काठमाडौं । मुख्यमन्त्री शालिकराम जम्कट्टलले बोलेको कुरा पूरा नगर्दा बागमती प्रदेश सरकार विस्तारमा सकस भएको छ । कांग्रेसले सोमबारसम्म मुख्यमन्त्रीले आफ्ना माग पूरा नगरे सरकार छाड्ने चेतावनी दिइसकेको छ ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्री जम्कट्टेलले कांग्रेसलाई ६ मन्त्रालय दिने सहमति गरेकामा अहिले पाँचवटा मन्त्रालय मात्र दिन खोजेपछि समस्या आएको बताए । जसकारण चार महिनाको अवधिमा हालसम्म तीनपटक मन्त्रिपरिषद् विस्तार हुँदा पनि सरकारले पूर्णता पाएको छैन ।
मुख्यमन्त्रीको काँधमा मुख्यमन्त्री कार्यालयदेखि अझै पाँच मन्त्रालयको जिम्मेवारी छ । प्रदेश सभाको ठूलो दलको हैसियतले ६ मन्त्रालयको दाबी गरिरहेको कांग्रेस आफ्नो अडानबाट ब्याक नहुने अडानमा छ। अंकगणितको हिसावले ६ मन्त्रालय कांग्रेसले पाउनुपर्ने कांग्रेसको दाबी छ।
कांग्रेसले आफ्नोे मन्त्रीको नाम नपठाउँदा सरकारलाई पूर्णता दिन नसकेको चर्चा चुलिएको छ । गत चैत १० गते कांग्रेसकै साथ पाएर पुनः विश्वासको मत लिएका बाग्मती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले ४४ दिन वित्दासमेत सरकारलाई पूर्णता दिन सकेका छैनन् ।
प्रदेशको पाँच मन्त्रालय रिक्त छ । रिक्त रहेको पाँच मन्त्रालयमध्ये कांग्रेसले चार र एकीकृत समाजवादीले दुई मन्त्रालयको दावी छाडेको छैन । गत माघ ११ गते नै पूर्णता पाइसकेको बागमती सरकार केन्द्रको राजनीतिक समीकरणका कारण अपूर्ण बनेको हो । ११ सदस्यीय मन्त्रिपरिषद्मा हाल ६ मन्त्री छन् ।
बागमतीमा हाल स्वास्थ्य मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग पर्यटन तथा सहकारी मन्त्रालय मन्त्रीविहीन छ । कांग्रेसले ६ मन्त्रालय पाएमा एकीकृत समाजवादी र हाम्रो नेपाल पार्टी सरकारमा सहभागी नहुने अवस्था पनि प्रबल छ । मुख्यमन्त्री जम्कट्टेलले अहिलेसम्म कांग्रेससँग सरकार विस्तारबारे छलफल नै गरेका छैनन् । सरकारमा कांग्रेसबाट बहादुरसिंह लामा र तीर्थ लामा मन्त्री छन् ।




