काठमाडौं । यतिबेला नकक्ली शरणार्थी प्रकरणको चर्चा उत्कर्षमा छ । हिजो राज्य सञ्चालन गरिरहेका नेताहरू धमाधम पक्राउ परिरहेका छन् । कोही पक्राउ पर्ने सूचीमा छन् । अहिलेसम्म यो प्रकरणमा हाइप्रोफाइल नेता पक्राउ परेकामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण मात्र हुन् ।
यो प्रकरणमा पक्राउ पुर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् । उनलाई पार्टी नेतृत्वले नै जोगाउने प्रयास गरिरहेको आरोप लागेको छ । यद्यपि एमालेले बाध्य भएर रायमाझीलाई बुधबार सचिवबाट निलम्बन गरेको छ । मंगलबार मात्र एमालेले रायमाझीलाई कारबाही गर्नुपर्ने कुनै कारण देखेको थिएन । तर चौतर्फी दबाब र कांग्रेस नेता खाँण पक्राउ परेपछि बाध्य भएर एमालेले सचिवबाट निलम्बन गरेको छ ।
अझै पनि रायमाझी कहाँ छन् भन्ने कसैले भेउ पाएको छैन ।
खाँण पक्राउ परेपछि अहिले नेपालको राजनीतिमा एउटा प्रश्न उब्जेको छ, ‘कांग्रेसले किन ढाकछोप गर्न चाहेन ?’ कांग्रेस आफैं सत्तारुढ दल हो । उसका शक्तिशाली नेताहरू सरकारमा छन् । तर, प्रमुख प्रतिपक्षमा रहेको एमालेले भने आफ्ना नेतालाई जोगाउँदै आएको छ । कांग्रेस नेताहरू नै ठगीकाण्डमा मुछिएका नछुटुन् कारबाहीमा परुन् भनिरहेको छ । तर एमाले भने संगठित अपराधमा लागेकालाई भएभरको शक्ति प्रयोग गरी जोगाउन लागिपरेको छ । भ्रष्टाचारीको मुख पनि हेर्दिनँ भन्ने केपी ओली अहिले भ्रष्टाचारीलाई ग्वामलांग अंगालो हाल्न लागिपरेका छन् ।
कांग्रेसबाट गृहमन्त्री भइसकेका नेतामध्ये बालकृष्ण खाँण, गोविन्दराज जोशी, खुमबहादुर खड्का, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदार भ्रष्टाचारमा मुछिएका छन् । २०४७ सालपछि गृहमन्त्री बनेका कांग्रेस नेताहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का र विमलेन्द्र निधि भने कुनै पनि विवादमा मुछिएनन् ।
तर, एमालेले भने भ्रष्टाचारको संरक्षण गर्दै आएको छ । यति काण्ड, ओम्नी काण्ड, वाइडबडी काण्ड, ललिता निवास काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, एनसेल काण्ड, चिया बगान, कोरोनाकाल, ७० करोड काण्ड यी सबैमा एमाले नेताहरू मुछिएका छन् । एमाले अध्यक्ष ओलीले ईश्वर पोखरेल, भानुभक्त ढकाल, गोकुल बास्कोटा, रवीन्द्र अधिकारी, विष्णु पौडेल, महेश बस्नेत, लक्ष्मी महतो, टोपबहादुर रायमाझीलगायतलाई उन्मुक्ति दिँदै संरक्षण गरिहेका छन् ।
माओवादीकालमा पनि धेरै ठूल्ठूला भ्रष्टाचार भएका छन् । क्यान्टन्मेन्टमा साढे चार अर्ब घोटला काण्ड, ५० करोड बार्गेनिङ काण्ड, नक्कली लडाकु घोटाला काण्ड, करको दर हेरफेर काण्डमा पुष्पकमल दाहाल प्रचण्ड, कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा मुछिएका छन् । तर अहिलेसम्म माओवादी नेता मुछिएको भ्रष्टाचार काण्डको फाइल खुलेको छैन । खुलेका दिन माओवादीका ठूला नेता सबै जेल पर्ने निश्चित छ ।




