच्याइको सामना गर्नुपर्छ । दोषी भए कारबाही भोग्नुपर्छ । दोषी नभए आत्तिनुपर्दैन’ उनले भने ।




